फरैनाको सेरोफेरो

फरैनाको सेरोफेरो

जीवन गतिशील छ। जीवनको गतिसँगै दौडिने सिलसिलामा कैयौं उकालीओराली पार गर्नुपर्छ। अनि उचाइ र गहिराइ नाप्दै थुप्रै क्षितिज नियाल्दै आफ्नो गन्तव्यमा पुग्न कति कठिनाइ भोग्नु परेको हुन्छ। यात्राको क्रममा आफ्नै अगाडि गजधुम्म उभिएको एउटा पहाडसँग प्रश्न सोध्न मन लाग्यो। त्यही पहाड हो तलबाट हेर्दा अत्यन्तै उकालो देखिन्छ अनि माथिबाट हेर्दा ओरालो देखिन्छ। अनौठो अनुभूति हुन्छ। जिन्दगी पनि यस्तैयस्तै महसुस हुन्छ। उचाइ के हो ? गहिराइ के हो ? कुन महŒवपूर्ण हो ? जीवन गहिराइमा अर्थपूर्ण छ कि उचाइमा ? यसको आयतन वा फैलावटको मापन कसरी हुन्छ ?

हिँड्दै जाँदा जीवनको यात्रामा भेटिएको एउटा सामाजिक प्रश्नको उत्तर लेख्ने क्रममा यो उपन्यासको सिर्जना भएको हो। जसलाई फरैना नामकरण गरेको छु। फरैना शब्दको अर्थ के हो ? फरैना नामकरण किन गरियो ? यो उपन्यास अध्ययन गर्नेहरूका लागि छोडिदिएँ। ठ्याक्कै यसै दिनदेखि भन्न त सक्दिनँ तर जब मेरा आँखाले बिस्तारै रङहरू छुट्ट्याउन सक्ने भएका थिए, त्यतिबेला मैले देखेको एउटा मानस विम्ब मेरो हृदयमा वर्षौंदेखि खेलिरहेको थियो। जसले मन मस्तिष्कमा ठूलै तरंग उत्पन्न गराइरह्यो। त्यहाँबाट बाहिर निस्किनै दिएन। शान्त बगिरहेको नदीको बीचमा भुँमरी परेझैं मलाई पनि भुँमरीमा पारिरह्यो। शान्त तरिकाले निदाउन दिएन। जहिल्यै उद्वेलित बनाइरह्यो। ती घटना र परिदृश्यले मभित्र छाल उत्पन्न गराइरहे जसरी शान्त तलाउमा पनि बेलाबेला पानीको छाल उठिरहेको हुन्छ।

म जन्मिएको, हुर्किएको समाजमै हजुरआमाको उमेरकी महिला देखें। उनी अर्धवस्त्रमा थिइन्। पछिसम्म अर्धवस्त्रमै देखिरहें। जाडो, घाम, बर्सात् जुनसुकै समयमा उस्तै देखिरहें। उमेरको बहावले हातखुट्टाका चाउरी परेका छालामा बेस्सरी पोतिएको कालो रङ व्याप्त देखें। लुगाफाटोले ढाकिनु पर्ने त्यो शरीरमा कालो रङ किन पोतिएको होला भन्ने प्रश्न मनमा उब्जियोे। हातखुट्टामा स्थायी रूपमा पोतिएको कालो रङ जसलाई टाटु नामले परिभाषित गरिएको सन्दर्भ मैले वर्षौंपछि बुझैं। जतिबेला मैले देखेकी वृद्ध महिलाको भौतिक अस्तित्व यो संसारमा बाँकी थिएन। तर, उनका छोरी र नातिनी पुस्तामा भने यसरी नै हातखुट्टामा पोतिएको कालो रङ चाहिँ कायमै थियो।

मानिस बाध्यताले रंगिनु र रहरले रंगिनु फरक सन्दर्भ हो। विवशताले च्यात्तिएको कपडा लगाउनु र रहरले च्यातेर लगाउनु फरकफरक लाग्यो। अभावले आधापेट खानु र रहरले व्रत बस्नु पनि फरकफरक लाग्यो। यी सबै परिस्थिति आँखाअगाडि चर्खेपिङजस्तै फनफनी घुमिरहेनिरन्तर। हेर्दाहेर्दै अग्ला घरहरूको बीचमा केही भुइँघर पनि थिए। आखिर मानिस सबै मानिसनै हुन्। घरहरू किन अग्लाहोचा हुन्छन् होला ? समान उमेरका बालबालिका स्कुल पढ्न जाँदा भुइँघरका बालबालिका तिनैका झोला र खाजा बोकेर केवल छोड्न र लिन गएको दृश्य देखिरहें। भुइँघरका बालबालिका स्कुल जाने समयमा गोठालो गइरहेका हुन्थे। ती कतिपय भुइँघर हिउँदमा आगोले नष्ट हुन्थे भने वर्षामा झरीले भत्किन्थे। भोक, प्यासको समस्या पनि त्यहाँ उस्तै हुन्थ्यो। संसार विकासको गतिमा धेरै अगाडि पुग्यो। यद्यपि, मैले सानोमा देखेका ती बस्तीहरूले सामाजिक, आर्थिक एवं शैक्षिक रूपमा अझै पनि कुनै उचाइ प्राप्त गर्न सकिरहेका छैनन्।

