चिन्तनको जड

चिन्तनको जड

गैरसरकारी संस्था र जातीय जनसंगठनहरूका कार्यक्रममा सबैभन्दा बढी प्रयोग हुने शब्द हुन्– ‘बाहुनवाद’ र ‘ब्राह्मणवाद’। सामाजिक सञ्जालहरूमा समेत यी शब्दहरू प्रयोगमा आइरहेका छन्। दुवै शब्दलाई विशेषगरी भारतका विद्वानहरूले प्रयोगमा ल्याएका हुन्। नेपालमा भने २०६२÷६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दासँगै यी शब्दहरू प्रयोगमा आई ठूलै बजार तताएको छ। ठूलै विद्वानहरूले समेत अर्थको सार नबुझिकनै यी शब्दहरू प्रयोग गरिरहेका पाउँछौं। जातीय मुद्दामा राजनीति गर्ने नेताहरू तथा विशेषगरी दलित, जनजाति तथा मधेसी तथा सामाजिक अभियन्ताबाट सामाजिक सञ्जालहरूमा यी शब्द प्रयोग हुँदा बाहुन भनिने जातिहरूको मनमस्तिष्कलाई घोच्ने गरेको छ भने कतिपय अवस्थामा जातीय हिंसालाई निम्त्याएको आरोपसमेत लाग्ने गरेको छ। केही वर्षअगाडि भने विदेशी परियोजना चलाउने र राजनीतिक जनमत प्राप्त गर्ने ध्येयमा स्वयं बाहुन भनिएका जातिहरूले समेत यी शब्दलाई गर्वका साथ प्रयोग गर्दै आएका थिए। तर अहिले परियोजना नचलेको र चुनावपछि नेताहरूलाई जनमत आवश्यकता नचाहिएको अवस्थामा यी शब्द प्रयोग गर्दा तिनीहरू जातीय विचलन निम्त्याउन खोजेको अथवा समाजमा भड्काऊ ल्याउने दुष्प्रयास हो भनी प्रतिवादमा उत्रिएको देखिन्छ। पछिल्लो समयमा सरकार पक्षधर नेता–कार्यकताहरूसमेत समावेशीकरणको मुद्दाले सिधै हामी बाहुनहरूलाई माइनस गर्न खोजेको भन्दै डराइरहेको अवस्थामा उनीहरूका लागि ‘बाहुनवाद’ भन्ने शब्दले थप आहत पुर्‍याएको देखिन्छ। जसले गर्दा गणतन्त्रले स्थापित गरेको आरक्षण, समावेशीकरणका संवैधानिक प्रावधान तथा नीतिहरूसमेत कार्यान्वयनमा जान सकेको छैन। विगतका दुई वटा संविधानसभाका चर्को बहसमा आएको दलितलाई क्षतिपूर्तिसहितको अतिरिक्त अधिकारको मुद्दा अहिले ओझेलमा परेको छ। ओझेलमा परेको मात्र होइन समावेशीकरणको प्रावधान नै कटौती हुँदै गएको छ।

‘बाहुनवाद’ र ‘ब्राह्मणवाद’ एउटै रूपमा प्रयोग भएता पनि शाब्दिक अर्थ भने धेरै फरक छ। जबकि बाहुन कुनै जाति नै होइन। खास जात भनेको ब्राह्मण नै हो। ब्रह्म भनेको ज्ञान र यण भनेको गुण हो। ब्रह्मा र यणको समिक्षणबाट ब्राह्मण बनेको हो। अर्थात् ज्ञानलाई हेर्ने र चिन्ने चारित्रिक दृष्टिकोण हो– ‘ब्राह्मण’। जुन दृष्टिकोण कुनै खास जातिमा मात्र नभएर सवै जातजातिमा हुन सक्छ। त्यसैले वेदमा मानिस जन्मँदैमा शुद्र भएर जन्मिन्छ तर उसमा निहित ज्ञान र दृष्टिकोणले मानिस ब्राह्मण बन्दछ भनिएको हो। यसर्थ ज्ञानलाई बोध गराउने गुण ब्राह्मणवाद हो। बाहुन भनेको जात नभई उपमा हो। मुखिया, जिम्दार, जिम्मल अथवा सार्की जातिभित्र मिजार, थारूभित्र अध्कारी भनेजस्तै एउटा उपल्लो उपमा मात्रै हो। अर्कोतर्फ हिन्दूधर्मभित्र भाञ्जालाई धेरै मानमनितो गर्नुपर्ने हुनाले भाञ्जालाई बाहुन भनेर उपमा दिएको भन्ने भनाइ छ। त्यसैगरी समाजका अगुवा, टाठाबाठा र मानमनितो गर्नुपर्नेलाई बाहुन उपमा दिइएको थियो। तर बाहुनले पाएको त्यो मान समाज–प्रतिकूल हुन पुग्दा अहिले आएर नकारात्मक अर्थ लाग्न पुगेको छ। बाहुनबाट बनेको शब्द ‘बाहुनवाद’ आशक्तिको चिन्तन र त्यसको चरित्रबोधक शब्द हो। म मात्रै उच्चकोटीको हुँ भन्ने मपाइँत्व चरित्र र जसैगरी पनि मैले मात्र पाउनु पर्छ भन्ने चिन्तनको बोधक शब्द बन्न पुग्यो। त्यसैले अरूलाई भ्रममा फसाएर, कठिन श्रममा लदाएर, शोषण गरेर आफ्नो स्वार्थसिद्ध गर्ने प्रवृत्ति हो– बाहुनवाद। समग्रमा भन्दा सामन्तवाद दर्शाउने अर्को रूप हो– बाहुनवाद। फरक यति हो– यस्तो चरित्रलाई नेपाल र भारतमा केही ब्राह्मणहरूले नेतृत्व गरिरहेका छन्। त्यस्ता चारित्रिक पात्रहरूले अरू जातिहरूलाई धार्मिक र आर्थिकरूपले कमजोर बनाएर आफूमात्रै शक्तिमा आसीन छन्। तसर्थ ज्ञानबोधक र ‘ब्राह्मणवाद’ र मपाइँत्वबोधक ‘बाहुनवाद’ एकअर्कामा धेरै फरक कुरा हुन्। 

