टेलिकमले थप केन्द्रहरूबाट इ-सिम वितरण गर्ने, इ-सिम चल्छ कि चल्दैन भनेर कसरी थाहा पाउने?
काठमाडौं : नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण गरिरहेको छ। इ-सिमका लागि यथेष्ट संख्या मौज्दात रहेको कम्पनीले जनाएको छ।
रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको इ-सिम भोलिदेखि कम्पनीको नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने छ।
मोबाइल सेटमा इ-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ-सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र इ-सिमका लागि केन्द्रमा जान कम्पनीले अनुरोध गरेको छ।
यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ। यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा इ-सिम चल्छ भनी थाहा पाउन सकिन्छ।
त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ।
आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः इ-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।
फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ।
इ-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।