त्यो कविकुञ्ज, यो महाकवि संग्रहालय
काठमाडौं : सरकारले पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा संग्रहालय बनाएको छ। भूकम्पले जीर्ण बनाएको महाकविको ‘कविकुञ्ज’मा नेपाल प्रज्ञा प्रतिष्ठानले डोजर चलाएपछि विरोधका स्वरहरू गुञ्जिए। परम्परागत शैलीमा केही आधुनिकता थपेर नयाँ संरचना बनाएर शुक्रबार संग्रहालय बनेपछि सरकारलाई धन्यवाद दिनेहरू पनि देखिएका छन्। संग्रहालयको उद्घाटनपछि पनि फरक मत आइरहेकै छन्।
साइनबोर्ड झुन्ड्याउँदैमा संग्रहालय हुँदैन
‘साइनबोर्ड झुन्ड्याउँदैमा महाकविको घर (संग्रहालय) हुँदैन। महाकविको घरको अस्तित्व मेटिएको देखेर म एकदम दुःखी छु।’ नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय बनाएर शुक्रबार उद्घाटन गरेपछि बेलायत बस्दै आएका नेपाली साहित्यकार कृष्ण बजगाईंले सामाजिक सञ्जालमा यसरी प्रतिक्रिया जनाएका हुन्। २००२ सालमा किनेर २००४ सालमा माथिल्लो तला थपेर बसोबास गरेका देवकोटाको २०१६ सालमा निधन भएपछि उक्त घर बेवारिसे अवस्थामा थियो। भूकम्पले जीर्ण बनाएपछि संग्रहालय बनाउने क्रममा प्रतिष्ठानले डोजर चलायो। त्यसपछि कसैले सरकारी तवरबाट पहिलोपटक स्रष्टाका नाममा संग्रहालय बन्ने भयो त कसैले सम्पदा नष्ट भयो, यस्तै यस्तै सकारात्मक-नकारात्मक टिप्पणी भए।
भूकम्पले जीर्ण बनाएको मैतीदेवी, काठमाडौंस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्ज र नेपाल प्रज्ञा प्रतिष्ठानले सोही स्थानमा बनाएको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय (दाहिने)। अशोक दुलाल
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संग्रहालय बने पनि कविकुञ्ज बाँकी नरहेको बताए। ‘कविकुञ्ज भत्काएर प्रज्ञा प्रतिष्ठानले अपराध गरेको छ। नयाँ संरचना संग्रहालय त बन्यो तर कविकुञ्ज रहेन।’ देवकोटाकी छोरीले भनेर भत्काए पनि उक्त घर राष्ट्रको सम्पत्ति भएको उनको तर्क छ। साहित्यकार तुलसी दिवसले देवकोटाको जीवन पद्धतिलाई कायम गरेर पहिलेकै घर जस्ताको तस्तै राख्न सकेको भए महाकविप्रति सच्चा सम्मान हुने बताए। उनले अन्नपूर्णसँग भने, ‘पूरा भग्नावशेषलाई यथास्थितिमा राख्न त्यति सजिलो त थिएन। तर सबैसँग सुझाव लिएर गरेको भए विवादरहित हुने थियो। विश्वभर कविलेखकका घरलाई संग्रहालय बनाइन्छ। पुरानो संरचना ढालेर जसरी भए पनि संग्रहालय त बनाएको छ। तर, काम गर्ने ढंग र पद्धतिमा प्रज्ञा प्रतिष्ठान चुकेकै हो।’ जनस्तरदेखि सरकारसम्म मरेपछि सम्मान गर्ने रोग रहेको भन्दै उनले कविलेखकलाई मृत्युपरन्तभन्दा जीवन्त हुँदै सम्मान गर्नु उचित हुनेमा जोड दिए।
नयाँ बनाउँदा आकाश खस्दैन
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले पनि संग्रहालय बनाएर प्रज्ञा प्रतिष्ठानले सराह्रनीय काम गरेको बताए। उनले भने, ‘तर, देवकोटा रहेको घरलाई जस्ताको तस्तै त्यही अवस्थामा पुनर्जीवित गर्नुपथ्र्यो। त्यस्तो सम्पदा हामीले गुमाउनु हुँदैनथ्यो। त्यो त राष्ट्रको सम्पत्ति हो।’ ग्वंगःले उद्घाटन गरिएको संग्रहालय पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा गरेकाले त्यसको श्रेय पाउने बताए। उनले थपे, ‘कम्तीमा सरकारले महाकविका नाममा संग्रहालय चाहिँ बनाएको हो। सरकारमा पुग्ने सबैले यस्तै विशेष काम गर्नुपर्छ।’