अर्को अर्थमा हेर्दा ऐतिहासिक शास्त्रहरूमा बाहुनमा भन्ने जात नै पाइँदैन। विशेषगरी जजमानी गर्ने पुरेतहरूले पूजा विधिमा एउटा बाहुन थाप्ने र त्यसमा भेटी, चामल, धन दान गरी पूजा गरेमा त्यो बाहुनले दानप्रसादहरू सीधै देवतालाई दिने र देवताहरूले पूजाकर्ताहरूलाई पापबाट मोक्ष गराउने विश्वास छ। अनि त्यसरी प्रतिस्थापन गरिएको बाहुन मानव जातिभन्दा उच्च र देवताहरूको दूत भएको, त्यसकारणले सबैले बाहुनलाई पूजा गर्नु वा मान्नु पर्दछ भन्ने मान्यता बसेको पाइन्छ। केही पुरेत्याइँ गर्नेहरूले यही लोभी रितका आधारमा ‘ए हामी त सबैभन्दा उच्च जाति, देवताहरूका खास सन्तान, समाजले पुज्नैपर्ने’ भनेर ‘बाहुन’ भन्ने उपनाम थपेर आफूलाई उच्चकोटीको देखाउन खोजेका थिए, जुन उपमा अहिलेको लोकतान्त्रिक र समावेशी समाजमा ब्राह्मणकै लागि अभिशाप बन्न पुगेको हो। तसर्थ यो बाहुन ब्राह्मणभित्रका केहीले स्वघोषणा गरेको उपमा मात्र हो। यो उपमालाई जातभन्दा व्यक्तिको चरित्रसँग जोेडेर मात्रै प्रयोग गर्दा उचित होला, जुन चरित्र खास जातमा मात्र नभएर थोरबहुत सबै जातमा पाइन्छ। 

हिन्दूधर्मका पुराना पण्डितहरूले सृष्टिकर्ता ब्रह्माको मुखबाट निस्केका पवित्र जात हुन् भनी भ्रम छर्दा आज हिन्दू समाजमा सोही छाप बसेको छ। अन्ततः केही ब्राह्मणहरूमा आज पनि आफूहरू अरु जातिभन्दा पवित्र र उच्च जाति भएको मपाइँत्व छ। यही मपाइँत्वकै बलबुतामा एउटै जातिले मात्र एकछत्र अवसर प्राप्त गरिरहेका छन्। राजनीतिक नेता र समाजशास्त्री मानवशास्त्रीहरूले समेत विशेष जातिको मपाइँत्वलाई सही विश्लेषण नगरिदिँदा बाहुनवाद शब्द सुन्नासाथ साझा हित चाहने ब्राह्मणहरूसमेत तर्सिरहेका हुन्। यसर्थ मपाइँत्व चरित्र र चिन्तनका ब्राह्मणहरूलाई मात्र अलग्याएर बाहुनवादलाई बुझ्नु उपयुक्त हुन्छ। बाहुनहरू ब्रह्माको मुखबाटै निस्किएका हुन् भन्ने भ्रमलाई ब्राह्मण समुदायबाट अलग्याएर बुझ्नु र बुझाउन आवश्यक छ। नत्र समाजमा कायम रहेको जातीय भाइचारा, निर्माण हुँदै गएको जातीय र सांस्कृतिक अन्तर्घुलन र सामाजिक सहिष्णुता भत्कने खतरा रहिरहन्छ। र, त्यसले अब बन्ने समावेशीकरण कार्यान्वयनको नीतिमा समेत असर पुर्‍याउन सक्दछ। 

