गायिका जुनु श्रेष्ठको 'जुन' दर्शक माझमा
काठमाडौं : करिब तीन दशक अगाडि निकै चर्चामा रहेकी गायिका जुनु श्रेष्ठ आफ्नो नयाँ एल्बम 'जुन' लिएर श्रोता एवं दर्शकमाझ आएकी छन्।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र चर्चित गायक दीप श्रेष्ठले बिहीबार एक समारोहबीच जुनुका गीतहरूको म्युजिक भिडिओको सार्वजनिक गरेका छन्।
प्रमुख अतिथिद्वयका साथमा विशेष अतिथि बरिष्ठ गायिका संगीता राना प्रधानको उपस्थितिमा सम्पन्न कार्यक्रममा जुनका छवटा गीतका म्युजिक भिडिओ सार्वजनिक गरियो।
लामो समयको विश्रामपछि पुन सांगितिक क्षेत्रमा उदाएकी गायिकाको एल्बम जुनमा नेपाल भाषाका चारवटा र नेपाली भाषाका दुईवटा गरी छवटा गीतहरू समेटिएका छन्।
एल्बममा जी शाह, जनकवि दुर्गालाल श्रेष्ठ, बद्री बेदना, सरला श्रेष्ठलगायतका रचनाकारका गीतहरू छन् भने गोविन्द हिउमत, दिपेन्द्र मान सिंह र अनिल शाहीलगायतका संगीतकारले ती गीतहरूमा संगीत भरेका छन्। भिडिओ निर्देशन, क्यामरा र सम्पादन कार्य सोहन मानन्धरले गरेका छन्।
कार्यक्रममा नेपाल भाषा म्युजिक भिडिओका प्रथम निर्देशक एवं सिने पत्रकार विजयरत्न तुलाधर र साहित्य, कला एवं चलचित्र विश्लेषक प्रकाश सायमीले सार्वजनिक गरिएका गीतहरूको समिक्षा गरे।