संविधानको अपमान गरेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र
काभ्रे : संविधानको अपमान गरेको भन्दै काभ्रेका सत्ता गठबन्धनका युवाहरूले राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
युवाहरूले सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपाली कांग्रेस निकट नेपाल तरुण दल, नेकपा माओवादी निकट वाईसीएल र समाजवादी पार्टीका युवा संघ नेपालका युवा जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
युवा संगठनहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै गम्भीर रूपले प्रहार गरेकाले ज्ञापन पत्र बुझाएको तरुण दलका जिल्ला अध्यक्ष सुजन लामाले बताए।
राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको भन्दै ज्ञापन पत्र बुझाएको वाइसिएल काभ्रे जिल्ला अध्यक्ष लनम दोर्जे लामाले जानकारी दिए।
राष्ट्रपतिको जनविरोधी कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुवाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका युवा संघ कभ्रेका इन्चार्ज ईश्वार बन्जाराले बताए।
नागरिकताविहीन नेपाली नागरिकहरूलाई नागरिकता प्राप्त गर्ने सवैधानिक अधिकार बञ्चित गरेको वाईसीएल काभ्रे इन्चार्ज प्रदिप लामाले जानकारी दिए।