रातको प्रहर ढल्कँदै गएपछि अग्ला घरका सबै सदस्य मस्त निदाउँछन्। गोठका वस्तुभाउ पनि निदाउँछन् तर मनभित्र उत्पीडनको ज्वाला दन्किरहेका थुप्रै फरैनाहरू आधा रातसम्म निदाउन सक्दैनथे। थुप्रै फरैनाहरू वास्तवमा शारीरिक, मानसिक एवं व्यावहारिक तवरले व्याप्त शोषण र अत्याचारको पराकाष्ठा सहेर बाँचिरहेका थिए। कोही मस्त निदाउने कोही छट्पटीमा अनिँदो बाँच्नुपर्ने किन होला ? आखिर निद्रा, भोक, प्यास सबैको उस्तै हो।

आफूले सानै छँदादेखि देखेका ती दृश्यहरूले निरन्तर घच्घच्याइरहे। मनमा अनेकौं प्रश्नहरू उब्जिरहे। जीवनको दौडमा मेरो कर्मसंगीत क्षेत्रतर्फ व्यस्त रह्यो। संगीत मेरो जीवनयापनको आधार हो। संगीतको यात्राबाट टाढिएर कुनै अर्को बाटो समाउन र रमाउन सक्ने अवस्था थिएन र छैन। सांगीतिक यात्राको क्रममा यस्तैयस्तै सयौं घटनामाथि लेखिएका शब्दहरूमा संगीत सिर्जना गरेर सामाजिक जागरणको कार्यमा अग्रसर भइरहें। तथापि, सानोमा आफूले प्रत्यक्ष देखेका ती विषय सन्दर्भ भने मनमस्तिष्कमा उकुसमुकुस भइरहे। त्यसैलाई अभिव्यक्त गर्न यो उपन्यासको सहारा लिएँ।

संगीत सिर्जनाको क्रममा गीतकारहरूले लेखेका गीतमा वा उहाँहरूसँगको प्रत्यक्ष भेटमा केही यस्तै घटना सुन्दा यिनै घटनाले तीव्र गतिमा पिरोल्न थाल्थ्यो। मनमा रहेका घटनालाई लिपिबद्ध गर्न नसक्नु अत्यन्तै पीडादायी महसुस गर्दथें। सबै कुराका लागि अनुकूल समय मिल्न वा मिलाउन पनि गाह्रै हुँदो रहेछ। हिमालबाट पग्लिने हिउँ एकैपटक महासागरमा पुग्न नसकेकोजस्तै भान भइरहन्थ्यो।

उपन्यासमा नामकरण गरेको पात्र फरैनालाई थुप्रै शोषित पीडित नेपाली नारीको एक प्रतिनिधिमूलक पात्र रूपमा उभ्याएको छु। रहरले भरिएको सुन्दर जीवनलाई कुल्चिँदै भोक, प्यास, पीडा र अभावहरू झेल्दै उज्यालो भविष्यका लागि यात्रारत कैयौं फरैनाहरू अझै पनि यो समाजमा गुमनाम नै भएको महसुस गरिरहें। तिनका अठोट र आत्मविश्वासमा सुनौला रङ भरिन बाँकी नै रहेकोे प्रष्ट देखिन्छ। मनमा दृढ संकल्प बोकेर बाधाहरू छिचोल्दै अघि बढ्ने काम कति कष्टकर छ भन्ने कुरा फरैनाको माध्यमबाट आख्यानीकरण गरी देखाउन खोजेको छु। लगनशीलता, धीरता र निरन्तरताले मानिसलाई उन्नतिको शिखरमा पुर्‍याएरै छाड्छ भन्ने सन्दर्भको उद्घाटन फरैनामार्फत गरेको छु।

रातको प्रहर ढल्कँदै गएपछि अग्ला घरका सबै सदस्य मस्त निदाउँछन्। तर, मनभित्र उत्पीडनको ज्वाला दन्किरहेका थुप्रै फरैनाहरू आधा रातसम्म निदाउन सक्दैनथे।

