बन्दीगृह बन्नु हुन्न स्कुल

बन्दीगृह बन्नु हुन्न स्कुल

बालबालिकाको सर्वांगीण विकासका लागि शिक्षा, संस्कार, आचरण र सामाजिकीकरण महत्त्वपूर्ण हुन्छन्। सामाजिकीकरणका आवश्यक तत्त्वअन्तर्गत अन्तरवैयक्तिक र वैयक्तिक गुण तथा विभिन्न किसिमका सीपहरू पर्छन्। शिक्षाका माध्यमबाट बालबालिकामा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा समाजमा समायोजन हुन आवश्यक पर्ने अतिरिक्त सीपहरूको विकास गर्ने उद्देश्य राखिएको हुन्छ। सामाजिक अन्तरक्रियाका माध्यमबाट शिक्षा, संस्कार र आचरणगत विशुद्धताका लागि परापूर्वकालदेखि नै पूर्वीय सभ्यतामा गुरुकुल अस्तित्वमा देखिन्छ। अध्ययनकै क्रममा सहपाठी, गुरु र सामाजिक अनुष्ठानका माध्यमबाट सामाजिकीकरणको अभ्यासका लागि गुरुकुलले प्रभावकारी भूमिका खेलेको देखिन्छ। आठ वर्षदेखि २५ वर्षसम्म गुरुका समीपमा रही आर्जन गरिएको शिक्षाले सामाजिक तथा आत्मिक उन्नति र प्राप्त शिक्षाका माध्यमबाट समाज र प्राणी मात्रको हित हुने काम गर्न अभिपे्ररित गर्छ। जसले पुरुषार्थ चतुष्ठयको ढोका खोल्ने प्रमुख साधनका रूपमा शिक्षालाई लिएको देखिन्छ।

संस्कारबिनाको शिक्षालाई घातक र समाजविरोधी ठान्ने परम्परा पूर्वमा देखिन्छ। यसले आफूले प्राप्त गरेको ज्ञान परोपकारमा उपयोगी हुनैपर्ने कुरालाई केन्द्रमा राखेको तथ्य छर्लंग हुन्छ। बालमैत्री वातावरण र उनीहरूको सर्वांगीण विकासका बारेमा अहिले निकै चर्चा हुने गरेको छ। साथै बजारमा सहजै बिक्री हुन सक्ने अर्थकारी शिक्षा बनाउने उद्देश्यले हालका दिनमा उद्देश्य केन्द्रित र रोजगारमूलक शिक्षामा जोड दिइँदै आएको छ। सर्वांगीण विकास भनेर जति नै चर्चा गरे पनि हाम्रा शैक्षिक क्रियाकलाप भने बालबालिकाको चौतर्फी विकासमा केन्द्रित हुन सकेका छैनन्। शिक्षाको अर्थ नै सूचना संकलन गर्नु र संस्कार भनेकै देखावटीपन हो भन्ने ढर्रा छ। जसका कारण शिक्षाले वैयक्तिक खुसी खोस्ने र सामाजिक एवं आर्थिक स्तरीकरणमा जोड दिने गरेको छ। यति मात्र नभएर परम्पराप्राप्त आचरणलाई तिरस्कार गर्दै आचरण भनेकै पश्चिमीकरण हो र सामाजिकीकरण भनेको वर्गीय वा क्षेत्रीय चिन्तन हो भन्ने भ्रमपूर्ण यथार्थ छ। वर्तमान शिक्षा पद्धति रुमलिएको छ।

सैद्धान्तिक रूपमा सर्वांगीण विकासअन्तर्गत बालबालिकाको मानसिक, शारीरिक, संवेगात्मक, आध्यात्मिक र सामाजिक विकासलाई राखिएको छ। विद्यालय प्रवेश गर्नासाथ अनुशासनका नाममा कडा नियम पालना गर्नुपर्ने बाध्यताले बालबालिकाका अन्तरवैयक्तिक सीपहरूले अभिव्यक्त हुने अवसर गुमाउने गरेका छन्। घरमा सिकेका सीप र घरमा गरिएका अभ्यासहरू चटक्कै छोडेर सभ्य बन्ने नाममा विद्यालयका देखावटी गतिविधिमा संलग्न हुनुपर्ने बाध्यता पनि छ। जसकारण बालबालिकाले आफ्ना भाषा, धर्म, संस्कार र संस्कृतिलाई अन्धविश्वासका रूपमा हेर्ने गरेको देखिन्छ। पश्चिमा समाजमा विकसित लिभिङ टुगेदर, रिलेसन र ब्रेकअपको सिको गर्न खोज्दा कतिपय कलिला बालबालिका आत्महत्याको बाटो रोज्न बाध्य छन्। किशोरीहरू बलात्कारको सिकार हुने प्रवृत्ति पनि यसकै परिणाम हो। जुन बढ्दो छ।

सञ्चारका साधनहरूको अनुचित प्रयोग र वयस्क साइटमा निर्बाध प्रवेशले किशोरकिशोरीमा अनेकौं विकृति देखा परेका छन्। यस्तो अवस्थामा आमाबाबु पहिलो विश्वासपात्र र अनुभव आदानप्रदानको सहयोगी बन्नुपर्ने अवस्थामा उनीहरूको अभिभावकीय भूमिकामा प्रश्न चिह्न लागेको छ। बालबालिकालाई नैतिक र सांंस्कृतिक मूल्यबोध गराई पथप्रदर्शन गर्ने गरिमामय क्षमतामा पनि प्रश्न छ। स–साना बालबालिकालाई औपचारिक कक्षाकोठामा राख्ने सन्दर्भमा उनीहरूका बालसुलभ प्रवृत्तिहरूलाई बलात् कुण्ठित पार्ने कामसमेत हँुदै आएको छ। यस कारण बालबालिकाको संवेगात्मक विकासमा ठुलो धक्का पुगेको छ। अघोषित रूपमा वर्ग विशेषका लागि छुट्टाछुट्टै विद्यालय भएकाले बालबालिकाले सामाजिक यथार्थलाई बोध गर्न नपाउने अवस्था छ। अर्कोतिर घरपरिवारमै कमजोर आर्थिक स्तर भएका परिवारका बालबालिकासँग उठबस गर्न नदिने प्रवृत्ति बढेका कारण सामाजिक ध्रुवीयताले मौलाउने अवसर पाएको छ।

