दसैंमा घुमघाम
काठमाडौं : दसैं नेपालीहरूको मुख्य र महत्वपूर्ण चाड हो । मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुँदै गएको छ । पछिल्लो समय दसैं भन्नेबित्तिकै नेपालीहरूले तालिकामा समेट्ने गरेका छन्। त्यो हो, दसैं घुमघाम ।
त्यसो त नेपालमा परम्परागत ढंगले आफन्तजनसँग भेटघाट, टीकाटालो गरेर दसैं मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि बाहुल्य छ । त्योसँगै ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दसैं मनाउने चलन फरकफरक देख्न पाइन्छ । पछिल्लो समय दसैंको समयमा अधिकांश नेपालीहरू पारिवारिक घुमघाममा देशभित्र र विदेशसमेत जान थालेका छन्।
विजयादशमीका दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ । आफ्ना नाता कुटुम्ब र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँनयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने–खुवाउने, घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्गर राख्नेजस्ता कामसँगै घुमघाम पनि विशेष उत्साहका साथ गर्नेे गरिन्छ ।
टाढा रहेका परिवार र आफन्तजनहरूलाई सजिलो होस् भन्ने उद्देश्यले यो पर्व प्रायः पूणिमासम्म मनाइन्छ । पुख्र्यौली घर आमाबुवासँग दसैं मनाउने भएकाहरूलाई त यो समय बितेको पत्तो नै हुँदैन । वर्ष दिनपछि भेट भएका उनीहरूलाई गाउँका साथी आफन्तजनसँगै भेट्दै, कुराकानी साटासाटमै दिन बित्छ । दसैं नभएका र अन्य समुदायका व्यक्तिलाई करिब १५ दिनको यो समय कटाउन गाह्रो हुन्छ । त्यो समय घुमघाम गरेर बिताउनेको बाहुल्य बढ्दं गएको छ ।
सधैं व्यवसाय र काममा व्यस्त हुनेलाई यो समयमा दिन बिताउन पनि सकस हुन्छ । बजारमा पनि चहलपहल कम हुने भएकाले मनोरञ्जनका साथसाथै घुमफिर गर्नेहरूको संख्या बढ्दो छ । विगत केही वर्षदेखि नेपालीहरू दसैं बिदाको सदुपयोग गर्न आन्तरिक तथा विदेश भ्रमणमा निस्किन थालेका छन्। दसैं, तिहार र छठलगायतको लामो बिदामा परिवारसँग घुम्न जान थालेपछि धेरै गन्तव्यस्थलहरूमा भीडभाड हुने गरेको छ । राम्रो आम्दानी हुनेहरू विदेश भ्रमणमा घुम्न जान्छन् भने कम आम्दानी गर्नेहरू नेपाल तथा भारतका विभिन्न ठाउँहरूमा घुम्छन् । यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीहरूमा पनि विस्तारै घुम्ने संस्कृति विकास भएको छ ।
दसैं भनेको टीका लगाउने र पूजाआजा मात्र नभएकाले वर्षभरिको थकान मेट््ने पर्वको रूपमा पनि लिने गरिएको छ । वर्ष दिनमा एक पटक भए पनि घुम्नुपर्छ भन्ने सोच पछिल्लो समय नेपालीहरूमा बढ्दै गएको छ । काठमाडौं कलंकीका रमेश शर्मा भन्छन्, ‘अहिलेसम्म हामी दसैंको बिदामा पोखरा, मर्दी हिमाल, जोमसोम, मुस्ताङलगायतका पर्यटकीय गनतव्यमा पुगिसकेका छौं । यस वर्ष हामी पाँच जना साथी शे-फोक्सुण्डो जाँदै छौं ।’
त्यस्तै बुटबलका रोशनी भट्टराईलगायतको टोली पनि दसैं बिदामा साथी र परिवारहरूसँग मुस्ताङ जाने तयारीमा छन्। उनी चार वर्षदेखि हरेक दसैंमा घुम्न जाने गर्छिन् । विगतका दसैंमा पनि बिदाको सदुपयोग गर्दै उनी अहिलेसम्म थाइल्यान्ड, भारतको मुम्बई, गोवा घुमिसकेकी छन् । यस वर्ष परिवार र साथीसहितको आठ जनाको समूहमा मुस्ताङ जाने तयारीमा उनी छिन् ।
सुदूरपश्चिम धनगढीकी पवि भट्ट यतिबेला पूर्वको पाथीभरा जाने तयारीमा छिन् । उनी पेसाले इन्जिनियर हुन् । दसैंको मौका छोपेर बिदा सदुपयोग गर्दै साथीहरूसँग उनी पूर्व लागेकी हुन्। एक हप्ता बिदामा पूर्वका पर्यटकीय र धार्मिकस्थलको भ्रमण गर्न पाएकोमा निकै खुसी महसुस गरेको उनले बताइन् ।
पर्यटन क्षेत्रमा पछिल्लो समय सरकार पनि सक्रिय देखिन्छ । प्रदेशले आ–आफ्नो क्षेत्रमा पर्यटनलाई आधार मानेर विविध भ्रमण वर्षका कार्यक्रम गरिरहेको छ । स्थानीय तहले पनि सोहीअनुसारको घोषणा गरिरहेका छन् । यो दसैंमा अघि र पछि शनिबार परेकाले करिब एक साता सार्वजनिक बिदा छ । यो बिदाको सदुपयोग गर्न चाहनेको संख्या पनि उत्तिकै छ । यतिबेला ट्रेकिङ कम्पनीहरूमा पनि सेवा दिनै भ्याइँनभ्याइ छ । नेपाल अल्टरनेटिभ ट्रेकले दसैं बिदामा नेपालमा आन्तरिक पर्यटकको माग निकै बढेको बताएको छ । सगरमाथा बेसक्याम्प, अपर मुस्ताङ, मर्दी, लाङटाङलगायतका स्थानमा ट्रेकिङ गर्ने आन्तरिक पर्यटकको संख्या ७० प्रतिशतभन्दा माथि रहेको कम्पनीका सञ्चालक तेजबहादुर गुरुङले बताए ।
कोभिडपछि आन्तरिक पर्यटनमा राम्रो समय यतिबेला नै देखिएको हो । मुलुकको आन्तरिक पर्यटन पनि आन्तरिक पर्यटकले नै धानेका छन् । पहिले तीन रात चार दिनको भ्रमणमा जाने नेपालीले यतिखेर साहसिक पर्यटनमा जोड दिन थालेको अर्का पर्यटन व्यवसायी दिनेश खनाल बताउँछन् । ‘दसैंमा अधिकांश ट्रेकिङमा जानेहरूको संख्या धेरै छ । त्यो पनि अन्नपूर्ण बेसक्याम्प, से फोक्सुण्डो, सगरमाथा बेसक्याम्पसम्म पुग्नेहरूको भीड छ । हामीले सेवा दिनै सकेका छैनौं’, खनाल भन्छन्, ‘कोभिड अघिसम्म पोखरा, लुम्बिनी, काठमाडौं आसपासका क्षेत्रमा जाने धेरै हुन्थे । अहिले, काठमाडौं, पोखरालगायतका ठाउँबाट कर्णाली जानेको संख्या बढी छ ।’
पछिल्लो समय दसैंको समयमा अधिकांश नेपालीहरू पारिवारिक घुमघाममा देशभित्र र विदेशसमेत जान थालेका छन्।