जोखिम बाँडफाँटमा पुनर्बिमा
बिमा कम्पनीहरूले गरेको बिमाको जोखिम सबै आफैंले धारण गर्न सक्दैनन्। यसका लागि कम्पनीहरूले आफूले जोखिम व्यहोर्ने क्षमताअनुसार धारण गरेर बाँकी रहेको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन। यही प्रक्रियालाई पुनर्बिमा भनिन्छ। वास्तवमा यो बिमा व्यवसाय जोखिमहरूलाई व्यवस्थापन गरी आर्थिक भार वितरण गर्ने प्रणाली पनि हो। अर्थात् बिमाको पनि बिमा गर्ने कार्य पुनर्बिमा हो।
पुनर्बिमा नहुने हो भने कुनै पनि बिमा कम्पनीको व्यवसाय सम्भव छैन। अझ भन्नुपर्दा पुनर्बिमाबाहेक बिमाको अस्तित्व सम्भव छैन। यसकारण बिमा व्यवसायमा बिमा कम्पनीको जति महत्व छ, त्यति नै महत्व पुनर्बिमा कम्पनीको पनि हुन्छ। मूल बिमा कम्पनी र पुनर्बिमा कम्पनीबीच हुने करारलाई पुनर्बिमा करार भनिन्छ। बिमा गराउने बिमकलाई मूल कम्पनी भनिन्छ भने पुनर्बिमा गर्ने कम्पनीलाई पुनर्बिमक वा रिइन्स्योरेन्स भनिन्छ। पुनर्बिमा गर्ने कार्य बिमा कम्पनीबीच पनि हुनसक्छ। हाल नेपाली बिमा कम्पनीहरूले नेपालको पुनर्बिमा कम्पनी तथा विश्वका विभिन्न पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराइरहेका छन्।
लाखौ–करोडौंंको बिमा गर्ने कम्पनीले भैपरी आउदा कसरी व्यहोर्न सक्छ भन्ने आम सर्वसाधारणको जिज्ञासा रहने गर्छ। खासमा बिमा कम्पनीले धेरै जोखिम लिने गर्छन्। यो जोखिमअनुसार भोलिका दिनमा क्षति भइहाले तिर्न सक्छ कि सक्दैन भनेर शंका, उपशंका पनि केहीले गर्छन्। तर, हरेक बिमा कम्पनीले अन्य कम्पनीसँग जोखिम भार वितरण गर्न पुनर्बिमा गर्छन्। यदि कसैले बिर्सिएर वा खराब नियत राखेर पुनर्बिमा गरेका छैनन् भने धेरै जोखिम हुन्छ। यद्यपि यसलाई नियमनकारी निकाय बिमा समितिले अनिवार्य गरेको छ। यसो गरेपछि अनिवार्य रूपमा बिमाको बिमा गर्नैपर्ने हुन्छ। यो अनिवार्य शर्त पनि हो। यसलाई नियामकले पनि सचेत बनाइरहेको हुन्छ। कम्पनीले कस्ता खालेसँग पुनर्बिमा गरिरहेको छ, पुनर्बिमा गर्ने कम्पनी बलियो छ कि छैन, भोलि समस्या परेको बेला तिर्न सक्छ कि सक्दैन भनेर बिमा समितिले पहिल्यै प्रपोजल मागेको हुन्छ।
बिमा कम्पनीहरू विभिन्न श्रेणीका हुन्छन्। विश्व विख्यात कम्पनीले बिमा कम्पनीको रेटिङ (स्तर निर्धारण) गरेको हुन्छ। राम्रो, थेग्न सक्ने खालको पुनर्बिमा कम्पनीसँग मात्रै पुनर्बिमा गर्न बिमा समितिले निर्देशन दिने गरेको छ। नेपालको प्रचलन भने असारको पहिलो साताभित्रमा कम्पनीहरूले पुनर्बिमा सम्बन्धी नीति अर्थात् प्रपोजल दिनुपर्ने हुन्छ। सो नीति सही छ वा छैन भनेर नियामकले हेर्छ।
जुन पुनर्बिमा कम्पनी सँग गर्न खोजिएको छ, ती कम्पनी कतिको भरपर्दो छ, भोलि क्षति हुँदा व्यहोर्न सक्छन् कि सक्दैनन् भनेर सबै हेरेर बिमा समितिले स्वीकृति दिन्छ। नेपालको हकमा हालसम्म दुइटा पुनर्बिमा कम्पनी छन्। नेपाल रि–इन्स्योरेन्स कम्पनी र हिमालयन हिमालयन रि इन्स्योरेन्स कम्पनी हुन्। हिमालयन रि–इन्स्योरेन्स भर्खरै १ वर्ष पुगेको छ। यसको पुँजी ७ अर्ब रुपैयाँको छ। यसले पनि क्रमशः व्यवसाय गरिरहेको छ। तर, ८ वर्ष पुरानो नेपाल रि–इन्स्योरेन्सको पुँजी करिब १२ अर्ब रुपैयाँको छ।
यिनीहरूले नेपालभित्रको मात्रै बिमा गर्दैनन्। नेपाल बाहिरको पनि बिमा गर्न थालेका छन्। नेपाल पुनर्बिमा कम्पनीले मात्रै ३० वटाभन्दा बढी देशहरूबाट पुनर्बिमा गरेको छ। यो कम्पनी सञ्चालनमा आएको करिब ८ वर्ष (स्थापना सन् २०१४) भएको हो। नेपाल सरकारको ४४ प्रतिशत सेयर स्वामित्व, निर्माण कम्पनीहरूको ४० प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर लगानीमा स्थापना भएको हो। नेपाल सरकारको पनि लगानी भएकाले यसको प्रतिष्ठा राम्रो छ।
कुनै निर्जीवन कम्पनीको पुँजी १ अर्ब छ। तर, कहिलेकाहीँं २–३ अर्बको क्षति व्यहोर्नु पर्ने हुन सक्छ। यो क्षति कसी व्यहोर्न सक्छ भनेर सर्वसाधारणलाई एक किसिमको डर वा जिज्ञासा हुनसक्छ। तर, पुनर्बिमा कम्पनीले ठूलो क्षति आफूले जिम्मा लिएको हुन्छ। यसले गर्दा पुनर्बिमा कम्पनीले नै बिमा कम्पनीहरूको क्षति वहन गरेको हुनाले सर्वसाधारणहरूले आत्तिनुपर्ने अवस्था छैन। तर, कतिपय अवस्थामा पुनर्बिमा गरेको छैन भने त्यसको सबै भार बिमा कम्पनीलाई पर्छ। यसर्थ कुन बिमाको पुनर्बिमा भएको छ र कुनको भएको छैन भन्नेबारे आम सर्वसाधारणलाई थाहा हँुदैन। भोलि क्षति भएको बेला क्षतिपूर्ति पाउँछन् भनेर सर्वसाधारण आस्वस्थ भएका हुन्छन्। यो सबै हेर्ने काम नियमनकारी निकायको हो। सबै बिमाको पुनर्बिमा भए, नभएको वा जोखिम हस्तान्तरण गरेका छौं कि छैनौं भनेर समय समयमा प्रतिवेदन लिने काम बिमा समितिको हो। यसले गर्दै पनि आएको छ। नियामक नीकायप्रति आम सर्वसाधारणदेखि नीति निर्मातासम्म ढुक्क हुन्छन्। यसर्थ बिमा दाबीको आधार र भरोसा पुनर्बिमा हो।
पुनर्बिमाको चेन
जीवन र निर्जीवन बिमाको पुनर्बिमा गरिन्छ। निर्जीवन बिमा क्षति भएमा मात्रै दाबी भुक्तानी गर्नुपर्छ। तर, क्षति भएन भने सो बापतको रकम फिर्ता हँुदैन। कम्पनी आफैंले राख्छ। तर, जीवन बिमामा एउटै पोलिसी (बिमालेख)मा २ वटा पाटो हुन्छ। यसमा बिमितको मृत्यु भै हालेमा फिर्ता गर्नुपर्छ। अर्को केही नभए बिमा परिपक्व भएपछि (म्याच्युरिटी) साँवा, ब्याज र बोनससहित फिर्ता गरिन्छ। यसभित्र जोखिम संरक्षण र बचत दुई पाटो हुन्छन। जीवन बिमा कम्पनीले बचतबापतको प्रिमियम आफैं राख्छ। यसबाहेक जोखिम पाटोको प्रिमियममात्रै अन्य कम्पनीसँग बाँड्छ। अलिकति जोखिमबापतको प्रिमियम आफू राख्छ र धेरै रि–इन्स्योरेन्स कम्पनीमा पठाउँछ। यसथै कुनै बिमितले २० वर्षको बिमा गरेको छ , यसअवधिभर उ बाँचिरहेको छ भने प्रत्येक वर्षको प्रिमियम तिरिरहेको हुन्छ। सोही प्रिमियम जम्म भइरहेमा बैंकबाट ब्याज लिएर थपथाप गरेर तिर्ने गर्छन्। संकलित प्रिमियमलाई कम्पनीले निक्षेप लगायतमा लगानी गरिरहेका हुन्छन्। यसो हुँदा कम्पनीलाई घाटा हुँदैन, नाफै हुन्छ। जस्तै ः कसैले २० वर्षमा २० लाख रुपैयाँ बुझाएको छ भने यसको ब्याज पनि टन्नै आउँछ। सबै गरेर ३० लाख आउँछ भने कम्पनीले २९ लाख रुपैयाँ दिएर बाँकी १ लाखबाट कम्पनीले व्यवसाय वृद्धि गर्छ। यसर्थ अधिकांश जीवन बिमाको पुनर्बिमा गर्नुपर्दैन तर जोखिम संरक्षणको भने गर्ने गर्छन्। कसैले सोही रकम बराबरको बिमा गरेको छ तर एउटा किस्ता तिर्नासाथ बिमितको मृत्यु भएमा कम्पनीलाई पूरै पैसा तिर्नुपर्ने जोखिम हुन्छ। यस्तो जोखिमको मात्रै कम्पनीहरूले पुनर्बिमामा पठाउँछन्। यसपछि पुनर्बिमा कम्पनीले क्षतिबापतको रकम दिन्छ। रि–इन्स्योरेन्समार्फत नेपालको कम्पनीको पैसा पनि बाहिर पठाउने गरेको छ।
साथै विदेशीबाट आएको प्रिमियममा पनि अलिकती राखेर अरू बाहिर नै फेरि रि–इन्स्योरेन्स गर्ने गरेको छ। विश्वको नाम चलेको ह्याण्ड ओभर भन्ने पुनर्बिमा कम्पनी छ। यो र यससँगै क वर्गका पुनर्बिमा कम्पनीमा मात्रै नेपाल रि–इन्स्योरेन्सले पार्टनर बनाएर काम गरेको कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे जानकारी दिन्छन्। प्रायः एउटै बिमालेखको जोखिम ७–८ ठाउँमा बाँडेर पुनर्बिमा गरिन्छ। यो पुनर्बिमाको चेन हो। अहिले कृषि बिमामा पनि यस्तै गरेको उनले बताए।
नेपाल पुनर्बिमाले मात्रै ३० भन्दा बढी मुलुकबाट पुनर्बिमा ल्याउँदा राम्रै हिसाबले विदेशी मुद्रा भित्रिएको छ। भर्खरै मात्र ३६ लाख डलरको लगानी गरेको। सो लगानी बराबरको रकम अहिले कम्पनीसँग छ। यद्यपि जोखिम पनि सोही हिसाबको हुने गर्छ। पुनर्बिमा गरेकाको वीदेशमा क्षती भैहाले दाबी भुक्तानी गर्ने दायीत्व भने हुन्छ। अहिले नेपाल रि–इन्स्योरेन्स कम्पनीले पुनर्बिमा प्रयोजनमा लगानी पनि भिœयाइरहेको र क्षति भएको खण्डमा भुक्तानी पनि दिइरहेको बताएको छ।
जीवन बिमा कम्पनीको भन्दा निर्जीवन बिमा कम्पनीको पुनर्बिमा अधिक छ। अधिकांश जीवन बिमा कम्पनीहरू आफैंले बढी क्षति व्यहोर्ने भएकाले पुनर्बिमामा कमै जान्छन। तर नीर्जिवन बिमा बढी भएको नेपाल रि–ईन्स्योरेन्स कम्पनीको तथ्यांकमा देखिन्छ।
नेपाल रि–इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/७८ अनुसार स्वदेशी ८० प्रतिशत र विदेशी २० प्रतिशत छ। सो अवधिसम्म कम्पनीको कुल ८ अर्ब ५५ करोड प्रिमियमबापत शुल्क आर्जन भएको छ। स्वदेशीको ८० प्रतिशतभित्र पनि ७० प्रतिशत निीर्जवन र १० मात्रै जीवन बिमाको हिस्सा रहेको छ। कम्पनीले भारतबाट बिमा ल्याएको धेरै भए पनि अन्य मुलुकबाट भने ४ वर्ष मात्रै भएको छ।
अहिले लाखौं व्यक्तिको कोरोना बिमाको भुक्तानी नभएकाले बिमामा केही प्रभाव परेको बिमकहरूको गुनासो छ। यद्यपि यसको पुनर्बिमा विदेशी कम्पनीले स्विकार गरेका थिएनन्। तर, नेपालको पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँसम्मको पुनर्बिमा व्यहोर्ने भनेर स्विकार गरेको थियो। साथै नेपाल रि–इन्स्योरेन्सले सो रकम भुक्तानी पनि गरिसकेको छ।
