रोजाइमा सेमेस्टर प्रणालीका कोर्स

रोजाइमा सेमेस्टर प्रणालीका कोर्स

तीनवर्षे स्नातक कक्षालाई सबै विश्वविद्यालयले विस्थापित गरिसकेका छन्। अहिले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी स्नातक तह अनिवार्य रूपमा चार वर्षे कोर्स बनाइएको छ। तर लामो समयदेखि अध्यापन हुँदै आएको बीए (ब्याचलर इन् ह्युम्यानिटिज), बीबीएस (ब्याचलर अफ बिजनेस स्टडिज), बीएड (ब्याचलर इन् एजुकेसन), बीएस्सी (ब्याचलर इन् साइन्स) लगायतका विषय अझै वार्षिक परीक्षा हुने गरी कक्षा सञ्चालन हुँदै आएका छन्। यस्ता कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालयले वार्षिक शिक्षा प्रणाली कम गुणस्तरको भन्ने बुझाइ गलत भएको जनाएको छ। यसै क्रममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक पुष्पराज जोशी वार्षिक शिक्षा प्रणाली कम गुणस्तरको भन्न नहुने तर्क राख्छन्। ‘तर अध्यापन गराउने शिक्षक योग्य र विद्यार्थी नियमित कक्षामा जेहेन्दार भएर पढिदिए जुनसुकै शिक्षा गुणस्तर हुन्छ’, उनी भन्छन्, ‘कलेजहरू घरघरै खुलेका छन्। तर संख्याभन्दा गुणस्तरमा ध्यान दिनु जरुरी छ।’ अधिकांश विद्यार्थी कसरी पास हुने भन्ने ध्यानमा हुन्छन्, जसले गर्दा विद्यार्थीको हातमा प्रमाणपत्र हुन्छ तर आवश्यक क्षमता नहुने प्रवृत्ति देखिएको उनले स्विकार गरे। गुणस्तरलाई ठ्याक्कै मापन गर्ने आधार नभएको, तर परीक्षालाई आधार मान्दा सन्तुलित रहेको उनको बुझाइ छ। 

शिक्षाविद् प्रा.डा. विनय कुसियत गुरुकुलमार्फत दिने परम्परागत शिक्षाभन्दा माथि उठेको वार्षिक प्रणाली ठीक भए पनि यसलाई कसरी सञ्चालन गरिएको छ भन्नेमा यसकोे गुणस्तर भर पर्ने बताउँछन्। ‘कुनै पनि प्रणाली नराम्रो भन्ने हुँदैन। वार्षिकभन्दा सेमेस्टरमा चाँडै परीक्षा लिने, नतिजा दिने, प्राक्टिकल गर्ने र इफिसेन्सी ल्याउन गरिएको हो,’ उनले भने।  पोखरा विश्वविद्यालयलगायतले भने वार्षिक प्रणालीभन्दा सेमेस्टरलाई प्राथमिकता दिएका छन्। यसै प्रसंगमा  पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनिग्लोब कलेजका प्रधानाध्यापक डा.नरबहादुर विष्ट छोटो समयमा परीक्षा हुँदा पढेको तुरुन्तै सम्झन सकिने र वर्षभरिको कोर्सभन्दा यसमा छोटाछोटा कोर्स हुने हुँदा बजारमा आवश्यक विषयमात्रै समावेश गर्न सकिने व्यवस्था हुने बताउँछन्। सेमेस्टर प्रणालीको सुन्दर पक्ष भनेको शिक्षकले हरेक कक्षामा प्रिजेन्टेसनदेखि, केस स्टडीलगायतका अतिरिक्त गतिविधि गरेर निरन्तर आन्तरिक मूल्यांकन गरिन्छ। ‘यस्तो मूल्यांकनको अंक ५० प्रतिशत हुन्छ। यसो हुँदा विद्यार्थीले व्यावहारिक रूपमा सिक्ने मौका पाउँदा शिक्षण पद्धति उपलब्धिमूलक हुन जान्छ। किनभने वार्षिक कक्षामा बढी सैद्धान्तिक ज्ञान हुन्छ’, उनले भने।  

यस्तै, गोल्डेनगेट इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल आफूहरूले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वार्षिक र सेमेस्टर दुवै कोर्स सञ्चालनमा ल्याएको बताउँछन्। वार्षिक प्रणाली बढी सैद्धान्तिक र सेमेस्टर बढी व्यावहारिक भएकोले अधिकांशको रोजाइ सेमेस्टरतर्फ भएको उनले बताए। उनको कलेजमा स्नातक तहमा बीबीएस, बीएसडब्लू र बीएस्सीलगायत वार्षिक कोर्समा आधारित छ र यसबाहेकका बीएसएम, बीबीएम, बीसीए सेमेस्टरमा सञ्चालित छन्। 