लेखक खगेन्द्र संग्रौलाले प्रतिष्ठानले कविकुञ्जमा डोजर लगाएपछि प्रतिक्रिया दिएका थिए, ‘महाकविको घर भत्काएर चिटिक्क संग्रहालय बनाउने रे। यो चिटिक्क महाकविको घरको चिहानमाथिको बिरूप संग्रहालय हुनेछ।’ साहित्यकार हरि अधिकारीको तर्क फरक छ।
‘महाकविले बनाएको त्यो घर पुरातात्विक महत्त्वको होइन। उनको स्मृतिलाई चीरस्थायी बनाउन त्यो पुनर्निर्मित घरमा डिजाइन र मेक अलिअलि फरक हुँदा आकाश खस्दैन’, उनी सामाजिक सञ्जालमा टिप्पणी गर्छन्, ‘मुख्य कुरो त्यस संग्रहालयमा महाकवि सम्बन्धित कति प्रामाणिक र योग्य सामग्री राख्न सकिन्छ, त्यो मात्र हो।’
‘जस्ताको तस्तै बनाउन खोज्यौं तर सकिएन’
प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले चीन भ्रमणमा रहँदा साहित्यकार लु सुनको घर संग्रहालय बनाएको देखेपछि नेपालमा पनि कवि साहित्यकारको यस्तै संग्रहालय बनाउन पाए हुने भन्ने मनमा आएको बताए। उनले भने, ‘नेपालका साहित्यकारको अवस्था के होला त ? भनेर केही वर्षदेखि मनमा थियो। प्रज्ञा प्रतिष्ठानले महाकविको नाममा संग्रहालय बनाएर सही काम गरेको छ।’ देवकोटापछि उनकी कान्छी छोरी बस्दै आए पनि क्यान्सर लागेर निधन भएपछि कविकुञ्ज बेवारिसे भएको प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत प्रेक्षितले जानकारी दिए। महाकवि मोही भएको गुठीको उक्त १२ आना एक दाम जग्गा सरकारले उपलब्ध गराएको २ करोड ५० लाख रुपैयाँ देवकोटा परिवारलाई दिएर प्रतिष्ठानले संग्रहालय बनाएको हो। संग्रहालय बनाउन ७ करोड ११ लाख ७२ हजार ३ सय ९४ रुपैयाँमा ठेक्का दिइएकोमा झन्डै एक करोड कममै काम सम्पन्न भएको छ।
‘कविकुञ्जलाई जस्ताको तस्तै बनाउन काम थाल्ने योजना बन्यो तर घरमा जहाँ टेक्यो त्यहीँ भत्क्यो। मक्काएका काठ जहाँ छोयो त्यहीँ धुलियो। इँटा पनि छोएपिच्छे धुलियो’, प्रतिष्ठानका सदस्यसचिव उपाध्यायले भने। २०७२ सालको भूकम्पले उक्त घर जीर्ण बनाएको थियो। उनले अन्नपूर्णसँग भने, ‘अझै पनि रेट्रोफिटिङ गर्न सकिन्छ कि भनेर इन्जिनियरसहित प्राविधिक टोलीलाई अध्ययन गरायौं। प्रतिवेदनले त्यसो गर्न नसक्ने अवस्था देखाएपछि नयाँ बनाएका हौं।’ उनका अनुसार, सर्वोच्च अदालतले दिएको आदेशबमोजिम तीन तला, दुई पाखे, छानो भएको र नेपाली मौलिक शैलीको घर पुरातत्व विभागसँगको समन्वयमै बनाइएको हो। प्रतिष्ठानले संग्रहालयमा लिफ्ट बनाएको छ। उपाध्यायले भने, ‘ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति जसले पनि देवकोटाबारे पुरातात्विक सामग्री हेर्न पाऊन् भनेर लिफ्ट बनाइएको हो।’
‘पुरानै आकृति आउने गरी कविकुञ्जलाई संग्रहालय बनाएका छौं’
