नियमविपरीत गरिएको काज सरुवा बदर
जाजरकोट : आफूलाई नभएको अधिकार प्रयोग गरी बारेकोटको स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई गरेको काज सरुवा बदर गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले नियमविपरीत स्वास्थ्य शाखाले जथाभावी गरेको काज सरुवा बदर गरेका हुन्।
गत असोज ९ गतेको निर्णयअनुसार भन्दै स्वास्थ्य शाखा प्रमुख रोकायले १२ जना स्वास्थ्यकर्मीलाई काज सरुवा गरेका थिए।
स्वास्थ्य शाखा प्रमुखले आफूमा नभएको अधिकार प्रयोग गरेको र नियमविपरीत काज सरुवा गरेको भन्दै बुधबार प्रमुख प्रशासकीय अधिकृत गिरीले उक्त काज सरुवा बदर गरेका हुन्।
उनले सबै स्वास्थ्यकर्मीलाई अर्को व्यवस्था नभएसम्मका लागि साविककै स्वास्थ्य संस्थाबाट काम गर्न निर्देशन दिएका छन्।
स्वास्थ्यकर्मीहरू डम्बर बिक्रम कार्की, विमला रोकाय, करिष्मा सिंह, विष्णु कठायत, करिश्मा सिह, बिष्णु कठायत, तप्त बहादुर नेपाली, र झरना शाहीलाई पेलेर सरुवा गरिएको थियो।
आफू निकटका स्वास्थ्यकर्मीहरू सरस्वती सिंह, सरस्वती शाह, पदम रोकया र तुल बहादुर नेपालीलाई घरपायक काज सरुवा गरिएको थियो। आस्थाका आधारमा छानीछानी अवैध तरिकाले पेल्ने कार्य भयो।
नियमविपरीत गरिएको काज सरुवाको विरोध भएपछि सरुवा बदर भएको स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य वीरराज सिंहले बताए।
यसअघि स्वास्थ्य शाखा प्रमुख रहेका सिंहलाई हटाएर गत भदौ २८ गते रोकायलाई गाउँपालिकाले शाखा प्रमुखको जिम्मेवारी दिएको थियो।
नभएको अधिकार प्रयोग गर्ने रोकायलाई गाउँपालिकाले कस्तो कारवाही गर्छ त्यो भने केही खुलाएको छैन।