७६ जिल्लामा फैलियो डेंगु
मुलुकका ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। गत साउनदेखि हालसम्म मुलुकका सातवटै प्रदेशका २५ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमण फैलिएको छ। बागमतीमा १९ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः लुम्बिनीमा २ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४ जनामा संक्रमण भएको छ। प्रदेश १ मा ७ सय ७५ र गण्डकीमा ५ सय ५६ जनामा संक्रमण भइसकेको छ। त्यस्तै, मधेस प्रदेशमा ३ सय ८० जना र कर्णाली प्रदेशमा २ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगुका बढ्दो संक्रमणको नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहको समन्वयमा समस्या देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातवटै प्रदेशमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन। महाशाखाले ६० जिल्ला र १ सय ३९ स्थानीय तहमा अभियान सञ्चालनका लागि बजेट विनियोजन गरिएको जनाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार, केही सातादेखि मुलुकभर डेंगुका बिरामी बढ्दै गएका छन्। महानिर्देशक सिंह डा. भन्छन, ‘जलवायु परिवर्तन, जनसंख्या वृद्धि र प्लास्टिकजन्य तथा अन्य फोेहोरहरूको उचित व्यवस्थापन हुन नसक्दा डेंगुलगायत किटाणुजन्य रोगसंख्यामा वृद्धि भएको छ।’ विभिन्न प्रदेश, जिल्ला, स्थानीय तह र स्वास्थ्य संस्थाको माग तथा उपलब्धताको आधारमा डेंगु रोग निदानका लागि परीक्षण किटहरू उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।०००
प्रदेश १ मा जोखिममा ३ जिल्ला
प्रदेश १ मा डेंगु संक्रमणको जोखिम उच्च हुँदै गएको छ। हाल दैनिक २५ देखि ३० जना संक्रमितहरू थपिँदै छन्। संक्रमण रोकथाम तथा न्यूनीकरणमा सरकार गम्भीर नहुँदा संक्रमितको संख्या बढ्दै गएको हो। पछिल्लो ९ दिनमा मात्र प्रदेश १ मा डेंगुका ३१७ जना नयाँ संक्रमित थपिएका छन्। पहिलोपटक २०७८ माघ ८ गते मोरङको २ जनामा डेंगुको पुष्टि भएको थियो। त्यसयता हालसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ७१६ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भदौ ३१ सम्म प्रदेश १ मा डेंगुका ३९९ संक्रमितहरू थिए।
निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेश १ का तेह्रथुम, संखुवासभा र सुनसरी जिल्ला डेंगु संक्रमणको उच्च जोखिममा छन्। मोरङमा पनि संक्रमण दर बढ्ने क्रममा रहेको उनले बताए। ‘पछिल्लो महिना दिनयता अस्पतालहरूमा पनि डेंगुका बिरामीहरूकोे चाप बढेको छ,’ उनले भने, ‘अस्पतालमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निनेलगायतका समस्या लिएर आउने बिरामीहरू बढेका छन्। विशेषगरी आयातित केसहरूले चुनौती थपेको छ।’
डेंगुको रोकथामका निम्ती भेक्टर लक्षित उपायहरू अपनाउन सुरु गरिएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार डेंगुको संक्रमण न्यूनीकरणका लागि हाल लामखुट्टे मार्ने विषादी छर्किने, लार्भा नष्ट गर्ने, पानी जम्न नदिने र आमसर्वसाधारणलाईसमेत सचेत गराउनेलगायतका कार्यहरू भइरहेको छ। संक्रमण न्यूनीकरणका लागि लार्भा नष्ट गर्न सरकारले ‘खोज र नष्ट गर’ नामक अभियान नै सञ्चालन गरेको मन्त्रालयका सचिव अनुज भट्टचनले बताए। सचेतना फैलाउन रेडियोमार्फत सचेतनामुलक सामाग्रीसमेत प्रसारण सुरु गरिएको उनले बताए।
