विस्मृतिबारे जानौं, बुझौं
वृद्ध हुनु भएका बा–आमाहरू
विस्मृति रोगले गाँजेको बुझौं
माया र सद्भावले स्याहार गरौं।
अल्जाइमर्स डिजिज इन्टरनेसनलले हरेक वर्ष अल्जाइमर दिवस वार्षिक नारामा आधारित भएर मनाउने गर्छ। यस वर्ष (सन् २०२२) ‘नो डिमेन्सिया, नो अल्जाइमर्स’ अर्थात् ‘विस्मृति रोगबारे जानौं र बुझौं’ भन्ने नारासहित २९औं विश्व अल्जाइमर चेतना दिवस मनाइएको छ। जुन वंशकै स्मरण शक्तिको विनाशकारी रोगको रूपमा फैलिरहेको छ। यसको लक्षण थाहा पाउन मात्र २० वर्षभन्दा वढी समय व्यतित भइसक्यो। अल्जाइमर असह्य खालको साथै एउटा डरलाग्दो रोगको रूपमा विश्वमा देखिँदै आएको छ। विस्मृति रोगसँग संघर्ष गरिरहेका एवं समस्यामा जेलिएका ती उमेरदार वा परिवारलाई चुनौतीपूर्ण अवस्थाका बारेमा पनि जानकारी दिइनेछ।
विश्वभरका मानिस विश्व अल्जाइमर दिवसलाई यस रोगका विरुद्धमा चेतना फैलाऊँ भन्ने नाराका साथ अघि बढेका छन्। यो कस्तो देखिन्छ ? अल्जाइमरलाई सामना गरेर कसरी बाँच्न सकिन्छ ? भन्ने पनि अनेकन् सवाल आदि छन्। अल्जाइमर दिमागका सेललाई विनाश गर्ने वा मार्ने एउटा बढ्दो रोग हो। यो रोगले बिरामी मात्रलाई असर नपारेर पूरै परिवारमा मौन शैलीको अभौतिक तथा अदृश्य चुनौती ल्याउँदै छ। हालैको तथ्यांकअनुसार विश्वमा भारतको मात्रै ५० लाख मानिस यसका सिकार भएका छन्। तीमध्ये ७० वर्षभन्दा माथिका मानिसलाई यो रोगले बढी पिरोलेको देखिन्छ। ३०–६० वर्ष उमेरका समूहमा पनि यसको आक्रमण उत्तिकै घातक हुन सक्ने देखिन्छ।
विस्मृतिबारे चेतना जगाउने, सन्देश फैलाउने र कसरी यो रोगबाट सबै मानिसलाई मुक्त गराउनेमा लाग्नु पर्ने देखिन्छ। यस वर्षको योजना र नाराको सार्थकताका लागि गत वर्षभन्दा अलग किसिमबाट निम्नलिखित काम गर्नु पर्नेछ। विश्वका हरेक कुनाबाट मानिस जम्मा भएर चेतना वृद्धि गर्नुपर्छ। व्यक्तिदेखि हरेक समूहलाई समावेश गर्दै अल्जाइमर र डिमेन्सियासित सम्बन्धित संघसंस्थालाई पनि समावेश हुन आह्वान गर्दै अल्जाइमरबारे चेतना जगाउनु पर्नेछ। २०१९ को विश्व अल्जाइमर चेतना दिवसमा दिइएका जानकारीअनुसार धेरै मानिसलाई विस्मृति रोगबारे गलत धारणा छ। जसअनुसार उनीहरूले यसलाई ज्येष्ठ नागरिकहरूको सामान्य रोगको रूपमा लिएका छन्।
जनजागृति अभियानले विस्मृति रोगसम्बन्धी जनसमाजमा चेतना जगाउँछ र यसको रोकथाममा जोड दिन्छ। कोभिड—१९ ले ग्रस्त विश्व जनसमाजले डिमेन्सिया रोगको प्रभावबारे अझ सचेत हुनुपर्छ भन्ने कुराको निरन्तरता र पहल कदमी पनि गर्ने छ। यसरी नै २०२२ को चेतनामूलक अभियानले रोग लाग्न पहिले नै रोकथाम गर्नुपर्छ भन्ने कुरामा जोड दिनेछ। २०२२ को चेतनामूलक अभियानले अल्जाइमरबाट हुने विस्मृति रोगको बारेमा नयाँ यात्रा योजनाको तर्जुमा गर्दै विस्मृति हुनुअगाडि नै रोकथामको चेतना फैलाउने छ। ‘जुटेर मात्र हामी केही गर्न सक्छौं’ भन्ने जानकारी दिँदै यस अभियानमा धेरै मानिसलाई आबद्ध हुन आह्वान गर्दछौं।
२०१९ को अल्जाइमर दिवसको प्रतिवेदनअनुसार यस रोगबाट छुटकारा पाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेछ। नत्र पहिलेजस्तै विस्मृति रोगबारे जनसमाजमा सामान्य प्रभाव मात्रै पर्ने देखिन्छ। मानिस, परिवार वा समुदायमा र सरकारलाई समेत अन्तर्राष्ट्रिय रूपले चेतना जगाएपछि जनसमाज बीचमा राम्रो प्रभाव पर्नेछ। यस रोगबाट बच्न प्रशस्त सहयोगी हातहरू प्राप्त हुनेछन्। हरेक व्यक्ति फरक भएको कारणले विस्मृति रोग पनि हरेकमा फरक किसिमले देखिन्छ। यतिसम्म कि कुनै पनि दुईजना मानिसको बीचमा डिमेन्सियाको लक्षण मिल्दैन। यसरी नै यसका लक्षण पनि मिल्दैनन्। अतः यो अल्जाइमर रोगले फरक मानिसमा फरक किसिमको लक्षण देखाउने गर्दछ।
