भारतबाट १६ नाबालकको उद्धार

भारतबाट १६ नाबालकको उद्धार

नेपालगन्ज : भारतको कर्नाटकमा बौद्ध शिक्षा दिन भन्दै नाबालकलाई अबैध तवरले त्यता पुर्‍याउने गिरोह सक्रिय रहेको रहस्य खुलेको छ। एक जनालाई लगेबापत भारतीय गुम्बाले कमिसन दिने गरी नेपालमा उनीहरूका एजेन्टले काम गरिरहेका छन्। सो कार्यमा तिब्बती नागरिकसमेत संलग्न रहेको पाइएको छ। 

नाका छलेर रुपन्देहीको जंगलको बाटो भारत पुर्‍याइएका ६ वर्षदेखि १४ वर्ष उमेरका १६ बालकलाई शान्ति पुनःस्थापना गृह ललितपुरको टोलीले बिहीबार उत्तर प्रदेशको बस्ती सहरबाट उद्धार गरेको छ। ‘बालकलाई भारत लैजान जिल्ला प्रशासन, जिल्ला प्रहरी, स्थानीय तह, परराष्ट्र मन्त्रालय कतैबाट अनुमति लिएको पाइएन’, बालकलाई परिवारको जिम्मा लगाउन नुवाकोटमा जाँदै गरेका गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले अन्नपूर्ण पोस्ट्सँग टेलिफोनमा भने, ‘रुपन्देहीको कक्रोहवामा खुला बोर्डरबाट बालकहरूलाई भारत पुर्‍याइएको रहेछ।’ 

भारतको देहरादुनमा मानव बेचबिखनबिरुद्ध काम गर्ने हेल्प क्रस ट्रस्ट नामको संस्थासँग समन्वय गरी उद्धार गरिएको संयोजक भट्टराईले सुनाए। उनका अनुसार भारतीय प्रहरीले एक नेपाली र तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको छ।’ 

रौतहटका ११ देखि १६ वर्षसम्मका ६ नाबालक भारतमै छन्। उनीहरूको कागजात नभएकाले बिहीबार उद्धार हुन नसकेको हो।  भट्टराईका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै नुवाकोटका १० जना छन्। रसुवाका पाँच र कैलालीका एक जना छन्। उनीहरूमध्ये ३ जना ६ वर्षका छन्। एक जना मात्र १४ वर्षका छन्। अन्य ९ वर्षमुनिका छन्। 

‘म नेपालगन्जको एउटा कार्यक्रममा थिएँ। १५–२० जना नेपाली नाबालकहरू भारतीय बस्ती सहरमा रेलमा बसिरहेका छन् भन्ने खबर आयो। हामीले त्यहाँको रेलवे प्रहरी फोर्सको सहयोगमा उद्धार गर्न सफल भएका हौं’, उनले भने। त्यसपछि बच्चाहरूको घरपरिवारसँग समन्वय गरेको उनको भनाइ छ। भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्र्यालय नुवाकोट, रसुवा र कैलालीको पत्र र स्थानीय तहको सिफारिस र भारतीय दूतावासमार्फत हामीले उद्धारका लागि पहल गरेका हौं।’

अवैध रूपमा भारत पुर्‍याइएका बालकहरू उच्च जोखिममा रहेको निष्कर्ष संस्थाले निकालेको छ। ‘नेपालबाट अवैध बाटोबाट लगिएकाले नाबालकहरू उच्च जोखिममा हुन्छन्। उनीहरूलाई बेचबिखन हुने खतरा पनि हुन्छ। यो शिक्षाका नाममा ठगी पनि हो। मानव बेखबिखन पनि हो’, भट्टराईले भने। यी बालकलाई भारतबाट रुपन्देहीको कृष्णनगर नाका हुँदै नेपाल ल्याइएको हो। दुई गाडीमा नुवाकोट, रसुवा र काठमाडौं लगिएको छ। संस्थाका कार्यकारी निर्देशक सुमन सापकोटा उद्धार गर्न भारत गएका थिए। कर्नाटकस्थित गुम्बामा उनीहरूलाई लैजाँदै गरिएको थियो। सो गुम्बाले बौद्ध शिक्षाका लागि औपचारिक रूपमा अनुमति पनि नलिएको पाइएको उद्धार टोलीले जनाएको छ। ६ जनाको सोमबारसम्म उद्धार गर्ने तयारी छ। 

नुवाकोेट, रसुवा र कैलाली प्रहरीले घटनामा संलग्न गिरोहबारे खोजी गरिरहेको छ। नेपाली बालकलाई भारतीय गुम्बामा लगेर फ्री तिब्बत अभियानबारे प्रशिक्षण दिन खोजिएको आशंका सरोकारवालाको छ। 

नुवाकोटका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी प्रशासनलाई थाहा नदिएर कागजात र प्रक्रिया पूरा नगरी बालकलाई भारतमा लगिएको पुष्टि गरे।  ‘आज (बिहीबार) दिनभर अभिभावक आफ्ना सन्तान लिन जिल्ला प्रहरी कार्यालयमा आउनुभएको थियो। उहाँहरूले गुम्बामा पढ्न नै पठाएको बताउनुभएको छ। भारतमा प्रहरीले पढ्नका लागि लैजाने कुनै कागजात र प्रक्रिया पूरा नगरेकाले नियन्त्रणमा लिएको हो’, एसपी पण्डितले भने, ‘अझै बालकहरू जिल्लामा आइपुगेका छैनन्। भोलि (शुक्रबार) आइपुग्छन्। उद्धार गर्ने संस्थाका व्यक्ति पनि आउँछन्। उद्देश्य पढ्ने नै हो भने बेचबिखन भएन। बहाना पढ्ने तर नियत अरू नै भए त बेचबिखन नै हुन्छ। पढ्ने बहानामा अरू नै प्रयोजनले पठाइएको भए कानुनबमोजिम कारबाही हुन्छ।’ 

भारतबाट उद्धार गरेर ल्याएका बालकलाई कृष्णनगर भन्सार कार्यालयमार्फत कपिलवस्तु प्रहरीले शान्ति पुनःस्थापना केन्द्रको जिम्मा लगाएर घर पठाउन सहजीकरण गरेको जनाएको छ। कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले उद्धार गरेर नेपाल ल्याउन सबै प्रक्रिया पूरा गरेकाले आफूले अभिभावकको जिम्मा लगाउन संस्थालाई सहजीकरण गरेको बताए। उनले भने, ‘अन्डर एजका बच्चालाई भारत लैजाँदा अभिभावकको सहमतिपत्र, स्थानीय तहको सिफारिस, जिल्ला प्रशासनको पत्र, दूतावासको पत्रलगायत कागजात नपुर्‍याएर लैजान मिल्दैन। प्रक्रिया र कागजात बिना नै लगिन्छ भने बेचबिखनको मात्र होइन अरू खतरा पनि उत्तिकै हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.