सरकार र डा.गोविन्द केसी पक्षबीच वार्ता सुरु
काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता अनसनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। डा.केसी सातदिनदेखि धनगढीमा अनसनरत छन्।
सरकारले प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा गठन गरेको वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेका छन्।
केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेका छन्।
देशभरका सरकारी अस्पतालमा शय्या अनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने; जनसंख्या वृद्धि अनुसार अस्पताल, स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने; सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेका निजी अस्पताल बन्द गराउनुपर्ने लगायतका माग राख्दै डा. केसी अनसनरत छन्।