दसैंका लागि घर फर्किंदै नेपाली (फोटोफिचर)
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१४ फूलबारीका सत्यराज शाही भारतको केरलामा काम गर्छन्।
गत वर्षको दसैं मनाएर भारत पसेका उनी बुधबार गौरीफन्टा नाका भएर दसैंका लागि घर फर्किए। 'दसैंमा रमाइलो हुन्छ, बालबच्चा प्रतिक्षामा बसेका हुन्छन्, त्यसैले १५ दिनको छुट्टी मागेर आए,' शाहीले भने। उनी केरलामा होटलमा वेटरको काम गर्छन्।
डोटीको महादेवस्थानका जंगे भाट पनि झोलीगुन्टा बोकेर गोरीफन्टा नाका भएर बुधबार घर फर्किएका छन्। 'दसैं मनाउन आएको सर, ६ महिना भयो भारतमा गएको' उनले भने। 'भारतमा चौकीदारीको काम गर्छु। भारतमा दसैंमा बिदा पाइन्छ, तिहारमा बरु पाइँदैन, त्यसैले दसैं मनाउन आएको।'
कैलालीकै मोहन्याल गाउपालिकाकी तिला सिजाली पनि दसैंका लागि घर फर्किएकी छिन। श्रीमानसँगै भारतको केरालामा काम गर्ने उनी दसैंका लागि भनेर घर फर्किएकी हुन्।
'घरमा बालबच्चा छन्, बहिनीको घरमा बसेर पढ्छन्, दुवै बुढाबुढी भारतमा काम गरेर उनीहरूको पढाइ खर्च जुटाउँछौं, श्रीमानले छुट्टी पाउनु भएन, दसैंका बेला बालबच्चाहरू निरास होलान् भनेर म मात्रै आएको,' उनले भनिन्।
धनगढी उपमहागरपालिका-१९ की सरस्वती शाही पनि भारतको केरालामै लिज्जत पापड कम्पनीमा काम गर्छिन्। श्रीमानसँगै कम्पनीमा काम गर्ने सरस्वती पनि बुधबार गौरीफन्टा नाकाबाट घर फर्किइन्। 'वर्षभरीको ठूलो चाड हो, श्रीमानले आउन पाउनु भएन, बालबच्चाका लागि आएको', उनले भनिन्।
सुदूरपश्चिमका मुख्य गरी चारवटा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट दसैंका लागि घर फर्किने नेपालीहरूको भिडभाड सुरु भएको छ।
फूलपातीदेखि मात्रै गौरीफन्टा नाकाबाट साढे चार हजार नेपाली दसैंका लागि घर फर्किका छन्। सीमा सुरक्षा बल कैलालीका अनुसार असोजको १० गते यता मात्रै यत्ती धेरै नेपालीहरू घर फर्किएका हुन्।
सीमा क्षेत्रमा स्थानीय तहहरूले कोभिडको भ्याक्सीन र एन्टिजेन परीक्षणको व्यवस्था गरेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले भारतबाट आउने सबैको एन्टिजेन परीक्षण र खोपको व्यवस्था गरिएको बताए।
निर्देशनालयले गौरीफन्टमा तीन दिनमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि सीमा क्षेत्रमा हेल्पडेस्क (सहायता कक्ष) राखेका छन्।
भारतबाट आउने नेपालीहरूलाई परेको समस्या समाधानका लागि हेल्पडेस्क राखिएको कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी बेदप्रकाश जोशीले बताए।