सबै गैंडाका फरक–फरक नाम

सबै गैंडाका फरक–फरक नाम

गुलरिया : मानिसको जस्तै गैंडाको नाम राखिएको भन्दा अचम्म लाग्न सक्छ तर बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका ३८ वटै गैंडाको नाम राखिएको छ। पहिचान र अनुगमनमा सहजता ल्याउन शारीरिक चिन्हका आधारमा निकुञ्जका सबै गैंडाहरुको नामाकरण गरिएको हो। 

    
लिंडे भाले बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको रैथाने गैंडा हो। पुच्छर नभएकोले यसलाई लिंडे नाम दिइएको छ। रौं काने पोथी पनि निकुञ्ज भित्रकै स्थायी गैंडा हो। पोथी गैंडाको कानमा रौं भएकाले यसको नाम रौं काने पोथी राखिएको छ। खाग टुटली पोथी बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको पुरानो गैंडा हो। खाग टुटेको हुनाले यसको नाम खाग टुटली पोथी राखिएको हो। 

बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा पाइने गैंडाहरुका यस्तै यस्तै नाम छन्। गैंडाको नामाकरण गर्न भुमिका खेलेका राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले भने, 'सबै गैंडाको नामसँगै आईडी पनि दिएका छौं। आइडी तथा नामकै आधारमा गैंडाहरुको पहिचान गरिन्छ।' 

'पहिचानका आधारमा प्रत्येक गैंडाको नियमित अनुगमन गर्छौं। बर्दिया राष्ट्रिय निकुञ्जमा चितवनबाट हालसम्म ९१ वटा गैंडाहरु स्थानान्तरण भैसकेका छन्। तत्कालीन द्वन्दमा धेरै गैंडाहरु चोरी शिकारीबाट मारिएका छन्। पछिल्लो समय बर्दियामा गैंडा संरक्षणमा धेरै सुधार भएको छ', उनले थपे, 'सन् २००८ देखि बर्दियामा गैंडाको शून्य चोरी शिकार भएको छ। हात्तीको लागि लगाइएको इलेक्ट्रिक तारबारले गैंडालाई पनि रोकथाम गरेको छ। गैंडा र मानवबीच द्वन्द पनि छैन। ७ ओटा गैंडा बबईमा, ५ ओटा गैंडा खाताको डल्लामा र अन्य गैंडाहरु कर्णाली तटीय क्षेत्रमा छन्।' 
    
अघिल्लो गणना अनुसार चितवनमा ६०५, बर्दिया २९, शुक्ला ८, पर्सामा ३ गरी ६४५ वटा गैंडा थिए। पछिल्लो पटक विक्रम सम्बत् २०७७ चैत्र महिनामा गरिएको गैंडा गणनाको नतिजा अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटा १७, पर्सा ३ गरी ७ सय ५२ वटा एकसिंगे गैडा छन्। बर्दियामा बबई उपत्यका, कर्णाली नदी तटीय क्षेत्र र खाता जैविकमार्ग डल्लामा गैंडाहरु पाइन्छन्। केही गैंडाहरु खाता जैविकमार्ग भएर भारतको कर्तनियाघाट बन्यजन्तु आरक्षमा आउजाउ गर्छन्। एनटीएनसी प्रमुख डाक्टर कडरियाका अनुसार ५ ओटा जति गैंडा भारतको कर्तनियाघाट बन्यजन्तु आरक्षमा स्थायी बसोवास गर्दै आएका छन्। त्यस बाहेकका केही गैंडाहरु आउजाउ मात्र गर्छन्।
    
नेपालका गैंडाहरु भारतीय आरक्षमा आवागमन गर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए। 'निकुञ्जका ४ ओटा गैंडामा रेडियो कलर गरी हामीले अनुगमन गर्दा केही गैंडाहरु भारतीय जंगलमा लामो समयसम्म बस्ने गरेको पाएका छौं। कुनै जाने आउने मात्र गर्छन्', उनले भने। बर्दियामा गैंडा संरक्षण राम्रो भएको उनले दोहोर्‍याए। चोरी शिकार तथा हिउँदमा गेरुवामा पानीको कमी समस्या भएको उनको भनाइ छ। अरु समस्या नभएको र निकुञ्ज भित्र पानीको घोल लगाएर घाँसे मैदान ब्यवस्थापन गरेका उनले बताए। घाँसे मैदान ब्यवस्थापनलाई भने आर्थिक समस्या भएकोले थोरै बजेटमा धेरै घाँसे मैदान ब्यवस्थापन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
    
'निकुञ्ज भित्रको बबई उपत्यकामा गैंडाको संख्या त्यति बढाउन सकिएको छैन', उनले थपे, 'अझै गैंडा स्थानान्तरण गरी थप गर्न सके बबई उपत्यकामा रहेका गैंडाहरु वृद्धि गर्न सकिन्छ। अन्यथा कर्णाली नदी तटिय क्षेत्रमा बबईका गैंडाहरु स्थानान्तरण गर्नु उपयुक्त हुन्छ।'

एक वर्षको अवधिमा बबई उपत्यकामा एउटा मात्र गैंडा जन्मिएको छ। यसैबीच एउटा जुधेर मरेको अधिकृत भण्डारीले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका रैथाने लोपोन्मुख गैंडा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.