नुवाकोटमा ६ कैदीबन्दी रिहा
नुवाकोट : संविधान दिवसका अवसरमा नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै बन्दी जीवन विताइरहेका नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा नुवाकोटसहित विभिन्न कारागारबाट कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिस छानविन गरी सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीबन्दी रिहा गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातौं संविधान दिवसका अवसरमा नुवाकोटमा विभिन्न मुद्दामा दोषी भएर कैद सजाय भुक्तान गरिरहेका ६ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरेकी हुन्।
सरकारले नुवाकोट कारागारबाट बाँकी कैद मिनाहा भएर रिहा गरेकाहरुमा ताीनजना चोरी मुद्दाका, दुई जना सवारी ज्यान मुद्धाका र एक जना कर्तव्य ज्यान मुद्दामा कैद जिवन विताइरहेका रहेको कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए ।
नुवाकोटबाट १० जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस गरिएको थियो ।
अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर गरी बन्दी जीवन विताइरहेकामध्ये असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरिसेकालाई रिहा गरिएको हो ।
नुवाकोटका ६ पुरुष कैदीबन्दीको बाँकी कैद माफी दिइएको छ । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था गरिएको छ ।