मेरो देश बिरामी...!
शीर्षक मेरो होइन, सापटी लिएकी हुँ युनिक पोयटको गीतबाट। यतिबेला युवापुस्तामाझ लोकप्रिय एक र्यापरले महानगरको नेतृत्व सम्हालेर त्यसलाई नमुना सहर बनाउँछु भन्दै डोजर अभियान चलाइरहेका छन्। उनको यो अभियान अनुभवी चिकित्सकले गर्न लागेको शल्यक्रिया हुने हो वा सिकारुको प्रयोग मात्र बन्ने हो, त्यो त भविष्यले नै देखाउला ! तर अहिले अर्का चर्चित र्यापरको मार्मिक गीत सम्झिरहेकी छु– ‘माथिबाट हेर्दै सहिदहरूको आत्मा, सतीले सरापिन् भविष्य छैन हातमा... मेरो देश बिरामी...।’ हो, मेरो देश बिरामी छ। वर्षौंदेखि अनगिन्ती रोगले ग्रसित यो देश निको होला भन्दाभन्दै झन्झन् जीर्ण हुँदै गएको छ।
राजनीतिक अस्थिरता, दलीय स्वार्थ, भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्र, नेतृत्वको स्वार्थ र अदूरदर्शिता, महँगी, बेरोजगारी, युवा पलायन, गरिबी आदिजस्ता असंख्य घाउ लिएर दुःखिरहेको यो देशलाई निको बनाउँछु भन्दै राजनीतिका थुप्रै चिकित्सक सेता ‘एप्रोन’मा सजिएर तँछाडमछाड गरिरहे तर अहँ ! रोग निको हुनु साटो झन् बल्झिँदै गयो। किनकि ती सेता ‘एप्रोन’भित्र स्वार्थका काला धब्बा लुकेका रहेछन् ! त्यसैले त मेरो देश अहिले असह्य पीडामा छ। सायद, सतीको सराप सम्झिरहेको छ होला यतिखेर मेरो देशले। माथिबाट सहिदहरू पनि देशको पीडामा रुँदै हेरिरहेछन् होला ! असमयको यो निरन्तर वर्षा कतै उनीहरूकै आँसु त होइन ? भगीरथले स्वर्गबाट गंगालाई धरतीमा ल्याएर आफ्ना पितृको उद्धार गरेजस्तै यो देशको उद्धार गरी यसलाई सतीको श्रापबाट मुक्त गराउने कुनै भगीरथ किन जन्मँदैन यहाँ ?
हो, त्यस्तो भगीरथको खाँचो छ अहिले मेरो देशलाई जसले सुशासन र सुव्यवस्थाको गंगा प्रवाहित गराएर यहाँको राजनीतिमा विद्यमान कल्मष बगाई स्वच्छ बनाउन सकोस् ! किनकि, हाम्रो राजनीति अहिले यति धमिलिएको छ कि आमजनताले त्यसमा आफ्नो भविष्य नै धुमिल देख्न थालेका छन्। यो धमिलो राजनीति केवल स्वार्थका माछा मार्न यमानका ढडिया बोकेर हिँड्नेहरूका लागि मात्र अनुकूल छ, हाम्रा लागि होइन। प्रधानन्यायाधीश प्रकरण र नागरिकता विधेयकमा अल्झेको मुलुकको राजनीतिमा अहिले राष्ट्रपतिलाई सराप्ने र स्याबासी दिनेबीच जुहारी चलिरहेछ। आमजनता भने ‘लाटाले पापा हेरेझैं’ हेरिरहेछन्, आगामी निर्वाचनलाई।
चुनावी सन्दर्भमा पनि राजनीतिक दलहरू कोही गठबन्धनमा बाँधिएर सामूहिक तागत देखाउँदै त कोही एक्लै साहस देखाउँदै आ–आफ्नै चुनावी डम्पूm बजाइरहेका छन्। तर, जसको मतबाट ती दलहरूको जित–हारको टुंगो लाग्छ, तिनमा भने कुनै उत्साह नै छैन ! उनीहरू त आपूmले बिगत लामो समयदेखि भोग्दै आएको नेतृत्वप्रतिको वितृष्णा यसरी पोखिरहेका छन्– ‘जुन ... आए पनि कानै चिरेका !’ हाम्रो राजनीतिक परिवेशमा उदाएकाहरूलाई पाँच–पाँच वर्षमा, अझ कहिलेकाहीँ त त्योभन्दा पनि छोटो अवधिमा आफ्नो अमूल्य मतदान गर्दागर्दै हैरान भएका हामी तिनलाई किनारा लगाउने त्यस्ता नयाँ र फरक व्यक्तित्वको पर्खाइमा छौं। जसले हाम्रो दैलोमा अलख जगाउँदै झोली भरेर गएपछि पनि जोगीझैं आफ्नो धर्म नबिर्सियोस् अनि निरन्तर देश र जनताको कल्याणका लागि साधनारत रहोस् !
