एकैस्थानमा राखे बाहुन र दलितले जमरा
नुवाकोट : नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ । तर, नुवाकोटको वेलकोटगढीले आफूलाई छुवाछुतमुक्त गाउँको रुपमा परिचय थपिरहेको छ।
ग्रामीण समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव हुने गरे पनि नुवाकोटको वेलकोटगढी भने धार्मिक सहिष्णुताको नमूना गाउँ बन्दै गएको छ ।
उँचो तथा निचो जात नभनी सबै मिलेर एकै स्थानमा गरेको धार्मिक कार्यको सबैतिर चर्चा हुने गरेको छ।
नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यसवर्ष वडादसैंको लागि बाहुन र दलित समुदायले एकैस्थानमा जमरा राखेका छन्।
वेलकोटगढी नगरपालिका -१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन सोमबार साइतको समयमा सामूहिक जमरा राखिएको हो।
नेपाल एकीकरणपछि नुवाकोटवाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीस्थित निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यसपटक वेलकोट र आसपासका दुई सय ४० घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले अन्नपूर्णलाई बताए ।
३१ वर्षदेखि मूल पुरोहितको रुपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुईसय ४२ वर्षभन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिदै आएको हो ।
निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजाका लागि वेलकोटगढी नपाले यसवर्ष आवश्यक रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यसअघि नपाले सो मन्दिरमा पूजाका लागि गत २०७८ सालमा दुई लाख, २०७७ मा दुई लाख, २०७६ मा दुई लाख, २०७५ मा एकलाख ४० हजार र २०७४ मा एकलाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
सामूहिक रुपमा जमरा राख्ने कार्यले स्थानीय र समुदायबीच नमूनाको अभियान भइरहेको वडाध्यक्ष प्रल्हादप्रसाद थपलियाले बताए ।
वेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट वेलकोटगढी नपाको नामांकरण भएको मेयर जगतबहादुर गुरुङले बताए।
मन्दिर संरक्षण, विस्तार तथा पहिचानको संरक्षणका लागि आफूहरु क्रियाशील रहेको मेयर गुरुङले बताए ।
घटस्थापनादेखि मन्दिरमा सामूहिक रुपमा राखिएको जमराले गाउँमा छुवाछुत प्रथाविरुद्ध नमूनायुक्त सन्देश दिएको निरन्जना भगवती मन्दिर तथा गढी संरक्षण समितिका अध्यक्ष दिलबहादुर मानन्धरले बताए ।
यसैगरी नुवाकोटको भैरवी, तुलजा भवानी, साततले दरबार तथा विभिन्न मठमन्दिरमा पनि सामूहिक रुपमा जमरा राखिएको छ । रसुवाको कालिकास्थान, धुन्चेलगायतका स्थानमा पनि जमरा राखिएका छन् ।