‘जलवायु परिवर्तन, जनसंख्या वृद्धि र प्लास्टिकजन्य तथा अन्य फोेहोरहरूको उचित व्यवस्थापन हुन नसक्दा डेंगुलगायत किटाणुजन्य रोगको संख्यामा वृद्धि भएको छ।’
– डा. दीपेन्द्ररमण सिंह, महानिर्देशक, स्वास्थ्य सेवा विभाग
हाल सरकारको आकस्मिक तथा विपद् व्यवस्थापन कोषबाट १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूले डेंगुको संक्रमण रोकथामको प्रयास गरिरहेका छन्। सोही कोषको रकमबाट किटनाशक औषधि र अन्य आवश्यक किटहरू खरिद गरेर डेंगु रोकथामको प्रयास भइरहेको जनाइएको छ। डेंगुको प्रकोपबाट जोगिन भने झुलको प्रयोग गर्ने, बाहुला छोप्ने गरी लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिने र किटनाशक औषधिको प्रयोग गर्ने तथा लोसनहरू लगाउनेलगायतका कार्य गर्न चिकित्सहरूले सुझाएका छन्।
बागमतीमा डेंगु नियन्त्रण बाहिर
प्रकोपको रूपमा फैलिएको एक महिना बित्दा पनि बागमती प्रदेशमा डेंगु नियन्त्रणमा आउन सकेको छैन। चालू आर्थिक वर्षको साउन १ गतेदेखि असोज ८ गतेसम्म प्रदेशमा १४ हजार ९ सय ७४ जना डेंगुबाट संक्रमित भएको बागमतीको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले बताए। संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ हजार ४२२ जना र सबैभन्दा कम रसुवामा दुई जना रहेका छन्। ललितपुरमा ५ हजार २०६ जना, मकवानपुरमा २ हजार १०८ जना, भक्तपुरमा ७८६ जना र चितवनमा ५०६ जनामा डेंगु संक्रमण भएको मन्त्रालको तथ्यांक छ। त्यस्तै, धादिङमा ३ सय ९९ जना, काभ्रेमा १ सय ७० जना, सिन्धुलीमा ९६ जना, रामेछापमा ८९ जना, नुवाकोटमा ८७ जना, सिन्धुपाल्चोकमा ६२ जना, दोलखामा ५१ जना डेंगु संक्रमित भएका छन्। ‘भदौको अन्तिमबाट डेंगुको संक्रमण बढेको हो। तर, एक हप्तायता भने संक्रमण दर घट्दो क्रममा छ’, प्रवक्ता तिवारीले भने।
डेंगु नियन्त्रणको लागि मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका रेडियोहरूबाट सचेतनामुलक सूचना प्रसारण, १३ वटै प्रादेशिक अस्पतालमा डेंगु परीक्षण र सबै जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहहरूलाई डेंगु नियन्त्रणका लागि प्राविधिक सहयोग र सहजीकरण गरिरहेको स्वास्थ्यमन्त्री निमा लामाले बताए। निः शुल्क डेंगु परीक्षणको लागि १ करोड ४५ लाख र डेंगु नियन्त्रणको लागि प्राविधिक सहयोग सहजीकरणका लागि १ करोड बढी बजेट जिल्ला तहमा पठाइएको उनले जानकारी दिए। ‘रकमको अभावले नियन्त्रणको काम रोकिने वातावरण छैन’, उनले भने, ‘सबै प्रादेशिक अस्पताललाई उपचार खर्च गर्न नसक्ने डेंगुका बिरामीहरूको निःशुल्क उपचारका लागि व्यवस्था गरेका छौं। सबै स्वास्थ्य केन्द्रमा सिटामोल अभाव हुन नदिने गरी व्यवस्था गरेका छौं।’ साथै डेंगु खोज तथा नष्ट गर्ने अभियानको लागि स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयहरूमार्फत अभियान चलाउन पनि सहजीकरण गरिरहेको लामाले बताए।
