डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक, आठ दिनमा तीन किलो तौल घट्यो

डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक, आठ दिनमा तीन किलो तौल घट्यो

धनगढी : कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित ८ दिनदेखि धनगढीमा अनसनरत गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ । 

उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जनाएका छन् ।

चिकित्सा क्षेत्रको सुधारका लागि लामो समयदेखि अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले धनगढीमा अनसन सुरु गरेको सोमबार ८ दिन पुगेको हो । 

गेटा मेडिकल कलेजमा साढे ८ अर्बका पूर्वाधार बनिसक्दा पनि सञ्चालनमा नआएको, सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि विगतमा गरेका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले धनगढीको कृष्ण मन्दिरमा भदौ २६ गते देखि आमरण अनसन सुरु गरेका थिए । तीन दिनमै उनको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई सेती प्रादेशीक अस्पतालमा राखिएको छ । 

‘डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको छ । मांसपेशीहरु सुक्दै गएका छन्, दिशा कालो भएको हुनाले पेटमा अल्सर भइ आन्तरिक रक्तश्राव भएको छ, पोषणतत्व र पानीको मात्रा कम भएकाले उनको अवस्था जटिल बन्दै गएको छ,' सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले भने ।

डाक्टर कमरको नेतृत्वमा डाक्टर अमृत जैशीसहितको चिकित्साको टोली केसीको उपचारमा खटिएको छ । डाक्टर केसीले मुखबाट पानी र नसाबाट रिंगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिन नमानेको पनि डाक्टर कमरले बताए । 

‘हामीले आवश्यकता अनुसार पानी र पोषण तत्व लिन आग्रह गरिरहेका छौं, तर मानिरहनु भएको छैन, अस्सर भएर आन्तरिक रक्तश्राव भएको हुनाले ज्यानमा जटिलता देखिएको छ,' उनले भने ।

सोमबार डाक्टर केसीको स्वास्थ्यको अवस्था जटिल बनेपछि उनलाई बहुविषेशज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि पनि सेती प्रादेशीक अस्पताले आग्रह गरेको छ । अस्पताल प्रशासनले राष्ट्रिय मानवअधिकार आयोग, सामाजिक विकास मान्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीलाई डाक्टर केसीको स्वास्थ्यमा जुनसुकै बेला पनि जटिलता बढन सक्ने भन्दै विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि अनुरोध गरेको हो ।

सुदूरपश्चिममा स्वास्थ्य सेवा नाजुक छ । यहाँका जनताले स्वास्थ्य चौकीहरुमा पाइने भनिएको निशुल्क औषधिमध्ये पनि ७० प्रतिशत औषधि पाउँदैनन् । साढे ८ अर्बका भौतिक संरचना बन्दा पनि गेटामा मेडिकल कलेज बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुराको टुंगो लागेको छैन । डाक्टर केसीले देउवा सरकारले गेटामा अबिलम्ब मेडिकल कलेज सञ्चालन गरी जनतालाई स्वास्थ्य सेवा दिन माग गरेका छन्।

‘म सुदूरपश्चिमका सबै जिल्लामा गएको छु, मैले यहाँ निशुल्क सेवा पनि गरेको छु । यहाँका मानिसहरु उपचार नपाएर भारत जान्छन् । भारतमा पनि लुटपाटमा पर्छन् । नेपालगञ्ज, काठमाडौं जाने उनीहरुको आर्थिक हैसियत छैन । मैले सरकारलाई के पो भनेको छु र उसैले संविधानमा लेखेको आधारभूत स्वास्थ्य सेवा निशुल्क भन्ने कुरा पुरा गर मात्र पो भनेको छु,' डाक्टर केसीले भने । 

उनले, कैलालीको गेटामा बनिरहेको सरकारी मेडिकल कलेजको पूर्वाधार बनिसक्दा पनि सञ्चालन नहुनुमा मेडिकल माफियाको चलखेल रहेको बताए । ‘मेडिकल माफियाहरुले नजिकै एभरेष्ट मेडिकल कलेज (नीजि मेडिकल कलेज) बनाउने तयारी गरेका रहेछन्, सरकार माफियाहरुलाई फाइदा दिनका लागि गेटाका पूर्वाधारमा मेडिकल कलेज वा स्वाथ्यविज्ञान प्रतिष्ठान, के बनाउने हो ? सञ्चालन गरिरहेको छैन,' डाक्टर केसीले भने ।

सरकारको हरेक प्रदेशमा एक/एकवटा सरकारी मेडिकल कलेज बनाउने नीति छ । संविधानमै पनि हरेक नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने प्रावधान राखिएको छ । तर पूर्वाधार बनिसक्दा पनि गेटामा मेडिकल कलेज वा प्रतिष्ठान केही पनि सञ्चालनमा आउन सकेको छैन ।

केसीको आन्दोलनलाई नागरिक समाजका अगुवाहरुले समर्थन गरेका छन् । सरकारले डाक्टर केसीका मागहरु सम्बोधन गर्नका लागि पटक-पटक सहमति गर्ने गर कार्यान्वयन गर्नतिर ध्यान नदिएको भन्दै स्थानीय आक्रोसित छन् । ‘सरकारले नयाँ गर्नुपर्ने केही छैन, डाक्टर केसीले गरेका मागहरु संविधानमै लेखिएका छन, तीनको कार्यान्वयन मात्र गर्न बाँकी हो, सरकार उदसीन हुनु हुँदैन,' स्थानीय समाजसेवी प्रमोद पाठकले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.