सुर्तिजन्य पदार्थ सेवनले निम्त्याउँदैछ जोखिम, नियमन ऐन बन्छ कार्यान्वयन फितलो

सुर्तिजन्य पदार्थ सेवनले निम्त्याउँदैछ जोखिम, नियमन ऐन बन्छ कार्यान्वयन फितलो

काठमाडौं : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न ऐन बनेपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। 

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६,सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशीका २०७१ जारी भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको हो।

अहिलेपनि सुर्तिजन्य पदार्थ सेवनको क्रम रोकिएको छैन। ऐनमा कडा व्यवस्था गरिएपनि सचेतना र अनुगमन नहुँदा सुर्तिजन्य पदार्थ सेवन गर्नेको क्रम नरोकिएको सरोकारवालाहरू बताउँछन्।

ऐन अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न मिल्दैन। व्यवस्थापकले कारागार, विमानस्थल, रेष्टुरेन्ट वा होटल वा तोकिएको अन्य कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्ने ऐनमा उल्लेख छ। 

तर, ऐन बनेको लामो समय वितिसक्दा समेत अनुगमन प्रभावकारी नहुँदा अहिलेपनि सार्वजनिक स्थलमै सुर्तिजन्य पदार्थ सेवन रोकिएको छैन।

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ मा भनिएको छ, 'कसैले पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन।'

ऐन बमोजिम कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक आश्रम, पुनर्स्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन। 

विद्यालय तथा विश्वविद्यालयको पोशाक लगाई सुर्तिजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेरको विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन।

कसैले ऐनविपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरू पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्ने स्पष्ट व्यवस्था छ।

निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरू पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउँमा धूम्रपान वा सुर्ती सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नुपर्ने कुराहरू पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्ने ऐनमा भनिएको छ। तर, ऐन बनेपनि अनुगमन निष्प्रभावि छ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि पहल भइरहेको बताए। उनले भने, 'स्वास्थ्य मन्त्रालयको एक प्रयासले मात्र ऐन कार्यान्वयन सम्भव हुँदैन। अन्तरमन्त्रालय र सरोकारवालाको पनि भूमिका हुन्छ। मुख्य कुरा जनचेतना नै हो।'

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जय ठाकुरले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि बनेका ऐन तथा नियमहरू कार्यान्वयनमा आउनुपर्ने बताए। उनले भने, 'सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि मन्त्रालय गम्भीर छ। समिति पनि गठन भएको छ। त्यसले पनि आफ्नो तर्फबाट काम अघि बढाइरहेको छ।'

सुर्तिजन्य पदार्थमा लगाइएको करबाट बर्सेनि करिब १६ अर्ब राजश्व संकलन हुने गर्छ। जसमध्ये २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा राख्नुपर्ने ऐनमा व्यवस्था भएपनि १६ अर्बको २५ प्रतिशतले स्वास्थ्य कर कोषमा बर्सेनि ४ अर्ब आउनुपर्ने हुन्छ। तर, निकै कम मात्रामा स्वास्थ्य कर कोषमा रकम आउने गरेको छ।

बिशेषज्ञहरूका अनुसार बर्सेनि बढ्दो नसर्ने रोगको मुख्य कारकमध्ये सुर्तिजन्य पदार्थको प्रयोग एक हो। सुर्तिजन्य पदार्थको प्रयोग गर्नेमा मुटु सम्बन्धी रोग प्रकोप जस्तै देखा परेको छ। विज्ञहरूका अनुसार हृदयघात, मस्तिष्कघातको मुख्य कारण नै सुर्तिजन्य पदार्थ हो।

मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिलले हृदयघातको मुख्य कारणमध्ये धुम्रपान एक रहेको बताए। उनले भने, 'धुम्रपानले हृदयघातको खतरा दुइदेखि ४ गुणा बढाउँछ। जति धेरै धुम्रपान गर्नुहुन्छ, हृदयघातको खतरा त्यति धेरैनै हुन्छ। सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढि हुन्छ। मधुमेह, उच्चरक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट, बिडीको सेवन गरेमा  खतरा अत्यन्त धेरै हुन्छ।'

विशेषज्ञहरूका अनुसार सुर्तिजन्य पदार्थ सेवनले विभिन्न नसर्ने रोगहरूः क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह लाग्ने गर्छ। 

नेपाल स्टेप्स सर्वेक्षण २०१९ अनुसार हाल सुर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २८ दशमलब ९ रहेको छ। त्यसैगरी पहिलोपटक धुम्रपान सुरु गर्दाको औसत उमेर १७ दशमलब ८ रहेको छ। 

नेपालमा बर्सेनि सुर्तिजन्य पदार्थको सेवनले निम्त्याएका रोगहरूको उपचारार्थ खर्च, रोगीहरूको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्ततालाई जोड्दा करिब ४७ अर्ब रुपैयाँ आर्थिक क्षति हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

धुमपान तथा सुर्तिजन्य पदार्थ त्याग गरेको २० मिनेट भित्रमा मुटुको धड्कनमा सुधार आउने बताइएको छ। १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साईडको मात्रा कम भइ रक्तचाप सामान्य अवस्थामा फर्किन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.