विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखराको विन्ध्यवासिनी मन्दिरमा डेढ दशकदेखि नवदुर्गा महोत्सव हुँदै आएको छ। नवरात्रिका अवसरमा हुने यस महोत्सवले विन्ध्यवासिनीको धार्मिक महŒव बोकेको छ। घटस्थापनाका दिनमा विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रूपको नौ वटी कन्याको झाँकी, १०८ कलससहितको नवदुर्गा शोभायात्रा निकाल्ने गरिन्छ। मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर शोभायात्रा टुंगिन्छ।
शोभायात्रामा नवदुर्गाको नौ रूपको झाँकीसहित नौ रूपमा सिंगारिएका नवकन्या पोखरा–१ सेती नदीबाट ल्याइएको जलसहितको एक सय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाँकी, भजन समूह, जातीय भेषभूषालगायतका सांस्कृतिक झाँकी, जातीय समाज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सहभागिता रहन्छ।
नवदुर्गा महोत्सवअन्तर्गत मन्दिर परिसरमा घटस्थापनाको दिनदेखि महानवमीसम्म दैनिक संगीतमय श्रीमद्देवी भागवत कथा वाचन हुने गर्छ। विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले बडादसंैमा महोत्सव आयोजना गरिँदै आएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । २०४८ सालमा दर्ता भएको यस समितिले २०६४ देखि नियमित रूपमा दुर्गा महोत्सव आयोजना गर्दै आएको छ। संस्कृति संरक्षणदेखि विश्वशान्ति तथा मानव कल्याणको कामना र जातीय सद्भाव तथा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने श्रेष्ठले बताए। महोत्सव अवधिभर समितिले करिव दुई लाख दर्शनार्थी आउने अनुमान गरेको छ।
विन्ध्यवासिनी मन्दिरको इतिहास
विन्ध्यवासिनी मन्दिरको इतिहास २ सय ५० वर्षभन्दा पुरानो छ। किंवदन्ती अनुसार मन्दिर स्थापनासँगै कास्कीका तत्कालीन राजा सिद्धिनरसिंह शाहले भारतको विन्ध्याञ्चलबाट माता विन्ध्यवासिनीको प्रतिमा ल्याएको कथन छ। १९४५ मा लालमोहर लगाएर दिएको आधारमा पौडेल दाजुभाइले विन्ध्यवासिनी मन्दिरमा पुजारीको काम गर्दै आएका छन्। पौडेलका सन्तानले २०७४ को साउनसम्म मन्दिरको पुजारी बस्दै आएकोमा २०७४ साउनबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पुजारीसँगै भेटी व्यवस्थापनको काम गर्दै आएको सचिव श्रेष्ठले बताए।
नेपाल सरकारले २०७२ मा जारी गरेको पुजारी आचारसंहितालाई आधार मानेर मन्दिरका पुजारीलाई मासिक तलब दिने गरी नियुक्त गरिएको छ। पहिलेका पुजारी हटाएपछि मन्दिरको आम्दानी वार्षिक चार करोड रुपैयाँले वृद्धि भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव श्रेष्ठले जानकारी दिए। विन्ध्यवासिनीमा प्रशासनिक भवन आयुर्वेदिक चिकित्सालय थियो। १९५८ मा देवशमशेरले त्यहाँ संस्कृति पाठशाला खोलेका थिए। त्यही कारण यसलाई धार्मिक, सांस्कृतिक केन्द्रको आस्था मात्र नभई शैक्षिक, स्वास्थ्यको महŒवपूर्ण स्थानका रूपमा पनि चिनिन्छ।
मन्दिरमा अहिले ५० जना कर्मचारी छन्। २०४३ सालमा धार्मिक विकास समितिको गठन गरी सांगठनिक रूपले विकास र संरक्षण गरिएको छ। समितिको स्थापनापछि राधाकृष्ण मन्दिर, शिव मन्दिर, गणेश मन्दिर, वृद्धा श्रम, सभा भवन, त्रिशूल निर्माण, जैनव द्वार, पार्क निर्माण, गुरुकुल आ श्रम, पानीको व्यवस्थालागयतका काम भएको श्रेष्ठले जानकारी दिए।
सामाजिक काममा अब्बल
वर्षौंदेखि पुजारीले लिँदै आएको भेटीलाई समितिले सामाजिक तथा धार्मिक काममा प्रयोग गर्दै आएको छ। पहिले कुनै आम्दानी नै नभएको मन्दिरमा अहिले वार्षिक चार करोडभन्दा बढी आम्दानी भइरहेको छ। तीन करोड रुपैयाँको लागतमा गुरुकुल विद्या आश्रम बनेको छ। २७ रोपनी क्षेत्रफलमध्ये आठ रोपनीमा भवन र १८ रोपनीमा गौशाला यज्ञ मण्डप बनाउन लागिएको छ।
मन्दिर परिसरमा विभिन्न किसिमका वृक्षरोपण गर्ने योजना अघि सारिएको छ। विन्ध्यवासिनी मन्दिरमा वृद्ध तथा अशक्तहरूका लागि लिफ्ट सञ्चालन गरिएको छ। विभिन्न धार्मिक अनुष्ठानअन्तर्गत दसंैको घटस्थापनादेखि नवदुर्गा महोत्सव, रामनवमी, कृष्णजन्माष्टमी, शिवरात्रिलगायत वर्षमा १२ देखि १५ वटा धार्मिक काम गर्ने गरेको छ।
प्राकृतिक चिकित्सालयको योजना
आयुर्वेदिक चिकित्सालयका लागि १३ करोड खर्च लाग्ने अनुमान गरिएको छ। विन्ध्यवासिनी धार्मिक विकास समितिको ५३ रोपनी जग्गामध्ये मन्दिर परिसर २७ रोपनीमा फैलिएको छ। गुरुकुल विद्याआश्रम २१ रोपनी जग्गामा बन्दैछ। जहाँ एक सय जनाले निःशुल्क अध्ययन गर्न पाउने छन्।