भक्तपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
भक्तपुर : भक्तपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ भक्तपुर, भक्तपुर नगरपालिका वडा नं २ स्थित पुरानो जनज्योति पुस्तकालय परिसरमा राखिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा भने मध्यपुर थिमि नगरपालिका-९ स्थित कृषि विकास बैंक तालिम केन्द्र बोडेमा स्थापना गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला (जिल्ला न्यायाधीश, भक्तपुर जिल्ला अदालत) र निर्वाचन अधिकृत लोकनाथ पराजुली (इजलास अधिकृत, सर्वोच्च अदालत) नियुक्त भएका छन्।
कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले भक्तपुर जिल्लामा कायम अन्तिम मतदाता, मतदानस्थल र केन्द्रहरूको विवरण निश्चित भइसकेको बताए। भक्तपुरमा दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्।