म्यान्माको विद्यालयमा सैन्य आक्रमण, १३ मारिए
बैंकक (एपी) : उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात बालबालिकासहित १३ जना मारिएका छन्। एक जना विद्यालय प्रशासक र अर्का एक सहायताकर्मीले यो जानकारी दिएका हुन्।
म्यान्मामा प्रजातन्त्रसमर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन्। सागिङ क्षेत्रको ताबायिनमा गत शुक्रबार ती बालबालिका मारिएका हुन्। प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरी सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।
सेनाले शासन कब्जा गरेपछि जनस्तरमा देशव्यापी रूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा सहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ । राष्ट्रसंघीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ । जहाँ कैयौं गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झन्डै ५ लाख सर्वसाधारण विस्थापित भएका छन्।