न्यूरो सर्जन डा. रोक्काको '१०८ कविता संग्रह' विमोचन
विराटनगर : न्यूरो सर्जन डा. यम बहादुर रोक्काद्वारा लिखित १०८ कविता संग्रह विमोचन गरिएको छ।
शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा डा. रोक्काको कविता संग्रहका छवटा पुस्तक विमोचन गरिएको हो।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोक्काको कविता संग्रहका पुस्तक विमोचन गरिएको हो।
विमोचित प्रत्येक पुस्तकामा डा. रोक्काको १०८ वटा कविता समेटिएका छन्। डा. रोक्काद्वारा लिखित कविताहरू अङ्ग्रेजी भाषामा छन्।
डा. रोक्काले यसअघि पनि कविता संग्रहकादुई पुस्तक निकालिसकेका छन्। कविता संग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको शनिबार आयोजित कार्यक्रममा उनले बताए।
कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदूषण र नेपाली राजनीतिसहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले जानकारी दिए।
डा. रोक्काले हालसम्म साढे आठ सय बढी कविताहरू लेखिसकेका छन्। उनीद्वारा लिखित कविताहरूमा जीवनको यर्थाथ चित्रण गरिएको छ।
मानव जीवनलाई उल्टो दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने सन्देश उनको कविताले दिएको पाइन्छ।
संस्कृतिविद् तुलसी दिवसले डा. रोक्काको कविताले आफ्नो मौलिकता झल्काएको बताए। डा. रोक्काले मौलिकतालाई आफ्नो ढंगबाट विकास गर्ने प्रयास कविताको माध्यमबाट गरेको उनले बताए।
डा. रोक्काको कविता संग्रहले कविताको गहिरो चिन्तनमाथि नयाँ सोचको शुभारम्भ गरेको बताइएको छ। समाजको विरोधाभासपूर्ण शैलीलाई डा. रोक्काले आफ्नो कविताहरूमा सरल ढंगले व्याख्या गर्न खोजेका छन्।