किन महँगियो डलर ?

किन महँगियो डलर ?

काठमाडौं : इतिहासमा अहिलेसम्मकै डलरको मूल्य उच्च भएको छ। दिनप्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। डलर बलियो हुँदै जाँदा यूकेको पाउन्ड स्टर्लिङसमेत कमजोर भएको छ।

गत सोमबार बिहान पाउन्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुग्यो। यससँगै पाउन्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ। यद्यपि बेलायती मुद्राको अवस्था अपराह्नसम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ। सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउन्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो।

अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुकले डलरलाई रिजर्भ पनि राख्ने गर्छन्। यसकारण पनि अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज ११ गते एक अमेरिकी डलरको बिक्रीदर अर्थात् विनिमय दर १ सय ३० रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय ३० रुपैयाँ ३० पैसा पुगेको छ। यो बिक्री मूल्य र खरिद मूल्य अहिलेसम्मकै उच्च हो। असोज महिना सुरु भएपछि डलरको मूल्य अकासिन थाल्यो। 

असोज १ गते एक अमेरिकी डलरको बिक्रीदर १ सय २७ रुपैयाँ ८९ पैसा र खरिद दर भने १ सय २७ रुपैयाँ २९ पैसा  पुगेको थियो। यो दर क्रमशः बढ्दै गएर यतिबेला डलरको मूल्य १ सय ३० रुपैयाँले नाघेको छ। यसरी डलरको मूल्य बढ्दै गर्दा नेपाली रुपैयाँको अवमूल्यन भएको छ।

यसकारण बढ्यो डलरको मूल्य 

अर्थविद् रामेश्वर खनाल पछिल्लो समय युरोपेली मुलुकहरूको अर्थतन्त्र कमजोर हँुदै गएकाले अमेरिकाको मुद्रा बलियो हुन थालेको बताउँछन्। खासगरी जर्मन, बेलायतको अर्थतन्त्र कमजोर हुन थालेको छ। ‘रसियाको ग्यास आपूर्ति कमजोर भएपछि अर्थात् रोकिएपछि युरो कमजोर हँुदै गयो। दुईवटा मुद्राको तुलना गर्दा एउटा मुद्रा कमजोर भयो। चीनप्रतिको विश्वसनीयता कमजोर हुँदै गयो। अमेरिकी कम्पनीहरूले चीनबाट लगानी फिर्ता गरेर भियतनाम र भारतमा लगानी गरिरहेका छन्,’ उदाहरण दिँदै उनले भने, ‘जस्तै एप्पलले कुल उत्पादनको एक चौथाइ भारतमा गर्ने घोषणा गरिसकेको छ। जबकि उसले यसअघि चीनमा उत्पादन गरिरहेको थियो। 

चीनमा पछिल्लो पटक सिजिङ पिङको नीतिले गर्दा, उनीहरू रूससँग नजिक भएका कारणले गर्दा कतिपय युरोपेली मुलुकले पनि आयात गर्ने सामानको अर्डर कटौती गरेका छन्।’ त्यसले गर्दा चिनियाँ युआन कमजोर भएर जाने, युरो र रसियन रुवेल कमजोर भएर गएको उनको तर्क छ। यी तीन वटा प्रमुख मुद्राहरू कमजोर भएर गएपछि डलर स्वतः बलियो भएर गएको हो।  

यसैगरी, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार भने डलरको मूल्य अकासिनुको मुख्य कारण अमेरिकाको केन्द्रीय बैंक ‘द फेडरल रिजर्भ’ ले ब्याजदर बढाएकोले हो। फेडेरल रिजर्भले ब्याजदर बढाएर ३.२५ प्रतिशतको हाराहारीमा पुर्‍याएको छ। 

यो अमेरिकाको बैंकहरूको अन्तरबैंक (फेडरल फन्ड रेट) ब्याजदर हो। यस्तो दर न्यूनतम ३ प्रतिशतदेखि ३.२५ प्रतिशतबीचमा बस्न अमेरिकाको केन्द्रीय बैंकले निर्देशन दिएको छ। जबकि यस्तो रेट अघिल्लो दिनसम्म २.२५ देखि २.५ प्रतिशतसम्म थियो। यो दर बढाउँदा अमेरिकी डलरको माग विश्व बजारमा झन् बढेकाले डलर बलियो भएको प्रवक्ता डा. भट्टले औंल्याए। उनी भन्छन्, ‘अमेरिकाले थोरै ब्याजदर बढाउनासाथ सारा लगानीकर्ताहरू अमेरिकातिर जान्छन्।’

