मुस्ताङमा चलचित्र 'अन्तिम संस्कार'को छायांकन
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा नेपाली कथानक चलचित्र 'अन्तिम संस्कार'को छायांकन सुरु भएको छ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र अन्तिम संस्कार दोस्रो प्रस्तुति स्वरूप शुक्रबारदेखि छायांकन सुरु भएको हो।
सो चलचित्रमा अभिनय गर्ने एक दर्जन बढी कलाकार अहिले मुस्ताङमा छन्।
सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको 'अन्तिम संस्कार'को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्।
चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र 'अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेनिक)ले जानकारी दिए।
चलचित्र 'अन्तिम संस्कार'को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्।
झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ। यस्तै, चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्ने भएका छन्।
मुस्ताङमा सडक सञ्जालले जोडिएसँगै स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्ने क्रम वृद्धि हुँदै छ। पृथक भुगोल, प्राकृतिक सौन्दर्यता, धार्मिक, सांस्कृतिक तथा पुरातात्तिक सम्पदाले चलचित्रकर्मीहरूको नजरमा मुस्ताङ छायांकन हब बन्दै गइरहेको छ।
यहाँ हिन्दी चलचित्र खुदा गवाहदेखि दर्जनौ नेपाली चलचित्र छायांकन भइसकेका छन्।