मिटरब्याजी अनुरुद साह जेल चलान
काठमाडौं : गरिबलाई उठीबास लगाउने मिटरब्याजी अनुरुद साहलाई अदालतले पुर्पक्षका लागि जेल पठाएको छ। पीडित चन्द्रकला महरा (चमार)सहितको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। त्यसपछि जिल्ला अदालत महोत्तरीमा सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले बुधबार मिटरब्याजी साहलाई कारागार पठाउन आदेश दिएको स्रेस्तेदार मदनप्रसाद जयसवालले बताए।
भंगहा नगरपालिका—५ सीतापुरकी ६० वर्षीया चन्द्रकला महरा (चमार)ले नाति बिरामी भएपछि साहसँग ५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। ५ हजारको १ लाख २५ हजार बुझाउँदा पनि साहले ६ लाख ३० हजार अझै रकम तिर्नुपर्ने भन्दै अदालतमा मुद्दा दिएका थिए। चन्द्रकलाले त्यो रकम तिर्न नसकेपछि साहले ३ कट्ठा जग्गा हडपे। साहुले अन्याय गरेको भन्दै गाउँमा न्याय खोज्दा उल्टै मुद्दा हालेर चन्द्रकलाका पति रामचोलनलाई जेल पठाए। उनका पति लेनदेनको मुद्दामा एक वर्षको कैद भुक्तानी गर्न सात महिनादेखि जलेश्वर कारागारमा छन्।
चन्द्रकला न्याय माग्दै माइतीघरमा धर्ना बसेर हालै मात्रै घर फर्केकी थिइन्। निशर्त पतिलाई जेलबाट छोड्नुपर्ने, हडपेको जग्गा फर्काउनुपर्ने र मिटरब्याजीलाई कडा कारबाही गरी जेल हाल्नुपर्ने पीडितको छ। मिटरब्याजी साहबिरुद्ध पीडित चन्द्रकलासहित १९ जनाले जिल्ला प्रहरी उजुरी हालेका थिए। साहलाई प्रहरीले एक महिनाअघि पक्राउ गरी अनुसन्धान थालेको थियो।
सरकारले गठन गरेको अध्ययन कार्यदलले मिटरब्याजीलाई अपराधीको सूचीमा राखेको छ। चन्द्रकलाजस्ता कैयौं गरिबलाई मिटरब्याजी साहले रुवाउँदै आएका थिए।
चन्द्रकलालाई न्याय दिन माग
साहले चन्द्रकलालाई गरेको अन्याय र ठगीबारे अनुसन्धान प्रतिवेदनमा प्रहरीले उल्लेख गरिएको एसपी पंगेनीले बताए। ‘चन्द्रकलालाई क्षतिपूर्तिसहित न्यया दिनुपर्छ भन्ने दाबी हामीले गरेका छौं’, उनले अन्नपूर्ण पोस्टसित भने।
मिटरब्याजी साहले गरिबलाई ठगेर बिल्लबाँठ पारेको प्रहरी अनुसनधानले देखाएको छ। ‘उनी (साह) पैसाका लागि जे पनि गर्ने रहेछन्,’ एसपी पंगेनीले भने,‘गरिबहरूलाई ऋण दिने, पैसा असुल्ने, जग्गा पनि खाइदिने अनि गराएको तमसुक पनि नच्यात्ने उनको प्रवृत्ति छ।’
लेनदेनका झन्डै ३ सय उजुरी प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए। ‘उजुरीमाथि अध्यन भइरहेको छ। प्रमाणका आधारमा दोषी देखिएका साहुलाई मुद्दा दर्ता गरिएको छ’, उनले भने, ‘चन्द्रकलाका श्रीमान्को हकमा मौजुदा कानुन प्रक्रियाले जेलबाट छुटाउन नमिल्ने खालका छन्। सरकारले थप केही विधी र प्रक्रिया अबलम्बन गरेभने छुट्न सक्छ।’
मिटरब्याजीका नाममा ९३ बिघा
महोत्तरीको भंगहा—५ सीतापुरका मिटरब्याजी साहविरुद्ध प्रहरीले चारवटा मुद्दा चलाएको छ। ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर र संगठित अपराध शीर्षकमा फरक फरक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी चन्देश्वर यादवले बताए। थोरै ऋण दिएर धेरैको तमसुक बनाई साहु साहले गरिबलाई ठग्दै आएका थिए। फर्जी तमसुकका आधारमा घर, घडेरी, खेत हडपेर उनी रातारात धनी भएको प्रहरीले प्रमाण फेला परेको छ।
डीएसपी यादवका अनुसार प्रहरीले गरेको खानतलासीमा बरामद भएको तमसुकको आधारमा मिटरब्याजी साहसँग ९३ बिघा जग्गा रहेको देखिएको छ। जसमध्ये उनका नाममा २३ बिघा १७ कट्ठा जग्गा छ। तमसुक र उनको नाममा देखिएका जग्गाका कित्ताहरू महोत्तरी, धनुषामा छन्। केही सर्लाहीमा छन्। उनको मुस्किलले पाँच बिघा पैतृक सम्पत्ति रहेको पीडित बताउँछन्। गरिबबाट हडपेको जग्गाजमिन साहले आफन्तका नाममा पास गराएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। त्यसकारण उनका भाइसहित आफन्तजनलाई पनि प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।
‘चन्द्रकला महरासहित १९ जनाले दिएको जाहेरीका आधारमा चलाइएको मुद्दामा मिटरब्याजी साहसहित उनको परिवारका ८ जनालाई प्रतिवादी बनाएका छौं’, उनले भने, ‘हामीले साहबिरुद्ध परेको जाहेरीमा मेहनत गरेर पूर्ण अनुसन्धान गरेका छौं।’ संगठित अपराधका रूपमा साहबिरुद्धको मुद्दालाई अनुसन्धान गरिएको उनले बताए। अन्य प्रतिवादीमा वृजनन्दन साह तेली भनिने विजनन्दन साह, गीता साह, बन्दना साह, लक्ष्मण साह तेली, रामएकवाल सिंह, बलराम साह, लक्ष्मिनियादेवी साह र पार्वतीदेवी तेलिन छन्। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिने जयसवालले बताए। मिटरब्याजी साहविरुद्ध अझै १६ वटा उजुरीमा प्रहरीले अनुसनधान गरिरहेको छ। ‘उनीविरुद्ध थप निवेदनहरू पनि आएका छन्। हामी केलाउँदै छौं’, एसपी पंगेनीले भने ।