लोसपा संसदीय दलका प्रमुख सचेतकलाई एमाले प्रवेश गराउन ओली धनुषामा
जनकपुरधाम : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने होडबाजी चलिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन केपी शर्मा ओली धनुषा आएका हुन्।
शनिबार धनुषाको बिदेह नगरपालिका तिनकौरियामा नेपाल कम्युनिष्ठ पार्टी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सचेतक अरगरियालाई पाटी प्रवेश गराउन लागेका हुन्। ओली कार्यक्रममा जाँदा उनलाई जनकपुरधाममा जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै युवाहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाएका हुन्। काठमाडौंदेखि प्लेनमा जनकपुरधाम पुगेका ओली रेल चढ्न रेल्वे स्टेशन जाँदै गर्दा बाटोमा उनलाई युवाहरुले कालो झण्डा देखाएका हुन्।
यसअघि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट अरगरिया महन्त ठाकुरको लोसपामा प्रवेश गरेका थिए।