एमाले सरकार बनेपछि मात्र देशमा विकासले गति लियो : ओली
जनकपुरधाम : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारले रेल र हुलाकी राजमार्गको काम अगाडि बढाएको बताएका छन्। पार्टी प्रवेश कार्यक्रममा आएका ओलीले जनकपुरधामबाट-महिनाथपुरसम्म रेल यात्रासमेत गरेका थिए।
‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं। खुसी नलाग्ने कुरै भएन। यो अत्यन्तै खुसीको कुरा हो। यो हाम्रो रेल हो, त्यसैले धेरै खुसी छु,’ उनले भने। ओलीले एमाले सरकार बनेपछि मात्र यस्तो विकासका नमूनाहरुले देशमा गति लिएको दाबी गरे।
‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ ओलीले भने, ‘अहिले १ लाख ८५ हजार मधेसको जमिन सिचाईंमा सदुपयोग भइरहेको छ। देशले यो सबै उपलब्धि एमालेकै सरकारको पालामा पाएको हो।’
अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर देश विकासको हिसाबले देशमा टेवा पुगेको दाबी गरे।
रेलमा यात्रा गर्ने क्रममा अध्यक्ष ओली तथा एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कूल १४२ वटा टिकेट काटेका थिए।