सही अर्थमा नेता बन्नु भनेको पनि जोगी बन्नु नै हो, सन्न्यास लिनु हो। सच्चा जोगीले काम, क्रोध, लोभ, मोह त्यागेर जगत् कल्याणका लागि जप–तप गर्ने गर्दछ। सच्चा नेताले पनि आफ्नो र आफ्नाका लागि भन्दा देश र जनताका लागि जीवन अर्पण गर्ने दीक्षा लिएको हुन्छ। जनताको घरदैलो र उनीहरूका सुख–दुःखमा सामेल भई राष्ट्रलाई अग्रगमनतर्पm डोर्याउनुलाई उनीहरू मूल दायित्व ठान्छन्। यस्ता इमानदार तथा सक्षम राजनीतिज्ञले मात्र मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न सक्छन्। तर, अहिलेको हाम्रो राजनीतिक परिवेश देख्दा कुनै बेला रेडियोबाट निकै बज्ने एउटा गीतको बोल सम्झन मन लाग्दैछ– ‘यी त सब भन्ने कुरा न हुन्... !’
लामो समय कोरोनाको महामारीसँग जुधेर यसो मुन्टो उठाउन लागेका हामीहरू अहिले पुनः डेंगीको प्रकोपसँग जुध्न बाध्य छौं। यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहेको छ तर सरकारको ध्यान यता गएको देखिँदैन। सिटामोलको अभावका समाचार आउने थिएनन् होला। सञ्चारमाध्यमबाट सतर्कताको सूचना प्रवाहित गर्नुलाई नै सरकारले दायित्व पूरा भएको ठानिरहेछ। लामखुट्टेको टोकाइबाट जोगिने तथा त्यसको प्रजनन रोक्ने सन्देश दिने सरकार स्वयं त्यो अभियानमा किन नलागेको ? सार्वजनिक स्थल, बाटोघाटोका झाङ्झाडी फाँड्ने तथा पानी जमेका खाल्डाखुल्टी पुर्ने, कीटनाशकको प्रयोग गर्ने जिम्मा कसको ? डेंगीको परीक्षण तथा जटिल अवस्थाका बिरामीको उपचार सहज तथा निःशुल्क गराउने दायित्व वहनमा सरकार कति अग्रसर छ ? आमजनताको प्रश्न हो यो।
हामी आफ्नो महान् चाड दसैंका मुखमा छौं। अकासिँदो बजारभाउले हाम्रो उमंगलाई छेकिरहेको छ। राजधानीको थोक बजारमा आलु प्रतिकिलो ७० र फर्सी प्रतिकिलो ५० मा बिक्री भइरहेको छ। खसीको त के कुरा ! कसरी मनाउने सर्वसाधारणले दसैं ? किसानहरू आफ्नो उत्पादनले मूल्य नपाएको गुनासो गर्छन् भने आमउपभोक्ता सामान्य उपभोग्य वस्तुसम्म किन्न नसक्ने दुःखेसो पोख्छन्। यी दुवैका बीचमा के छ त ? त्यसको अनुगमन कसले गर्ने ? खाद्यान्नदेखि लिएर लत्ताकपडामा दोब्बर मूल्यवृद्धि भएको छ। पसलैपिच्छे फरक–फरक मूल्य देखिन्छ तर सामानको गुणस्तर भने निरन्तर खस्कँदै गएको छ। विदेशबाट आयात गरिनेका त कुरै छोडौं, स्वदेशी उत्पादकले समेत उपभोक्ताको ढाड नराम्ररी सेकिरहेका छन्। उदाहरणका लागि सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउले मूल्य बढाएर मात्रा घटाएको यथार्थलाई अघि सारौं। यसरी नै स्वदेशी हुन् वा विदेशी हरेक वस्तुमा उपभोक्ता दोहोरो ठगाइमा परिरहेका छन्। सरकारी निकायको ध्यान यतातिर किन नगएको ?
