पुटिनको आंशिक सेना परिचालन घोषणाको विरोधमा मस्कोमा प्रदर्शन, हजारभन्दा बढी पक्राउ
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको घोषणाको विरोधमा रुसका जनताले विरोध गरेका छन्। पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए।
प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ। रुसी मानवअधिकार संगठन 'ओभीडी-इन्फो' का अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ।
मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन्। यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ।
पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको थियो। केही समयपछि नै एउटा उडानमा पनि ठाउँ बाँकी थिएन।
मस्कोको अभियोजकको कार्यालयले बुधबार इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउने वा विरोधमा सहभागी भएमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको छ।
पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। यसअन्तरगत तीन लाख आरक्षित सेना पठाइन्छ।
पुटिनले सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका थिए। पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग गर्ने भनेर व्याख्या गरिएको छ। युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन्। बीबीसी