काबुलको एक परीक्षा केन्द्रमा आत्मघाति बम विष्फोट, कम्तिमा १९ जनाको मृत्यु
काबुल : अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति बम विष्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार काबुलको पश्चिमी सहर दश्त-ए-बार्चीको काज एजुकेशन सेन्टरमा बम विष्फोट भएको हो।
विद्यार्थीहरू परीक्षामा सहभागी भइरहेका बेला बम विष्फोट गराइएको प्रहरीको भनाइ छ। उक्त क्षेत्रमा हजारा समुदायको बसोबास धेरै रहेको छ। सोही समुदायलाई लक्षित गरेर बम विष्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाको तालिबानले भर्त्सना गरेको छ। गृह मन्त्रालयले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गरिने बताए। 'आम नागरिकमाथि भएको घटनाको जति निन्दा गरे पनि कम हुन्छ। घटना गराउनेहरुमा अमानवीय क्रूरता र नैतिकताको कमी रहेको छ,' अब्दुल नन्फी टाकोरले भनेका छन्।
पछिल्लो समय तालिबानविरुद्ध इस्लामिक स्टेटले निरन्तर आक्रमण गर्दै आएको छ। बार्ची क्षेत्रमा आक्रमणकारीले स्कुल र अस्पताललाई निशाना बनाउँदै आएको छ।