‘यी दुवैको कोर्स राम्रो छ, तर सेमेस्टर सिस्टममा अलिकति परिमार्जित छ। ६, ६ महिनामा परीक्षा हुने हुनाले कोर्सलाई बढी अपडेटेड र वास्तविक बनाइएको छ,’ उनले भने, ‘यसकारण अब क्रमशः सबै कोर्सलाई सेमेस्टर प्रणालीतर्फ लैजानु जरुरी छ। किनभने अन्तर्राष्ट्रिय स्तरकै मान्यताअनुसार विद्यार्थीको मूल्यांकन ३ घण्टाको परीक्षाले गर्न सक्दैन भन्ने हो।’ अबको कोर्सहरू प्रमाणपत्रमुखीभन्दा पनि ज्ञान र सीपमुखी हुनु जरुरी रहेको उनको तर्क छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मात्रै मुलुकभरि १ हजार १ सय २० वटा छन्। यसअन्तर्गत  त्रिभुवन विश्वविद्यालयका ६२ वटा आफ्नै आंगिक क्याम्पस छन्। बाँकी सामुदायिक र सम्बन्धन प्राप्त कलेज हुन्। उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको वेटेज ८० प्रतिशतभन्दा माथि रहेको नियन्त्रक जोशीको दाबी छ। यी सबै कलेजमा परम्परागत अर्थात् वार्षिक कोर्सदेखि सेमेस्टर कोर्स पनि पठनपाठन हुने गरेको छ।  

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा प्राविधिक कक्षाहरूमा आकर्षण बढ्दो छ। स्नातक तहकै बीआईटी यसको उदाहरण हो। यससँगै बीबीए, बीसीए, इन्जिनियरिङ अध्ययन गर्ने पनि त्रिविमै भीड हुने गरेको उनको दाबी छ। उनका अनुसार कुल विद्यार्थी १६ हजारमध्ये ३ हजार जति व्यवस्थापनकै विद्यार्थी हुने गरेका छन्। 

स्नातक तहको वार्षिक परीक्षा हुने शिक्षा संकाय (बीएड)मा ६० हजार, बीबीएस अर्थात् व्यवस्थापन संकायमा करिब १ लाख, बीए अर्थात मानविकी संकायमा २५ हजार र बीएस्सी अर्थात् विज्ञान संकायमा ६ हजारदेखि ७ हजारसम्म विद्याथी भर्ना हुने गरेको उनले जानकारी दिए। प्रत्येक वर्ष स्नातक तहमा सोही दरले विद्यार्थी संख्या थपिँदै गएको उनले बताए। यससँगै सेमेस्टरमा अध्ययन हुने स्नातक तहको फरेस्टीमा प्रत्येक वर्ष १ सय २०, कृषिमा १ सय ५० जना विद्यार्थी थपिने गरेका छन्। यस्तै, स्नातक तहको सेमेस्टरमा अध्यापन हुने मेडिकल कोर्समा पनि बर्सेनि ३६ सय थपिन्छन् भने इन्जिनियरिङमा वार्षिक ४ हजार विद्यार्थी थपिएर करिब २० हजार पुग्छन्।

स्नातकका सबै संकाय तथा कोर्सहरू ४ वर्षे  अवधिका भएका छन्। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातकका सबै विषयलाई सेमेस्टरमा नलगे पनि स्नातकोत्तरमा भने सबै संकायलाई अनिवार्य सेमेस्टरमा लगिएको छ। नियन्त्रक जोशीका अनुसार त्रिविबाट मात्रै वार्षिक तथा सेमेस्टर गरेर कुल करिब ८ लाख विद्यार्थीले परीक्षा दिने गरेका छन्। स्नातक तहमा बर्सेनि करिब ४ लाख भर्ना हुने गरे पनि ब्याक पेपर दिनेको संख्या अधिक हुँदा परीक्षामा भने करिब ७–८ लाख परीक्षार्थी हुने गरेको नियन्त्रक जोशी बताउँछन्। 

स्नातक तहमा अध्यापन गराउने विश्वविद्यालयहरू नेपालभर करिब एक दर्जन छन्। त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम, लुम्बिनी, नेपाल संस्कृत, कृषि तथा वन विज्ञान, नेपाल खुला र योगमाया आयुर्वेद विश्वविद्यालयलगायत रहेका छन्। अझ स्नातक तहमै विदेशी सम्बन्धन प्राप्त भएका करिब ८४ वटा कलेजले समेत विभिन्न आधुनिक कोर्सहरू अध्यापन गराउँदै आएका छन्। 

सेमेस्टर प्रणालीको सुन्दर पक्ष भनेको शिक्षकले हरेक कक्षामा अतिरिक्त गतिविधि गरेर निरन्तर आन्तरिक मूल्यांकन गरिन्छ। यसो हुँदा विद्यार्थीले व्यावहारिक रूपमा सिक्ने मौका पाउँदा शिक्षण पद्धति उपलब्धिमूलक हुन जान्छ। 
डा.नरबहादुर विष्ट
प्रधानाध्यापक, 
युनिग्लोव कलेज


हाम्रो कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वार्षिक र सेमेस्टर दुवै कोर्स सञ्चालनमा ल्याएका छौं। वार्षिक प्रणाली बढी सैद्घान्तिक र सेमेस्टर बढी व्यावहारिक भएकाले अधिकांशको रोजाइ सेमेस्टरतर्फ भएको छ। 
रमेशकुमार सिलवाल
प्रमुख कार्यकारी अधिकृत, गोल्डेनगेट इन्टरनेसनल कलेज 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.