अपहेलित गाउँको नाम परिवर्तन
बैतडी : बैतडीको पाटन नगरपालिका-५ मा रहेको 'डुम्यौडा टोल'को नाम 'सिर्जन टोल' राखिएको छ। जातियताका हिसाबले अपहेलित नाम रहेको भन्दै नगरपालिकाले 'सिर्जन टोल' राखेको हो।
नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा, वडाध्यक्ष तथा कर्मचारीहरूको टोलीले 'सिर्जन टोल' नामकारण गर्ने निर्णय गरिएको वडा नं ५ का वडाध्यक्ष फुनिसिंह बोहराले बताए।
पाटन नगरपालिकामा मात्रै २० भन्दा बढी टोलहरू जातियताका हिसाबले अपहेलित नाम राखिएकाले सबै टोलको नाम परिवर्तन गरिने नगर उपप्रमुख कमलसिंह बोहराले बताए।
नवौं कार्यपालिका बैठकबाट अपहेलित टोलका नाम परिवर्तन गर्ने निर्णयसमेत भइसकेको उनले बताए। 'दलितलाई हेप्ने खालका नामहरू थुप्रै रहेका छन्, ती सबै टोलको नाम परिवर्तन गर्दै छौ,' उनले भने।
पाटन नगरपालिकाले एक महिनादेखि तथ्यांक संकलन गरेको थियो। उपप्रमुख बोहराका अनुसार १० वटा वडा रहेको पाटन नगरपालिकामा २० वटा टोलको नाम अपहेलित हुने खालका छन्। ती सबै टोलको नाम परिवर्तन गर्ने तयारी भइरहेको बोहराले बताए।
यसअघि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृत्वमा बसेको अन्तरपालिकास्तरिय बैठकमा पनि दलितलाई हेप्ने टोलहरूको नाम परिवर्तन गर्नुपर्ने बारे छलफल भएको थियो।