घरमा हुनसक्छ चोरी, यसरी अपनाउन सकिन्छ सावधानी
काठमाडौं : दसैं मनाउन गाउँ जाने योजनामा हुनुहुन्छ ? दसैंका लागि लत्ताकपडा, खाद्यान्नलगायत अत्यावश्यक सामान जुटाउनु भयो होला । पर्वका लागि आवश्यक तयारी गरे जसरी नै घर, कोठा तथा सामानको सुरक्षाको पनि ख्याल गर्नुभयो कि छैन ? समयमा ख्याल नगरे पछुताउनु पर्ला । घरको सुरक्षाका विषयमा पनि यो समय ख्याल गर्नुपर्छ ।
प्रत्येक वर्ष चाडपर्वको मौका छोपेर चोरी, डकैती बढ्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । गाउँमा भन्दा सहरमा यो समय सुनसान हुने भएकाले घर र बसेको कोठाको सुरक्षामा सावधानी अपनाउनुपर्ने बताउँछन्, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली । भन्छन्, ‘यो समयमा विशेष ख्याल गर्नुपर्छ । घरमा भएका नगद, सुनचाँदी र अन्य सामग्रीको चोरी, डकैती हुने भएकाले सबैभन्दा पहिले घरधनी आफैं सचेत बन्नु पर्छ । हामीले पनि सुरक्षाका विशेष योजना ल्याएका छौं । यसमा नागरिकको पनि साथ चाहिन्छ ।’
चाडपर्वको नाममा पछिल्लो समय समाजमा विकृति पनि बढिरहेकाले विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ । घरमा चाबी लगाएर सबैजना चाडपर्व मान्न गाउँ वा मान्यजनकोमा जाँदा यो समय चोरी र डकैती बढ्ने सम्भावना धेरै हुन्छ । त्यसैले प्रहरीले समेत सहरमा घरको सुरक्षाका लागि विशेष योजना ल्याएको प्रवक्ता मैनालीले बताए । ‘हामीले प्रहरीसँग सम्पर्क गर्न विशेष नम्बरहरू १००, १०३, १०४, ९८५१२८३४५, ९८५१२८३०१२ र फेसबुकबाट पनि सम्पर्क गर्न र केही भए जानकारी गराउन आग्रह गरेका छौं । यो समय सबै खुसीयाली मनाउने सँगै सुरक्षा पनि अपनाउने समय हो ।’
घरमा भाडा बस्नेको फोटोसहित पूर्ण विवरण राख्न, गाउँ टोलमा शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न, जुवातास खेलेको देखिए वा नसालु पदार्थ प्रयोग गरेको भेटिएमा पनि प्रहरीलाई पनि खबर गर्न प्रहरीले आग्रह गरेको छ । विद्युतीय कारोबार नगर्न आग्रह गर्दै प्रहरीले नचिनेको व्यक्तिले घरको ढोका खोल्न आग्रह गर्दा नखोल्न पनि अनुरोध गरेको छ । कतै जाने वा जाँदै गरेको सूचना सामाजिक सञ्जालमा राखे सुरक्षा खतरा हुने भएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरेको छ । ‘सामाजिक सञ्जालमा यस्तो सूचना राखे कसैले फलो गर्न वा घरमा चोरी हुने खतरा हुन्छ,’ प्रवक्ता मैनाली भन्छन्, ‘घरको र आफ्नो सुरक्षा यो समय महत्वपूर्ण हो ।’
यो समय सवारी दुर्घटना पनि बढ्ने भएकाले सचेत भएर यात्रा गर्ने र आफ्नो सवारीको पनि सुरक्षा गर्न प्रहरीको सुझाव छ । ‘हामीले यान्त्रिका जाँच गरेर मात्रै सवारी सञ्चालन गर्न भनेका छौं । सवारी चाप उच्च हुने भएकाले यात्रा गर्न र सवारी चलाउँदा पनि धेरै ख्याल गर्नुपर्छ । सवारीमा यात्रा गर्दा पनि चोरी हुन सक्ने भएकाले धेरै पैसा नबोक्ने र गरगहना पनि लगाउनुहुँदैन,’ उनले भने । मैनालीले चाडवाडलाई लक्षित गरेर काठमाडौंको सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए । ‘काठमाडौंभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायत घटनालाई घट्न नदिन प्रहरीलाई परिचालन गर्न लागेका छौं’, प्रवक्ता मैनाली भने ।
उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्नसक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती मोटर गस्ती सञ्चालन गर्न लागेको जानकारी दिए । मैनालीले बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेस्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको बताए ।
कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोंगबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउन्टरमा समेत प्रहरी खटाइएको परिसरले जनाएको छ । प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न कुकुरसहितको टिम पनि तैनाथ गरेको छ । चोरी-डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ । यता, नागढुंगा सडकखण्डमा दिनहुँ जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिग्रेको गाडी हटाउने दुई वटा गाडी तान्ने मेसिन सञ्चालनमा ल्याएको छ । गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्लेखोलामा र्याकरको व्यवस्था गरेको हो । र्याकर सञ्चालनमा आएपछि गाडी बिग्रेर हुने कलंकी-नागढुंगा-धार्केसम्मको जाम तत्काल हट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।