हाम्रो समाजमा थुप्रै ब्राह्मणहरू छन्, जो सर्वहित लागि काम गर्छन्, सबैको भलो चाहन्छन्, समाज र देशका लागि जीवन र धन दुवै त्याग गरेका छन्, वैश्य र शुद्र भनिने जातजाति सरह नै श्रममा खटिएका छन्। तिनीहरूलाई ब्राह्मण भएकै आधारमा बाहुनवादसँग दाँज्न मिल्दैन। मुक्तिनाथ अधिकारी, भीमदत्त पन्त, पं.छविलाल पोखरेल, स्व.नारायण पोखरेल, मनमोहन अधिकारी, मोदनाथ प्र श्रीतलगायत समाजमा आज पनि यस्ता व्यक्तिहरू छन्, जो आफूले सक्ने जति जनहितका कार्यहरू गर्दै आए। जसले छुवाछूत, विभेद र लोभलालच, अहमताबाट अलग रही समानतामा आधारित समाजका पक्षमा धेरै योगदान दिएका छन्। र, आज पनि स्वार्थका लागि समाजलाई तोड्नेभन्दा सबै जातजातिलाई जोडी बन्धुत्व निर्माण गर्ने कार्यहरू गर्दैछन्, जसमा उच्च जाति हुँ भन्ने मपाइँत्व छैन, त्यस्ता व्यक्ति र समूहलाई बाहुनवादीबाट अलग्याएर हेर्नुपर्दछ। 

हाम्रो समाजमा कुनै एकल जातको वर्चस्व छैन। अन्य देशभन्दा विशिष्ट किसिमको जात र वर्णबाट निर्मित नेपाली समाजमा आजभोलि ब्राह्मणदेखि डोम, मुसहरसम्मका जातजातिबीचमा दाजुभाइ, दिदी–बहिनी, साथीसंगी, मामा, फुपू, काकाकाकी तथा ज्वाईंचेला र सम्धि–सम्धिनीसम्मको मूर्त–अमूर्त नाता–सम्बन्ध कायम हुन थालेको छ। यिनै तŒवहरू समाज र हाम्रो संस्कृतिलाई बलियो बनाइराख्ने शक्ति हुन्। बाहुनवाद भनेर एउटा जात विशेषलाई मात्र आरोप लगाइरहँदा ती सम्बन्धहरूमा चिसोपना आउन सक्छ। अर्कोतिर इतिहासमा कुनै बाहुनवादी पात्रका कारणले गर्दा बाँकी जातिहरू शोषणमा परे, तिनीहरूको मपाइँत्व र भ्रमका कारण दलित वा अन्य जातजातिहरू पिछडिए भन्दैमा कुनै ब्राह्मणका रक्तसन्तान वा सिंगो वंश नै अपराधी हुन् भनेर घोषणा गर्नु पनि न्यायसंगत होइन। त्यसअर्थमा वर्तमानमा देखिएका असमावेशी चिन्तन र चरित्रलाई मात्र अलग्याएर मात्र हेर्नुपर्ने हुन्छ। चिन्तन र चरित्रका आधारमा जातबाट वाद अलग्याउँदा मानिस–मानिसको बीचमा खराब मानिस पनि हुन्छ भनेझैें अर्थ लाग्ने हुनाले यस्तो वादलाई स्वयं ब्राह्मण वा आफूलाई बाहुन नै भन्नेहरूले समेत स्वीकार्न सक्दछन्। 

साथै, जो ब्राह्मणहरू आफूलाई बाहुनवादी चिन्तन र चरित्रबाट अलग्याउन चाहन्छन् भने तिनले अति तिर्खाएको बेला दलितका हातबाट पानी खाने, भोकाएको बेला दलितको घरमा पसी खाने वा भोटका लागि म त दलितको जुठोपीरो खाएर हुर्केको भनी नाटक रच्दैनन्। दलित, जनजाति वा मधेसीलाई सानोतिनो अवसर दिएर आआफ्नो दुनो सोझ्याउने गर्दैनन्। बरु पछाडि पारिएका यी जातजातिको योग्यता र अस्तित्वलाई व्यवहारतः स्वीकार्न गर्छन्, तिनीहरूलाई दिनुपर्ने अवसरका लागि त्याग गर्न तयार हुन्छन् र सांस्कृतिक अन्तरघुलन गराउन अग्रसर भइरहन्छन्। यसो गर्नेहरू चैं पक्का ब्राह्मणवादी हुन् नत्र कुरैकुरा गरेर उही शोषण गर्ने र अवसर हडप्ने, घरभित्र छिर्नासाथ विभेदलाई निरन्तरता दिने, दलित उत्पीडितलाई योग्य नदेख्ने, दयाका रूपमा हेर्ने, आफूमाथि पर्नासाथ हेयभाव दोहोर्‍याउनेहरू अझ पनि बाहुनवादी नै हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.