दसैंको अर्को पीडा हो, यातायात। सबैलाई आफ्नो घर जानु नै छ। यही बाध्यताको फाइदा यातायात व्यवसायीले उठाइरहेका छन्। भाडादर पनि असमान र अकासिँदो छ। सडकमार्गमा गाडीहरूले बढी भाडा असुल्नुका साथै क्षमताभन्दा बढी यात्रु चढाएर यात्रुलाई असुरक्षित यात्रा गर्न बाध्य बनाएका छन्। हवाईमार्गको भाडा दुई गुनाभन्दा बढी बनाइएको छ। यस्तो किन हुन्छ ? चाडपर्वका बेलामा जनतालाई सहज रूपमा यात्रा गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्वभित्र पर्दैन र ? सरकारले सडक तथा हवाई यात्राका लागि उपयुक्त भाडादर कायम गरी सो लागू भए–नभएको कडाइका साथ अनुगमन गरी नियम उल्लंघन गर्नेलाई कारबाही गर्न सक्दैन ? अवश्य सक्थ्यो यदि सरकार जनउत्तरदायी भइदिएको भए !
यस्ता असंख्य विकृति–विसंतिबीच आज हामी आफ्नो देशसँगै दुखिरहेका छौं किनकि जसलाई हामीले भविष्यनिर्माता मानेर मत दियौं ती त ‘दुलै चोर, मुसै चोर’ भन्ने नेपाली उखानका पर्यायी बनेका छन्। नीति–नियम, कानुन र सुव्यवस्थाको सवाल त त्यहाँ उठ्छ जहाँ इमानदारको नेतृत्व हुन्छ। हाम्रो देशको राजनीतिमा इमानदारिता र जनताप्रतिको उत्तरदायित्व हराइसकेको यथार्थको साक्षी हो अहिले राजनीतिक दलहरूमा देखिएको जसरी पनि चुनाव जित्ने र सत्तामा पुग्ने रणनीति। के सत्ता मात्रै प्रजातान्त्रिक मुलुकको राजनीतिको केन्द्र हो ? के प्रतिपक्षको कुनै महत्त्व र भूमिका छैन ? जे जसरी भए पनि सत्तामा नै पुग्नुपर्ने, अझ हास्यास्पद कुरा त दलका शीर्ष नेताहरू आफूपछि आफ्नो परिवारमा नेतृत्व थमाउन लागि पर्नु हो। राजनीतिलगायत अन्य अवसरमा पहुँच नभएकाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले ल्याएको समानुपातिक तथा आरक्षणको व्यवस्थाको अहिले दलहरूले मजाक उडाइरहेका छन्। त्यसलाई नातागोता एवं हुनेखानेहरूको राजनीति गर्ने माध्यम बनाएर। योभन्दा अर्को दुर्नियति हम्रा लागि के हुन सक्ला ?
अभाव मात्रै छैन, हामीकहाँ। अथाह प्राकृतिक स्रोतसाधनका साथै बेजोड प्रतिभाशाली युवा पनि छन्। ती युवाले यहाँ अवसर नपाएर विदेशी भूमिमा विकास र विज्ञानको ऊर्जा थपिरहेका छन्। हालै सल्यान घर भएका १८ वर्षका विजय रानामगरले इलाममा पानीजहाज बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यहाँको पार्कमा निर्मित तालमा पर्यटकीय प्रयोजनका लागि पानीजहाज बनाउँदै गरेका उनले रोबोट पनि बनाएका छन्। हाम्रो विज्ञान–प्रविधि मन्त्रालयको ध्यान यस्ता युवामा किन जाँदैन ? महावीर पुनको आविष्कार केन्द्रले पनि बताइरहेको छ।
हामी प्रविधिमा कमजोर छैनौं तर पनि किन हाम्रा मेधावी युवा दिनहुँ सयौंको संख्यामा विदेश पलायन भइरहेका छन् ? यही तीतो यथार्थबाट विरक्त भएर त होला एक युवाले ‘मेरो देश बिरामी’ बोलको गीत गाएर पीडा पोखेको ! उनको स्वरमा स्वर मिलाउँदै अब हामीले आफ्नो देशको बिमारीको सही पहिचान गरेर निको बनाउने दक्ष चिकित्सकको खोजी गर्ने बेला आएको छ। जनताको विवेक र चेतनाले साँच्चै नै आँखा उघारेको हो भने आगामी निर्वाचनमा अदक्ष चिकित्सकहरू किनारिएर देश र जनताप्रति उत्तरदायी, नैतिक, इमानदार र देशभक्त चिकित्सकहरूको उदय अवश्य हुनेछ।