रुस–युक्रेन युद्धले बिथोलेको शान्ति
हरेक वर्षको अक्टोवर २ मा विश्व अहिंसा दिवस मनाइने गरिन्छ। विश्वमा आतंकवाद, हिंसा र अशान्ति बढ्दै गएकाले सन् २००७ मा भएको संयुक्त राष्ट्रसंघको महासभाले भारतीय महान्नेता महात्मा गान्धीको जन्मदिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउने घोषणा गरेको थियो। यसलाई तत्कालिन भारतीय प्रधानमन्त्री सोनिया गान्धीले प्रस्ताव गरेकी थिइन्। सन् २००८ देखि नेपाललगायत राष्ट्रसंघका १ सय १३ सदस्य राष्ट्रले यो दिवस मनाउन सुरु गरे। हाल संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्रमध्ये १ सय ४० मा मनाइने गरिन्छ। यस अवसरमा शान्ति र अहिंसाका लागि सचेतनाका विभिन्न कार्यक्रम गरिन्छन्।
सन् २००७ को संयुक्त राष्ट्रसंघको महासभाले पारित संकल्प प्रस्तावमा अहिंसाका लागि शिक्षाको महŒव अपनाउन जोड दिइएको थियो। भनिएको छ– ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको सिद्धान्तलाई शान्तिको माध्यमबाटै सुरक्षित गर्न सकिन्छ।’ यसपालिको अहिंसा दिवसको नारा– ‘इण्ड रेसिसम् ब्यूड् पिस’ जातीयवादको अन्त्य गर्दै शान्तिको निर्माण गरौं भन्ने छ। अक्टोवर २ मा महात्मा गान्धी (मोहनदास करमचन्द्र गान्धी) को जन्मदिन भएकाले गान्धी जयन्ती पनि मनाइन्छ। भारतमा त्यस दिन बिदा दिने प्रचलन छ। गान्धीले बेलायती उपनिवेशबाट भारतलाई अहिंसाका माध्यमबाटै मुक्त गराएर स्वतन्त्रता प्रदान गरेका हुनाले त्यस दिन उनको योगदानको विश्वभर चर्चा–परिचर्चा हुने गर्छ।
अमेरिकाको न्यूयोर्कस्थित संंयुक्त राष्ट्रसंघको हेडक्वाटर अगाडिको कृति हिंसाको रूपमा चर्चित छ। यसमा बन्दुकको नाललाई बंग्याएर बेरिएको छ। यो प्रसिद्ध कृति अहिंसाको प्रतिमूर्ति हो। यसलाई कलाकार कार्ल प्रेडरिक स्टेसवार्डले सिर्जना गरेका हुन्।
विश्वमा हिंसा बढिरहेको छ। संसारमा हिंसाले गर्दा डर र त्रासदी बढाएको छ। नेपालमा २०५२ सालबाट सुरु भएको माओवादी द्वन्द्वले दस वर्षमा १७ हजारभन्दा बढी ब्यक्तिको ज्यान गएको थियो। धनसम्पत्तिको नाश त्यत्तिकै भयो। सबै नेपाली जनता डर र त्रासमा जिउन बाध्य भए। माओवादी शान्ति प्रक्रियामा आएपछि देशमा यो अवस्था रहेन। हरेक वर्ष दसैंका बेला लाखौं पशुबली दिइन्छ। यो पनि हिंसा नै भएको र देवीलाई खुसी पार्ने बहानामा निरीह पशुहत्या गर्नु गलत भएको अहिंसावादीको धारणा छ। उनीहरू दसैंलाई मासुको पर्यायवाची मान्नुभन्दा पनि अन्नपातबाट अनेकथरी परिकार बनाएर खान सुझाव दिन्छन्।
केही महिनाअघि अमेरिकाको टेक्सास गोलीकाण्डमा १९ विद्यार्थीसहित अन्य दुईको ज्यान गएको थियो। यो घटना १८ वर्षीय साल्भाडर रामोसले रब एलिमेन्टरी स्कुलमा आक्रमण गर्दा भएको थियो। उत्तर कोरिया आणविक हतियारको निर्माणमा लागेको धेरै भइसक्यो। बेलाबेलामा उसले दिने आणविक अस्त्रको धम्कीले विश्वका विकसित र धनाढ्य राष्ट्रलाई समेत त्रास पैदा गरेको देखिन्छ। सिरिया र अफगानिस्तानमा लामो समयदेखि चलेको हिंसा अझै रोकिएको छैन। यसबेला सात महिनादेखि चलेको रुस–युक्रेनको युद्धले विश्वमा चर्चा पाएको छ।