विश्व अर्थतन्त्रको परिदृश्य केलाउँदा पनि अमेरिका सुरक्षित लगानीकर्ताका लागि सुरक्षित गन्तव्य मानिन्छ। यसलाई अर्थशास्त्रीहरूले सेन्स हेभन भन्छन्।  ‘कुनै वस्तुको माग बढेपछि मूल्य बढ्छ। यसैले अमेरिकी डलरको माग बढ्यो र महँगी बढ्यो। यसो हुँदा भारतीय मुद्राको मूल्य घट्यो। 

  •     कमजोर हुँदै नेपाली रुपैयाँ
  •     आयात महँगिँदा थप मूल्यवृद्धिको चाप

भारत र नेपाल पेग भएका कारण नेपाली मुद्रा पनि कमजोर भएको हो। अन्य मुलुकको मुद्रा पनि कमजोर भएको छ,’ उनले थपे, ‘किनभने बेलायतको अर्थतन्त्र कता जान्छ, युरोपको अर्थतन्त्र कता जान्छ भन्ने छ। बेलायतमा मूल्यवृद्धि दोब्बर अंकमा पुगेको छ। अर्थतन्त्र कसरी सम्हाल्ने भन्ने चिन्तामा पुगेको छ।’

उनका अनुसार समग्र देशमध्ये अमेरिकाको भने धेरै हदसम्म राम्रो छ। किनभने यहाँ हरेक महिना जागिरको माग बढिरहेको छ। केन्द्रीय बैंकले पनि मूल्यवृद्धि बढ्न थालेपछि ब्याजदर पनि बढाएको छ। यो मूल्यवृद्धि नियन्त्रण गर्न हो। ब्याजदर बढेपछि लगानीकर्ताले लगानी बढाउँदैनन्। यसो हुँदा नियन्त्रणमा आउँछ भन्ने हो। 

डलर बलियो हुँदा परेकोे प्रभाव

डलर बलियो हुँदै जाँदा नेपाली मुद्रा प्रभावित हँुदै गएको छ। नेपाली रुपैयाँ डलरसँग पेग (अन्तरआबद्धता) छैन। तर नेपालले लामो समयदेखि आफ्नो मुद्रालाई भारतीय मुद्रासँग अन्तरआबद्धता गरेको छ। यसकारण डलर बढ्दा भारु कमजोर हुने गरेकाले नेपाली मुद्रा पनि स्वाभाविक रूपमा कमजोर हुन्छ। सरकारले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (भारु १ बराबर नेरु १.६) कायम गरेको छ। 

यतिबेला डलरको तुलनामा भारु कमजोर हुँदै गएको छ। असोज ११ गते मंगलबार एक अमेरिकी डलरको भारु ८१.४७ छ।  यसको दर एक दिनअघि अर्थात् सोमबार भारु ८१.६२ थियो। भारु नै डलरको तुलनामा एकैदिन थोरै खस्किएको छ । भारतीय मुद्रा कमजोर भएर गए नेपाली मुद्रा स्वतः कमजोर हुन्छ। 

अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्रा कमजोर हुनेबित्तिकै नेपालले तेस्रो मुलुकबाट आयात गर्ने वस्तुहरू महँगा हुन्छन्। सैद्धान्तिक रूपमा तेस्रो मुलुकमा निर्यात बढ्नुपथ्र्यो। तर, हाम्रो निर्यातयोग्य वस्तु छैन। हामीले अन्तर्राष्ट्रिय बजारमा जाने खालका वस्तुहरू उत्पादन गर्न सकेका छैनौं। यद्यपि यसले अवसर दिन्छ तर त्यो अवसर प्रयोग गर्ने क्षमता हामीसँग नभएकाले लाभ प्रयोग गर्न सक्दैनौं। बरु उल्टै हामीलाई घाटा हुन्छ। कसरी भने उपभोक्ताहरूले सस्तोमा पाइरहेको सामान अब महँगो हुन्छ। यसले गर्दा भारतमाथिको आश्रय झन् बढेर जान्छ। डलर जबजब बलियो हुन्छ तबतब हामीले भारतसँग व्यापार बढाउँछौं।  

यसैगरी डलर बलियो हुँदा मुलुकले एसियाली विकास बैंक, विश्व बैंकलगायतलाई तिर्ने ऋणको साँवाब्याज भुक्तानीमा प्रभाव पर्छ। डलर सस्तो हुँदा कम नेपाली मुद्रा तिरे पनि पुग्छ। तर डलर बढी हुँदा बढी रुपैयाँ खर्चिनुपर्छ। यसो हुँदा ऋणको व्ययभार बढ्ने भएकाले केही घाटा यसबाट हुन्छ। यदि अहिले हामीसँग उत्पादनयोग्य वस्तु भएको भए महँगो डलरमा बिक्री गर्न सकिन्थ्यो। तर भारतबाहेक अरू मुलुकमा जाने खाले वस्तु हामीसँग खासै छैन।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.