लक्षणका हिसाबले यो रोगका निम्नलिखित तीन अवस्था र सोहीअनुसारका लक्षण हुन्छन्। लक्षणहरूको हिसाबले यो रोगलाई कम कडा (माइल्ड स्टेज), अलि कडा (मोडरेट स्टेज) र अति कडा अवस्था (सिभियर स्टेज) गरी तीन अवस्थामा वर्गीकरण गर्न सकिन्छ। कम कडा अवस्था प्रारम्भिक अवस्था हो। स्मरण शक्तिमा क्रमिक रूपमा ह्रास हुनु, चिनेको मानिस, आफन्त, नातागोता एवं ठाउँहरू चिन्न समस्या हुनु, पहिलेदेखि गरिआएको काम गर्न पनि पहिलेको दाँजोमा धेरै समय लिनु, कारोबार एवं व्यवसाय गर्न समस्या हुनुजस्ता लक्षण देखिन्छन्। यस्तै क्रमिक रूपमा गलत किसिमका निर्णय गर्दै जानु र व्यवहार र व्यक्तित्वमा क्रमिक परिवर्तन हुँदै जानुजस्ता लक्षण कम कडा अवस्था (माइल्ड स्टेज) मा देखा पर्छन्।
यस्तै, यस्तो समस्या क्रमिक रूपमा बढ्दै गएर परिवार भित्रैका सदस्य चिन्नमा समस्या हुनु, पढाइलेखाइ सामान्य गन्ती–गणना गर्ने र गणितीय काममा समस्या देखिने पनि हुन्छ। नयाँ कुरा र काम गर्न समस्या हुनु, दिनहुँ हिँडिरहेको बाटो बिराउनु, बिर्सनु, एउटै कुरा दोहोर्याइरहने पनि हुन्छ। साथै शंका गर्नु, नभएको कुरा देख्नु, सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु, सामाजिक रूपमा आपत्तिजनक काम, व्यवहार भाषा प्रयोग गर्नु दोस्रो अवस्थाका लक्षणहरू हुन्।
तेस्रो चरण अति कडा अवस्था हो। जसमा पहिलेका लक्षणहरू क्रमिक बल्झिँदै जानुका साथै थप समस्या देखा पर्छन्। खानाखा, चपाउन, निल्नमा क्रमिक रूपमा समस्या आई सर्केर हुने निमोनियाबाट बिरामी बारम्बार पीडित भइरहने, तौल घट्दै जाने, आलस्य र निद्रा बढ्दै जाने हुन्छ। दिसापिसाब नियन्त्रण गर्न असमर्थ हुनु, कपडा बिस्तारामै दिसापिसाब हुनु, अस्पष्ट रूपमा आवाज निकाल्नु, बिस्तारामै सीमित भई सोसम्बन्धी जटिलता बढ्दै जानु यस अवस्थाका विशेष, दारुण र दुरुह लक्षण हुन्।
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन। खाली चिकित्सकले संस्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउने छन्। नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गतिलाई केही हदसम्म मत्थर पार्न सक्छन्। जीवनशैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावनालाई घटाउन सक्छन्। सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुने खालका काममा लाग्नाले तपाईंको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ। सँगै रक्तसञ्चार प्रणालीलाई चुस्त दुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नुबाट जोगाउन सहयोग पुर्याउँछ। चिल्लो पदार्थ कम भएको सागसब्जी र फलपूmल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो। मेडिटेरियन आहारलाई अल्जाइमर रोग हुन नदिने राम्रो आहारका रूपमा लिइएको छ।
उल्लिखित लक्षणहरू नयाँ तर विस्मृतिका लक्षण हुन्। विस्मृति रोग कुनै पनि व्यक्तिलाई सामान्य होइन। उमेरको उकालो लाग्दै गर्दा यदि यी माथिका लक्षण दैनिक जीवनमा देखिन्छन् भने डाक्टरसँग परामर्श लिनुपर्छ। अल्जाइमर र विस्मृति रोगसँग सम्बन्धित संघसंस्थासँग जानकारी लिनुपर्छ। जसले चाँडै रोगको किटान हुनुका साथै निदानको उपाय पनि निस्किन सक्छ।
लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको अध्यक्ष हुन्।