रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन
काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन।
कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे एक सय रुपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।
रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। कामपाका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगरप्रहरीहरूले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताए।
सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतका आधारमा कारबाही र जरिवाना गर्ने बताइएको छ।
कामपा नगरसभाको ११औँ अधिवेशनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ।