दसैं मनाउन गाउँ

दसैं मनाउन गाउँ

जिल्ला या गाउँतिरै दसैं मनाउन काठमाडौं छाड्ने क्रम बढ्दो छ। घटस्थापनादेखि घर जाने चहलपहल बढेको हो। यसपालि अनलाइनबाटै टिकट बुकिङको व्यवस्था थियो। विगतमा टिकट बुकिङ गर्न लाम लाग्नुपर्ने बाध्यता थियो। 

रुकुमका मनीष गौतम बानेश्वरमा डेरा गरी अध्ययन गर्छन्। दसैं मान्न उनी मंगलबार घर हिँडेका छन्। ‘दसैंमा काठमाडौंमै बस्नुपर्दा हैरानी लाग्छ। यसपालि घर गइसकेँ’, उनले भने। 

रोल्पाका रामबहादुर डाँगीले आउँदो शनिबारको टिकट लिएका छन्। कोभिड महामारीका बेला घर जान नपाएका डाँगी यसपालि हर्षित छन्। पिङ खेल्न उनलाई औधी मन पर्छ। काठमाडौंमा रोजगारी गर्दै आएका उनी चाडपर्वमा काठमाडौंमा बस्नुपर्दा साह्रै नरमाइलो लाग्ने गरेको बताउँछन्। 

सरकारले दसैंमा धेरै यात्रु बाहिरिने भएकाले कोही नठगिउन् भनेर होसियारी अपनाउने गरेको छ। नियमन गर्ने, गलत काम गर्नेलाई कारबाही गर्ने गरेको छ। अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य यातायात व्यवस्था विभागको सक्रियतामा पूर्णतः बन्द गरिएको छ। यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। गाडी बुकिङ गरेर घर जाने गरेका छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले यात्रुले अग्रिम टिकट बुकिङ गरिरहेको बताए। अनलाइन बुकिङ सिस्टम नजोडिएका ठाउँमा बसपार्कमै टिकट काट्ने गरेका छन्। घटस्थापनादेखि दैनिक लाखौं यात्रु ओहोरदोहोर गर्ने गरेको उनको भनाइ छ। 

कोभिडले घर जान नपाएका नेपाली यसपालि निर्बाध रूपमा घर गइरहेका छन्। विगतको तुलनामा यस वर्ष घर जानेको घुइँचो लागेको छ। यसपालि वर्षात् अझै सकिएको छैन। ठाउँ–ठाउँमा बाढीपहिरोले गर्दा यात्रा कष्टकर देखिएको छ। तर, पनि दसैंको रौनक अझ बढ्दै गएको छ। मंसिर ४ गते संघीय तथा प्रदेशको चुनाव हुँदै छ। चाडपर्वको रौनकसँगै चुनावको चहलपहल सुरु भइसकेको छ। काठमाडौं भने सुनसान हुन थालेको छ। 

सिटौलाले वर्षात् नरोकिएका कारण यात्रा असहज भए पनि हरेक दिन अग्रिम गाडी काठमाडौंबाट छुटिरहेको बताए। 

यातायात आवागमनलाई सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायत ठूला सवारीसाधन रोक लगाइने भएको छ। असोज १६ देखि २२ गतेसम्म  नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न पाइँदैन। यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले मुख्य सडक मर्मत, सम्भार गरी यातायात सञ्जाल सहज बनाउन सम्बन्धित निकायलाई अनुुरोध गरिएको बताए। 

सरकारले कोभिड—१९ को महामारीलाई मध्यनजर गरी मास्क प्रयोग गर्न लगाएको छ। स्वास्थ्य मापदण्ड पालना गर्न गरी सवारी सञ्चालन गर्नुका साथै खाना खाने ठाउँमा भीडभाड नहुने व्यवस्था मिलाउने सरकारले ध्यानाकर्षण गराएको छ। 

दसैंसँगै चुनाव पनि आउन थालेकाले अधिकांशले सहर छाडे पनि, सहर छोड्न थाले पनि केही भने गाउँ जान नपाउने भएका छन्। पछिल्लो समयमा डेगुंले महामारीकै रुप लिन थालेपछि घर जान इच्छुक भएकालाई पनि जान सकस हुने देखिएको छ। 

जाजरकोटका सुनिता राठौर डेंगुका कारण यसपालि घर जान नपाएको बताउँछन्। ‘घर जान टिकट पनि बुकिङ गरिसकेकी थिएँ। एक्कासी ज्वरो देखिएपछि जचाएको डेंगु देखियो, फेरि जचाँउनुपर्छ रे, जान पाइएला जस्तो छैन’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.