खम्ये जात्रा व्यवस्थापन गर्न स्वयंसेवक परिचालन गरिने

खम्ये जात्रा व्यवस्थापन गर्न स्वयंसेवक परिचालन गरिने

भक्तपुर : भक्तपुरको दसैंको सबैभन्दा आकर्षक खम्ये जात्रा (राँगो दौडाउने जात्रा)लाई व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्ने भएको छ। भक्तपुर नगरपालिका-९ को कार्यालयमा सरोकारवाला पक्षसँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको हो।

भेलामा भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले धार्मिक र सांस्कृतिकरूपमा मनाइरहेको विभिन्न जात्राहरूमा भक्तपुर नगरपालिका र वडा कार्यालयले समन्वय गरेको बताउँदै खम्ये जात्रालाई सभ्य, भव्य तथा सहज रूपमा अवलोकन गर्ने वातावरण बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय भएको जनाए। यो कार्यमा नवदूर्गा जात्रा व्यवस्थापन समिति, खम्ये जात्रा व्यवस्थापन, प्रहरी प्रशासनलगायत सरोकारवालाको सहयोग हुने आशा उनले व्यक्त गरे।

प्रत्येक वर्ष दसैंको महानवमी (यो वर्ष भोलि मंगलबार) जात्रा हुने गर्छ। जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदूर्गा द्योछें (देवता घर)मा पालेर राखेको वडेमानको ठूलो खम्येलाई दौडाउने गरिन्छ। दौडाउनुअघि रक्सी खुवाएर मातन लगाइन्छ।

जात्रामा सयौं युवाहरु प्रत्यक्ष सहभागी भई खम्ये दौडाउने गरिन्छ। यो क्रममा उनीहरुले खम्येको दायाँबायाँ रहेर समात्दै खम्येसँगै सयौं युवा दौडिने गरिन्छ। यसो हुने भएकाले यसलाई व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्न लागिएको जनाइएको छ।

जात्राको क्रममा खम्येलाई नगरको विभिन्न ठाउँमा दौडाएर लाने गरिन्छ। यो क्रममा केही उशृङ्खल व्यक्तिहरुले खम्येलाई सियोलगायतले घोचेर उफ्राउने दुश्प्रयास गरिने बताइन्छ। सयौंको भीडका बीच जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ।

भेलामा नवदूर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालालगायतले खम्येलाई सहज रूपमा ब्रम्हायणी पीठमा लैजान र बलीको दृश्य सहजरूपमा अवलोकन गर्न गराउन स्वयंसेवकहरूको सहयोगको आवश्यकता औंल्याएका थिए।

दौडाइएको खम्येलाई भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुर्‍याइन्छ। त्यही रात खम्येलाई बली दिइन्छ। त्यसको भोलिपल्ट विजया दसमीमा ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ।

भेलामा खम्ये जात्रा व्यवस्थापन समितिका प्रतिनिधिले जात्रामा मद्यपान गर्नेको उपस्थितिले हुने असहज परिस्थितिलाई प्रहरी प्रशासनभन्दा स्थानीय स्वयंसेवकले सफलरूपमा जिम्मेवारी लिनुपर्ने बताए। भेलामा उक्त वडाका पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धर, नवदूर्गा गणका सदस्य नारायणमान बनमाला, दयाराम बनमालालगायत सरोकारवालाले जात्रा तथा खम्ये बलीको सहज अवलोकन गर्न गराउन स्वयंसेवक र प्रहरी प्रशासनको परिचालन गर्ने निर्णय उपयुक्त भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.