पुरातŒव विभागका प्रवक्ता रामबहादुर कुँवरले प्रज्ञा प्रतिष्ठानले विभागको स्वीकृति र सहकार्यमै काम गरेको बताए। उनले भने, ‘मौलिक स्वरूपमा परिवर्तन नगरी र परम्परागत सामग्री प्रयोग गर्ने सर्तमा काम सुरु गरिएको हो। विभागले निर्माणका क्रममा बीचबीचमा अनुगमन गरेको छ।’ देवकोटाकी छोरी अम्बिकाले सरकारले संग्रहालय बनाएर बुवालाई झनै जीवित बनाएको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘यसै जीर्ण भएर रहेको घर सुन्दर संग्रहालय बनेको छ। बुवा हुँदै बनाइदिएको भए राम्रो हुनेथियो। जेहोस् यसले स्रष्टाको सम्मान भएको छ।’ नातिनी मनिला वन्तले इतिहास बचाउने काम भएको बताइन्। थपिन्, ‘जे भए पनि अब संग्रहालयको रूपमा महाकवि देवकोटाका सारा कुरा नेपाल राष्ट्रको सम्पत्ति भएका छन्।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविकुञ्जको खास अवस्था नबुझेर केही व्यक्तिले विरोध गरेको बताए। उनले भने, ‘प्रज्ञा प्रतिष्ठानले नबुझेर वा मनोमानी ढंगले काम गर्नका लागि कविकुञ्ज भत्काएको होइन। जीर्णोद्धार गर्न अनेक उपाय लगाएकै हो। पुरानै स्वरूपमा राख्न मन भए पनि नसकिने अवस्था भएर नयाँ संरचनामा संग्रहालय बनाएका हौं।’ उनले चित्तधर हृदयको घरलाई नमुना मानेर पुरानै स्वरूपमा जोगाउन अनेक उपाय लगाएको बताए। ‘घरको जग माटोको थियो। काठ सबै मक्काएका थिए। तलाहरू भुइँमा झरिसकेका थिए। सल्लाका काठ र बाँसका भाटामा माटो लगाएर बनाएकाले हामीले कुनै विकल्प भेटेनौं’, उनले थपे, ‘पुरानै आकृति आउने गरी कविकुञ्जलाई संग्रहालय बनाएका छौं।’ उनका अनुसार, पुरानो घरका केही सग्ला इँटा र दुईवटा पुरानै झ्याल नयाँ संरचनामा प्रयोग गरिएका छन्। कुनै पनि स्रष्टाका नाममा सरकारले बनाएको संग्रहालय महाकविका नामको यो नै पहिलो हो।
के छ संग्रहालयमा ?
मैतीदेवी मन्दिरबाट मैतीदेवी चोकतिर लागेपछि दाहिनेपट्टि शास्त्री मार्ग देखिन्छ। सोही बाटो सय मिटरभन्दा बढी पैदलयात्रा गरेपछि संग्रहालय पुगिन्छ। डिल्लीबजारतर्फबाट कविमार्ग समातेर पनि संग्रहालय पुग्न सकिन्छ। संग्रहालय परिसरमा प्रवेश गरेपछि देब्रेपट्टि महाकवि देवकोटाको पूर्णकदको सालिक देख्न सकिन्छ। सालिक परिसरमा हरियाली छ भने प्रवेशद्वार सामुन्नेमा सानो छहरा छ।
भुइँतलामा स्वागत कक्ष र पाहुनालाई बस्ने ठाउँ छ। भित्रपट्टिको कक्षमा श्रव्यदृश्य हेर्ने व्यवस्था मिलाइएको छ। संग्रहालय भ्रमण गर्न आउनेले देवकोटासँग सम्बन्धित सबै श्रव्य र दृश्य सुन्न र हेर्न पाउनेछन्। जसमा नेपाल टेलिभिजन र बीबीसीबाट पनि दृश्य र श्रव्य प्राप्त भएका छन्। पहिलो तलामा देवकोटाले लगाएका दौरासुरुवाल, कपडा, उनी सुतेको खाट, उनले प्रयोग गरेको टेबल, हार्मोनियम, चुरोटको एस्ट्रे आदि राखिएका छन्। दोस्रो तलामा देवकोटाले लेखेका कृतिहरू, उनका बारेमा लेखिएका कृतिहरू, उनका विषयमा प्रकाशित पत्रपत्रिका, अप्रकाशित पाण्डुलिपि आदि राखिएका छन्। उनले बसेर कवितावाचन गरिरहेको मूर्ति छ।
संग्रहालयको सबैभन्दामाथि बुइँगल छ। जहाँ देवकोटा र उनको संग्रहालयबारे र सम्बन्धित विषयमा छलफल गर्न सकिनेछ। प्रतिष्ठानले माग गरेका देवकोटासँग सम्बन्धित सामग्री थप्दै जाने जनाएको छ। देवकोटासँग सम्बन्धित जुनसुकै सामग्री पनि संग्रहालयमा दिएर सहयोग गर्न सूचना जारी गरेको छ।