जीवनमा आउने कैयौं कठिन संघर्षलाई पार गर्दै अगाडि बढ्दै जाँदा सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै समाजमा निरुत्साहित जीवन बाँचिरहेका शोषित पीडित नारीहरूलाई उत्साहित जीवन बाँच्न प्रेरित गर्न सकियोस् भन्ने लेखकीय अभिलाषा हो। समाजका हरेक मानिस आफैंमा एउटा–एउटा उपन्यास हुन् तर ती कथाव्यथा कसले लेख्ने र कहिले लेख्ने ? धेरै घटना लेखकको पर्खाइमा प्रतीक्षारत हुन्छन्। कसैले लेखिन पाउँछन्, कोही चाहिँ लेखिन नपाएरै आफैंसँग बिदा भएर जान्छन्।

समाजमा जस्तो समस्या देखियो त्यही कुराको समाधान खोज्ने कुनै उपाय भेटिन्छ कि भन्ने अभिप्रायअनुरूप आफ्नो कलम चलाउने प्रयास गरेको हुँ। गतिशील कलमलाई केवल कल्पनाको बाटोमा दौडाउनुभन्दा पनि जीवित समाजले भोगिरहेका वास्तविक घटना लिपिबद्ध गर्नु लेखकीय धर्म पनि हो जस्तो मलाई लाग्यो। जीवनका सदैव दुई पाटा जोडिएका हुन्छन्। एउटा संघर्ष र अर्को सफलता। संघर्ष नगरी सफलता प्राप्त हुनै सक्दैन। त्यसैले यिनलाई एक अर्काको पर्याय पनि मान्ने गरिएको छ। नआत्तिएर धैर्य कायम राख्दै अगाडि बढ्दा एकदिन अँध्यारो बस्तीमा पनि ज्योति बाल्न सकिन्छ। जसरी आँखाले देख्न गाह्रो हुने धमिरा किराहरूले भयंकर देवल उभ्याउन सफल हुन्छन्।

संगीत यात्राको एउटा पाटोलाई केही समय थाती राखेर उपन्यास लेख्नु मेरा लागि त्यति सहज अवस्था थिएन। यसको सम्पूर्ण पाटोलाई सुन्दर ढंगले लिपिबद्ध गर्ने सुनौलो समय मिलाउन सकिरहेको थिइनँ। मेरो सांगीतिक यात्रा पनि त्यति सहज थिएन। अनेकौं कठिन परिस्थितिसँग जुध्दै यहाँसम्म आइपुगेछु। संगीत पनि गहन साधनाको बाटो हो। यसमा पनि अत्यन्तै आरोह–अवरोह पार गर्नुपर्ने हुन्छ। भीडैभीडको बीचमा मौलिक परिचय बनाउन सोचेजस्तो सहज छैन। गीत सुन्दा आनन्द आएजस्तो सांगीतिक यात्रा हुँदैन।

फरैना लेख्दासम्म एकल संगीतमा ४१ गीति एल्बम संगीतबद्ध गर्न भ्याएँछु। थुप्रै फुटकर गीतमा पनि संगीत र स्वर मिसाउँदै आएँ। फरैनाभित्र समेटिएको गीतमा आफ्नै संगीत र स्वरमा राखेको छु। विश्वका ५० देशका ५० भाषाका गीतमा संगीत गरेर विश्वकीर्तिमान कायम गर्ने अवसर पाएँ। यस्तै थुप्रै काम गर्दै गर्दा समय पटकपटक प्रतिकूल भइरहन्थ्योे। कुनै दिन यस्तो आयो जब समग्र मानव सभ्यताको खिल्ली उडाउन थालेझैं भयोे। अर्थात् विश्वव्यापी कोरोना कहरकै सिलसिलामा पहिलो एकान्तबासमा १० महिना दाङमा बसें। उपन्यासलाई पूर्णता दिएँ। एकान्तबास पनि कुनै समय त प्रिय मौसमजस्तो बनेर आउँदो रहेछ।

फरैनाका अनुच्छेदहरूको आविष्कार हुँदै जाँदा यस्तै सुखद अनुभूति भयो। लाग्यो, विराट धर्ती निर्धक्क हिँड्न सक्ने र खुला आकाश स्वतन्त्र पन्छीजस्तै उडान भर्न सक्ने वातावरण बनोस्। लागेको छ, पिँजडाभित्र थुनिएर असाध्यै कष्टकर जीवन बाँच्न बाध्य नपारियोस्। यस्तै भावले हृदयको कुनामा कताकता निवेदन गरिरह्यो। मस्तिष्कमा घुमेको विचार र चेतनाका अक्षरलाई औपन्यासिक शिल्पमा लिपिबद्ध गरिरहें। फलतः फरैनाले पूर्णता प्राप्त गर्‍यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.