शिक्षा, संस्कृति, संस्कार र सामाजिकीकरणको अन्तिम लक्ष्य सुख अथवा खुसी भए पनि बालबालिकाको मनोसंवेगात्मक अवस्थालाई बेवास्ता गरी निर्धारण गरिएका पाठ्यपुस्तक छन्। तिनमा भएका सूचना घोक्नु नै जीवनको सफलता ठानेका बालबालिका विद्यालय प्रवेशसँगै आफ्नो खुसीलाई तिलाञ्जली दिन विवश छन्। विद्यालयहरूले बालबालिकालाई ६ घण्टाका लागि मात्र होइन, २४सै घण्टाजसो बन्दी बनाएका हुन्छन्। विद्यालयमा बिताइने समयमा अनुशासनका नाममा कडा नियमभित्र बस्नुपर्ने भएकाले उनीहरूले अनुभूति अभिव्यक्त गर्ने अवसर नै पाउँदैनन्। घर आउनासाथ गृहकार्यको भारीले थिच्छ। बालबालिका सामाजिकीकरणका सबै पक्षबाट वञ्चित हुन्छन्। घरमै पनि बालबालिकालाई डर देखाउन यसो गरे शिक्षकलाई भनिदिन्छु उसो गरे विद्यालयमा दण्ड पाइन्छ भनेर तर्साउने गरिन्छ। बालबालिकाको साथीसंगातीसँग समयसमयमा ठाकठुक हुनु अति सामान्य कुरा हो। मेल र बेमेलबाट बालबालिकाले खुसी र दुःखका संवेगहरू व्यवस्थापन गर्न सिक्छन्।

सिकाइ हुनका लागि बालबालिकाले घटनासित सम्बन्धित अवधारणा निर्माण गर्नु आवश्यक हुन्छ। सो अवधारणा व्यावहारिक रूपमा पुष्टि भएपछि बालबालिकाले नयाँ कुरा सिक्छन्। शिक्षक वा अभिभावकले भनेको काम मात्र गर्न हुने र बालबालिकाको अन्तर्मनको काम कुरा गर्न नहुने भन्ने मानसिकता हावी छ। जसले बालबालिकालाई आत्मविश्वासीभन्दा अनुशासनका नाममा अनुसरण गर्ने बनाउन खोजिन्छ। अति नियन्त्रित वातावरणमा हुर्केको व्यक्तिले खुला वातावरणमा कुनै पनि निर्णय गर्न सक्दैन। आत्मविश्वासको कमी, जिम्मेवारी लिन नसक्ने तथा जोखिम वहन गरी वास्तविक क्षमता उजागर गर्न नसकेकै कारण उनीहरूले आशातीत प्रगति गर्न सक्दैनन्। यी सबैको नतिजाका रूपमा उनीहरूमा खुसी हराउँछ। अर्थात् वर्तमान शिक्षा प्रणालीले विद्यालय प्रवेश गरेदेखि नै बालबालिकालाई दुःखी बनाउन थालेको छ।

नैतिकता, मानव मूल्य, सामाजिकीकरण र समायोजनकारी लचक भूमिका खेल्दै सामूहिक हितका लागि काम गर्ने र त्यसैमार्फत आफ्नो जीवनलाई सुखी र खुसी बनाउने अन्तश्चेतनाको विकास गर्नुपर्छ। यसका लागि विद्यालयका कठोर नियम र अनुशासनका फन्डा सधैं बाधक नै बन्ने गर्छन्। नवप्रवर्तनकारी सोच भएका व्यक्ति अरूले बनाएको बाटोमा हिँड्नभन्दा स्वच्छन्द रूपमा बाटो निर्माणका लागि अग्रसर हुन्छन्। यसैले विद्यालयमा यी अधिकार खोसिँदा ड्रपआउट गरेका क्षमतावान् विद्यार्थीले जीवनमा ठूलो सफलता पनि प्राप्त गरेका उदाहरण छन्। यस दृष्टिले विद्यालयहरू बालमैत्री कम र मानसिक रूपमा बन्दीगृह बढी बनेका छन्।

शिक्षामा व्यापारीकरण फस्टाउनु र नियामक निकाय कानमा तेल हालेर बस्नुले नेपालमा बालमैत्री शिक्षाले स्थान पाउन सकेकै छैन। विद्यालयबाट निस्केपछि बालबालिका विद्यालयसित सम्बन्धित सम्पूर्ण उल्झनबाट मुक्त हुन पाउनु पर्छ। उसले बाँकी समय सामाजिक र पारिवारिक परम्परागत मूल्यमान्यता, रीतिथिति र संस्कृतिमा रम्ने वातावरण पाउनु पर्छ। जसले बालबालिकाको सर्वांगीण विकास र जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक ऊर्जा प्रदान गर्छ। अनि मात्र राष्ट्रिय बालदिवस २०७९ ले राखेको ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार र उत्तरदायी सरकार’ नारा सार्थक बन्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.