पूर्णिमाको जलधि
१. पहिलो चार हरफ
पूर्णिमाको सुन्दरतामा
उछिलियि उछिलियि गहिराइ
उठ्दछन् लहरी भाषा तटमा
ठुकरायी, ठुकरायी।
२. चार हरफ
गम्भीरताको गुँज्दछ गाना
मेरो प्राण–पवनमा
भावहरूका उठ्छन् लहरी
लहरायी, लहरायी।
गोरखापत्र (१९९१ मंसिर १५) मा
छापिएको पहिलो कविता ।
स्रष्टाका दृष्टिमा देवकोटा
‘सरस्वती पुत्र महाकवि देवकोटा साहित्य जगत्मा तीनपटक जन्मिए, मुनामदनसँग, शकुन्तलासित र पागलसित। उनी एकचोटी पनि नमरी जन्मिरहे। नेपाली साहित्यसित सदैव जीवित रहिरहे।’
– बालकृष्ण सम, नाट्यसम्राट
‘देवकोटा कवि हुन्, सयत्न कवि होइनन्। जन्मेकै कवि हुन्। जन्मजात उदयवान्।’
– भवानी भिक्षु, साहित्यकार
‘महाकवि देवकोटा आजसम्म नेपालमा जन्मेका साहित्यकारमध्ये सबैभन्दा बढ्ता प्रतिभाशाली र शक्तिशाली हुन्। उनको जीवन पवित्र, सहज र लचकदार थियो। उनी
निष्पाप र निष्कपट हुनाले नै अत्यन्त लोकप्रिय भएका हुन्।’
– भीमनिधि तिवारी, नाटककार
‘देवकोटाको धाराप्रवाह साहित्य चर्चा सुन्दा, स्वच्छता र सरलता देख्ता, चमत्कारपूर्ण ब्यँुत्पत्ति र प्रतिभासँग साक्षात्कार गर्दा ममाथि त्यसबेला उनीप्रतिको एक अमिट छाप प¥यो। उनमा विद्यार्थीलाई मुग्ध पार्ने शक्ति थियो।’
– सरदार यदुनाथ खनाल
‘देवकोटाले सबै जाति र वर्गको उत्थानमा कलम चलाए। तर उनको अन्त्य अवस्थाको अभिव्यक्ति केदारमान व्यथित र माधवप्रसाद घिमिरेले टेपमा भरेका थिए। वास्तवमा भन्ने हो भने हीरालाई कीराले बिगार्छ भन्ने उखान जस्तै गरी हामीले देवकोटाको हीराजस्तो बहुमूल्य जीवनमा कीरा लागेर नष्ट ग¥र्यौं।’
– श्यामदास वैष्णव, नाटककार
महाकविको मानवतावाद पनि पहिले आफ्नो घर (राष्ट्र)बाट हुने भएकाले उनलाई मानवतावादी भन्नु र राष्ट्रवादी भन्नु एकार्काका पर्यायवाची सम्बोधन हुन्। वास्तवमा देवकोटा प्रकृतिप्रेमी, मानवप्रेमी र राष्ट्रप्रेमी संवेदनशील स्रष्टा हुन्।’
– लोकेन्द्रबहादुर चन्द, साहित्यकार एवं पूर्वप्रधानमन्त्री
‘राष्ट्रभक्ति भावनाका देवकोटाका प्रायः लेखका पात्र राष्ट्र र राष्ट्रियतामा समर्पित छन् भने उनका कविता र प्रबन्धहरूले राष्ट्रियताप्रति गर्व गरेका छन्। उनी नेपाली भाषा, नेपाली मुद्रा, नेपाली पोसाक र नेपाली बोलीका पक्षपाती थिए।’
– मदनमणि दीक्षित, महाकाव्यकार
महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्यमा अहिलेसम्मका सर्वश्रेष्ठ पुरुष हुन्। उनी केवल साहित्यकार मात्र थिएनन्, आफ्ना समयका बौद्धिक, शैक्षिक र राजनीतिक क्षेत्रका नेता पनि थिए। देवकोटाको युग पुराना र नयाँ मान्यताको सन्धिकाल हो।’
– चूडामणि बन्धु, साहित्यकार
एवं भाषाविद्
‘महाकवि देवकोटाका बारेमा १० मिनेटभित्र बोल्नु, योभन्दा ठूलो अग्निपरीक्षा के होला ? योभन्दा ठूलो अन्याय के होला ? यो अन्याय मैले खेप्ने कि देवकोटाले ? देवकोटा त छैनन्, मैले नै खेप्नुपर्ला।
– राजेश्वर देवकोटा, साहित्यकार,पूर्वमन्त्री