पुनर्बिमाको काम पुनर्बिमा गर्ने हो। तर, विदेशीले यसलाई अस्विकार गरेका थिए। भियतनामको कुनै बिमा कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीलाई कुनै ठूलो जलविद्युत् परियोजनाको पुनर्बिमा गर्दिन भनियो भने यसलाई आँखा चिम्लिएर गर्दैनन्। यसमा जोखिम कति छ भनेर हेरिन्छ। विगतमा दाबी परेको छ कि छैन भनेर इतिहास हेरिन्छ। यसका जोखिमका फ्याक्टरहरू हेर्छ। जोखिमको बिमा गर्ने हो तर शतप्रतिशत जोखिम हुने ग्यारेन्टी देखिन्छ भने त्यस्तोको पुनर्बिमा गर्दैनन्। हो, यस्ते कारणले नेपालको कोभिड इन्स्योरेन्सलाई पनि विदेशी पुनर्बिमा कम्पनीले रिजेक्ट गरेका थिए। दिन मानका थिएनन्। नमान्नुको कारण यसको पोलीसी हो। यसमा कोभिड जाँच गरेपछि पोजेटिभ देख्नेबित्तिकै १ लाख रुपैयाँ दिने भन्ने थियो। जस्तोसुकैको पनि कोभिड पोजेटिभ देखिने ट्रेन नै चलेको थियो। बिमितबाट ६ सय रुपैयाँ प्रिमियम लिएर कोभिड लाग्नासाथ १ पैसा दिइहाल्नु पर्नेबित्तिकै कम्पनीहरू टाट पल्टने स्थिती आउन सक्थ्यो। यद्यपि पुनर्बिमा कम्पनीमा ठूलाठूला विद्वान्हरू हुन्छन। उनीहरूले जोखिमलाई सूक्ष्म रूपमा विश्लेषण गरिरहेका हुन्छन्। कोभिड बिमा ल्याउँदा पनि उनीहरूले यो पोलिसिनै ठीक नभएको तर्क गरेका थिए। यसलाई उनीहरूले बिमा पोलीसी मानेका थिएनन।
यसलाई पोलीसीकै रुपमा नहेरेकाले बिदेश पुनर्बिमा कम्पनीले पुनर्बिमा गरेका थिएनन। उनीहरूले यसोभन्दै नगरेपछि अहिले भुक्तानी गर्न नसक्ने अवस्था आएको हो।
पुनर्बिमाका फाइदा
पुनर्बिमाका ४ फाइदा हुन्छन्। बिमा कम्पनीहरूले थोरै पुँजी लगानी गरेर व्यवसाय गर्छन् र असिमित जोखिम धारण गर्छन्। यो पुनर्बिमाको कारणले हो। दोस्रो, जतिसुकै क्षति भए पनि बिमा कम्पनीको नाफामा त्यत्ति धेरै उतारचढाव आउँदैन। कुनै वर्ष क्षति कम हुनसक्छ। कुनै वर्ष क्षति बढी हुनसक्छ। क्षति कम भएको वर्ष बढी नाफा र क्षति बढी भएको वर्ष कम नाफा होला भन्ने हुँदैन। जस्तो भए पनि यस्ता कम्पनीको नाफा स्थिर हुन्छ। स्थिर नाफा हुनुको कारण पुनर्बिमा गरेकोले हो। तेस्रो, पुनर्बिमाका कारण बिमा कम्पनीलाई वित्तीय स्थायित्व कायम हुन्छ। बिमा कम्पनीले धेरै क्षति तिर्नुपर्यो भने पनि वित्तीय प्रणाली धराशायी हँुदैन। यसले विपद् सहने क्षमता राख्छ। चौथो, ठूलाठूला विपद्हरू आउँछन्। दैवीप्रकोपको पनि बिमा गर्ने चलन छ। यसो हुँदा राज्यको भार कम हुन जान्छ। राज्यले आफ्नो कोषबाट धेरै पैसा दिनुपर्ने अवस्था बिमाले कम गर्छ। यसर्थ, पुनर्बिमाका कारण राज्यलाई एक प्रकारको आनन्द पनि हुन्छ।
यसबाहेक पुनर्बिमाका अन्य फाइदा पनि छन्। कुनै बिमा कम्पनीको जनशक्ति राम्रो छैन, गणना गर्न जान्दैन, कती जोखिम आफू राख्ने र कति बाहिर पठाउने भन्ने प्राविधिक क्षमता छैन भने यसको सहयोग गर्ने काम पुनः पुनर्बिमाले गर्छ। यसले प्राविधिक सपोर्ट दिन्छ। जुन बजारबाट व्यवसाय लिएको हुन्छ, त्यसलाई अहिले नेपाल रि–इन्स्योरेन्सले ३९ वटै कम्पनीका सीईओहरू, मेनेजरलगायतका कर्मचारीहरूलाई तालिम दिने, उत्प्रेरणा दिने काम गरिरहेको छ। आर्थिक, प्राविधिक, क्षमता अभिवृद्धि लगायको काम गर्दै आएको छ। यसर्थ समग्रमा बिमा बजारमा पुनर्बिमाको भूमिका अहम हुने गरेको छ।