चार वर्षीय भतिजोलाई रडले हानेर हत्या गरेको अभियोगमा पक्राउ
जनकपुरधा : भतिजोको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ कुचाई टोल बस्ने चार वर्षीय बालकको हत्या गरेको अभियोगमा २८ वर्षीय रवि पासमान पक्राउ परेका हुन्।
जिल्लाको धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ कुचाई टोलका किसन पासवानको नाबालक छोरा ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा काका रविलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो।
गत बुधबार घरमै खेलिरहेका उनलाई गम्भीर घाइते अवस्थामा फेला परेपछि उपचारका लागि महेन्द्रनगर हेल्थ केयर लगिएकोमा चिकित्शकले मृत घोषणा गरेका थिए।
मृतकको आफ्नै सहोदर काकाले घरमा कोही नभएको बेला खलको फलामको मुडकी (रडले) हानी हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
अनुष पासवानको टाउकोमा प्रहार गरी फरार भएकोमा निजलाई सोही दिन पक्राउ गरी हत्या गर्न प्रयोग भएको खलको फलामको मुडकी (रड) समेत बरामद गरेको छ।
पक्राउ परेका पासमानलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख उपरीक्षक रजौरेले जानकारी दिए।