स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको प्रादेशिक आपतकालीन स्वास्थ्य केन्द्रका इन्चार्ज डा. रवीन भुषालका अनुसार, मानवीय व्यवहार परिवर्तन नहुँदा डेंगु फैलिएको हो। ‘धेरै सफा पानी जम्ने ठूला सहरहरूमा यो समस्या बढी देखिएको छ’, उनले भने, ‘यसलाई निर्मुल नै पार्न सकिन्न तर मानवीय व्यवहार परिवर्तन गरेर न्यूनीकरण गर्दै जान सकिन्छ।’ नेपालमा ३÷३ वर्षमा डेंगु प्रकोपको चक्रीय निरन्तरता देखिएको पनि भुषालले बताए।
लुम्बिनीमा पनि संक्रमण उच्च
बागमतीपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। लुम्बिनीमा २ हजार ८ सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएका छ। बाँकेका २ ठूला अस्पतालमा उपचार गर्न आएकामध्ये डेंगुबाट अहिलेसम्म ६ जनाको ज्यान गएको छ। भेरी अस्पताल नेपालगन्जमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जनाको डेंगुबाट ज्यान गएको हो।
भेरी अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालका अनुसार मृत्यु हुनेमा कैलालीका २, बाँके र बर्दियाका १÷१ जना छन्। कैलालीको टीकापुर नगरपालिका–६ कि १२ वर्षीया बालिका र लम्कीचुहा नगरपालिका–१ का ५३ वर्षीय पुरुषको भेरी अस्पतालमा डेंगुबाट निधन भएको छ। त्यसैगरी, बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ३२ वर्षका पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ८६ वर्षका पुरुषको पनि कोरोनाबाट निधन भएको खनालले बताए। साउन महिनायता भेरी अस्पतालमा विभिन्न जिल्लाबाट डेंगुको उपचार गर्न आउनेको संख्या ४२ पुगेको छ। भेरी अस्पतालमा उपचार गर्न आएका डेंगु रोेगीलाई शैयाभित्र नै झुलभित्र राख्ने गरिएको छ। त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मेडिकल रेकर्डर दुर्गा बस्यालका अनुसार जुम्ला र सल्यानका १÷१ जनाको डेंगुको मृत्यु भइसकेको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बाँकेमा अहिलेसम्म ४४ जना व्यक्तिमा डेंगु रोग पुष्टि भइसकेको छ। सबैभन्दा धेरैं डेंगु रोगी कोहलपुर नगरपालिकामा १६ जना छन्। त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिकामा १२ जना र बैजनाथ गाउँपालिकामा ५ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगन्जमा डेंगुका लार्भा नियन्त्रण गर्ने र डेंगु परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ। ‘डेंगु संक्रमण हुने र विस्तार हुने यो सिजन नै हो। लामखुट्टे मार्ने अभियान सञ्चालन नहुनु, स्थानीयले लामखुट्टेबाट जोगिने उपाय नअपनाउनु र लापरबाही गर्नुले डेंगुको संक्रमण बढेको हो’, गौतमले भनिन्, ‘सुरुमा देशबाहिरबाट आएका व्यक्तिमा डेंगु देखिए पनि अहिले संक्रमण विस्तार भइरहेको छ। डेंगु नियन्त्रणका लागि समुदायस्तरमै सचेतनाको खाँचो छ।’
सुदूरपश्चिमा संक्रमित बढ्दै