रुसले युक्रेनका लुहान्स्क, दोनेत्स्क, जायोरिजिया र खेर्सन क्षेत्रलाई गत शुक्रबार आफ्नो देशमा गाभेको जनाएको छ। पश्चिममा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले यसको विरोध जनाएका छन्। यसैगरी, रुसले सन् २०१४ मा पनि युक्रेनको क्राइमियालाई गाभेको जनाएको थियो। यसको पनि अमेरिकालगायत युरोपेली संघले विरोध गरिरहेका छन्। युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता हजारौं सैनिक र सर्वसाधारणको ज्यान गइसकेको छ भने लाखौं युक्रेनी विस्थापित छन्। हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप तीन लाख सैनिक युक्रेन युद्धमा खटाउने निर्णय गरेपछि युद्धमा सहभागी हुनुपर्ने त्रासले रुस छाड्ने परिवारको संख्या दिनानुदिन बढेको छ।
देशभित्रै पनि त्यस घोषणाको तिब्र विरोध र प्रदर्शन भइरहेका छन्। अमेरिकालगायत युरोपेली संघले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरिरहेको जनाएका छन्। रुसले युक्रेनको चार क्षेत्र गाभेको घोषणा गरेस“गै युक्रेनी राष्ट्रपति जेलेस्कीले छिट्टै नेटोको सदस्यता लिने जनाएका छन्। उनले ‘फास्ट ट्रयाक’ बाट नेटोको सदस्यता लिन आवदेनपत्रमा हस्ताक्षर गरेका हुन्। सरकारी तथ्यांकअनुसार रुसले युक्रेनमाथि सैन्य कारबाही थालेयता ४० हजारभन्दा बढी युक्रेनी नागरिकले देश छाडेर जर्जियाको राजधानी टिब्लिसी पुगिसकेका छन्। पुटिनको घोषणाको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई रुसमा धरपकड गर्ने क्रम बढिरहेको छ।
संयुक्त राष्ट्रसंघले जनाएअनुसार २५ सयभन्दा बढीलाई पक्राउ गरिएकोमा अझै करिब सात सयलाई छाडिएको छैन। यो युद्धले विश्वमै इन्धनको अभाव र मूल्यमा झन्डै दोब्बर महंगो बनाएको छ। इन्धनको मूल्य बढ्दा अन्य सबै किसिमका सामानको मूल्यमा वृद्धि भएको छ। भर्खरै मात्र कोभिड–१९ ले संसारलाई शिथिल बनाएकोमा यो युद्धले त झनै गाल्दै लगेको छ। यसबाट युक्रेनका जनता डर र त्रासको रापबाट बा“च्न बाध्य छन् भने रुसका जनता पनि शान्तिपूर्ण जीवन बिताउन सकेका छैनन्। युद्धले कुनै पनि समस्याको समाधान दिँदैन, यसले त झन् अशान्ति मच्चाउने र आतंकमात्र फैलाउ“छ। यो बाटोबाट रुस र युक्रेन तत्काल मोडिन आवश्यक छ। नत्र यसले विश्वलाई नै युद्धमा होम्न र सन्तापले पिरोल्न सक्छ।
विश्वमा अहिंसाको विगुल फुक्ने गौतम बुद्धको जन्म पनि नेपालमै भएको थियो। उनले विश्वलाई दिएको उपदेशको पालना गर्दै उनलाई सम्झनु पनि यसबेला सान्दर्भिक हुनेछ। अब, हामीले आउ“दो पुस्तालाई असहमति र द्वन्द्वबाट कसैलाई फाइदा गर्दैन। त्यसलाई शान्तिपूर्ण तवरले समाधान गर्न लाग्नुपर्छ। आत्मीयता र सदाचारको महŒव सिकाएर ‘अहिंसा परमो धर्म’को ज्ञान दिँदै शान्तिपूर्ण जीवन जिउने वातावरण सिर्जना गर्नु नै यस दिवसको सान्दर्भिकता हुनेछ।