हिन्दू धर्म संस्कारसम्बन्धी एक हप्ते अनुशिक्षण
स्याङ्जा : हिन्दू स्यवंसेवक संघ नेपाल स्याङ्जाले एक हप्ते हिन्दू धर्म संस्कार एवं प्राथमिक शिक्षासम्बन्धी अनुशिक्षण पूरा गरेको छ।
पुतलीबजारमा आयोजित सात दिने आवासीय कार्यक्रममा हिन्दू धर्म संस्कार तथा दैनिक जीवनयापनका बारेमा १५ जना विभिन्न विषय विज्ञहरूले छुट्टाछुट्टै प्रशिक्षण दिएका थिए।
कास्की र स्याङ्जाका गरी १७ विद्यालयका ८६ जना किशोर सहभागी थिए। १२ देखि २५ वर्ष उमेर समूहका किशोर सहभागी रहेको अनुशिक्षणमा कपिलदेव भट्ट, रेशम पौडेल, अच्यूत पोखरेल, ऋषिराम पोखरेल, ओमप्रकाश शर्मा, नेपाली सेना, प्रहरी लगायतले संस्कृत, नैतिक शिक्षाका साथै व्यायम, योगासम्बन्धी प्रशिक्षण दिइएको थियो।
संघ स्याङ्जाका अध्यक्ष यदुनन्दन अर्याल, सचिव ऋषिराम शर्मा, नगर सञ्चालक मुक्तिप्रसाद रेग्मी लगायतले हिन्दू धर्मका बारेमा जानकारी गराए।
संघिय सांसद नारायणप्रसाद मरासीनीले सबैको हितका पक्षमा काम गर्नु नै धर्म भएको बताए। उनले परापूर्वकालदेखि मनाउँदै आएको हाम्रो धर्म संस्कृतिको रक्षा गर्नु कर्तव्य र धर्म दुवै भएकामा जोड दिए।