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा डेंगुका बिरामीको संख्या बढिरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांकअनुसार नौवटै जिल्लामा अघिल्लो महिनाको अन्तिमसम्म ५५ जनामा मात्रै डेंगुको संक्रमण थियो। अहिले ७ सयभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। सुदूरपश्चिममा शनिबारसम्म २ जनाको मात्रै डेंगुका कारण मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले १ महिनामा १४ गुणाले डेंगुका बिरामी बढनु चिन्ताजनक भएको जनाएको छ। निर्देशनालयले देशभरीका बढी संक्रमित भएका १० जिल्लामा सुदूरपश्चिमको कैलाली पनि पर्ने जनाएको छ। ‘उपत्यकाका ३ जिल्ला, मकवानपुर, दाङ, रुपन्देही, चितवन, धादिङ र गुल्मीपछि कैलालीमा बढी संक्रमित रहेका छन्’, क्षेत्रीय स्वास्थ्य निर्देशक डा.जगदीश जोशीले भने। कैलालीमा मात्रै २९८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
डा. जोशीले सर्वसाधारणले सावधानी अपनायो भने डेंगुबाट जोगिन सकिने बताए। ‘अरू केही गर्नै पर्दैन, घर वरिपरि जमेको पानी नष्ट गर्ने वा त्यसमा डिजेल, मट्टीतेल हालेर लामखुट्टेको प्रजनन रोक्ने हो। झुलभित्र सुत्ने हो अथवा लामखुट्टेको टोकाइबाट बच्ने हो भने डेंगु हुदैन’, डा. जोशीले भने। डेंगुको जानकारी दिने गरी चेतनामुलक सन्देशहरू दिन थालिएको छ। दार्चुलामा २०८ र बझाङमा २२ जनामा डेंगुको संक्रमण देखिएको छ। दार्चुला कैलालीपछि प्रदेशभरीमै दोस्रो बढी संक्रमित भएको जिल्लाको श्रेणीमा छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सबै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ज्वरोको बिरामी आउने बित्तिकै डेंगु परीक्षण गर्न निर्देशन दिएको छ। ‘हामीसँग डेंगुको टेस्ट किटको अभाव छ। सामान्य समयका लागि टेस्ट किटहरू थिए। तर, अचानक फैलियो। त्यसैले सबै जिल्लालाई टेस्टकिट किन्न बजेट र निर्देशन पनि दिइएको छ,’ निर्देशक डा.जोशीले भने।
कर्णालीमा २ सय नाघे
कर्णाली प्रदेशमा पनि डेंगु संक्रमण फैलँदै गएको छ। कर्णाली स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी श्याम आचार्यका अनुसार आइतबारसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा ज्वरो आएर अस्पताल आएका २ सय ३९ जना बिरामीमा डेंगुको संक्रमण भएको पुष्टि भएको हो। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुर्खेतमा फेलदा परेका छन्। सुर्खेतमा मात्र हालसम्म कुल १ सय ८८ जनामा डेंगु देखिएको छ। त्यसपछि सल्यानमा १७ जना, कालीकोट १२ जना, मुगु ६ जना, रुकुम पश्चिम ५ जना, जुम्लामा ७ जना, जाजरकोट २ जना, दैलेखमा १ जना, डोल्पामा १ जना बिरामीमा डेंगोको संक्रमण पुष्टि भएको छ। सूचना अधिकारी आचार्यका अनुसार तापक्रममा भएको बृछिका कारण डेंगुको महामारी अझै १ महिना रहन्छ। कात्तिकबाट चिसो बढ्ने, लामखुट्टे पनि निष्क्रीय हुने भएकाले कम हुदै जान्छ।
डा. अप्सरा हमालका अनुसार कालीकोटमा हालसम्म १२ जनामा देखिएको छ। पछिल्लो समय कालीकोटका गाउँ बस्तीहरूमा डेंगु फैलाउन लामखुट्टे देखिएकाले जोखिम बढेको छ। कर्णालीका १० वटै जिल्लामा सञ्चालनरत अस्पतालमा ज्वरोका बिरामीहरू सबैलाई डेंगु परीक्षण गर्ने गरिएको छ। संक्रमण पुष्टि भएपछि उपचारमा कुनै कमी हुन नदिन प्रदेश सरकारले सबै जिल्लालाई समन्वय गरेर निर्देशन दिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बताए।
दिनेश गौतम/काठमाडौं, राकेश कर्ण/विराटनगर, कृष्ण सारु मगर/हेटौंडा, शंकरप्रसाद खनाल/नेपालगन्ज, शिवराज भट्ट/धनगढी, बिस्नप्रसाद न्यौपाने/सुर्खेत :