राउटेका सामान भक्तपुरका बजारमा
भक्तपुर : दैलेखबाट आएका राउटेहरूले बुधबार भक्तपुरमा आएर जंगलमा आफूहरूले बनाएका सामानहरू बेचेका छन्। सहयोगीहरूका साथ तीन जनाको समूहमा आएका उनीहरूले भक्तपुरको प्रसिद्ध पाँंच तले मन्दिरअघि फुटपाथमा आफूहरूले बनाएका सामान बेचेका हुन्। उनीहरूले बनाएका काठका विभिन्न सामानहरू किन्न उपभोक्ताको भीड लागेको थियो। काठबाट बनेका सन्जुक, डाडु, पन्यु, पिर्कालगायतका सामानहरू उनीहरूले बेचेका थिए। न्यूनतम २५० देखिका सामान थिए।
सामान बिक्रीमा बसेका युवा राउटे दीपक शाहीले जनता पाल्न आफूहरू सहरमा सामान बेच्न पुगेको बताए। उनका अनुसार गाउँका १४४ जनाको राउटेका जीवन निर्वाहका लागि सामानहरू बेच्न आएका हुन्। गाउँंकै उही १४४ जनाले बनाएका सामानहरू बेच्न आफूहरू सहर पसेको उनले बताए। उनीहरूले ती सामानहरू एउटा गाडीमा राखेर ल्याएका थिए। बिहानभरिमा उनीहरूले झण्डै सबै सामानहरू बेच्न भ्याएका थिए।
बिहान झण्डै ७ बजेतिर पसल थापेका उनीहरू ११ बजेतिर झण्डै सबै सामानहरू बेचेर हिँडेका थिए। उनीहरूका अनुसार बिहीबार उनीहरूले त्यस्ता सामानहरू काठमाडौंमा बेच्ने छन्। उनीहरूको सामान सहरमा बेच्नका लागि एक गैरसरकारी संस्थाले समन्वयको भूमिका खेलिदिएको बताइएको छ। ती ३ राउटेलाई ल्याएर सामान बेच्न लगाइएको थियो।