नयाँ नोट, क्या मज्जा !
काठमाडौं : दसैंमा टीका तथा जमरासँगै दक्षिणाका रूपमा नयाँ नोट दिने प्रचलन छ । यसलाई एउटा संस्कारका रूपमा लिन थालिएको छ । अर्थविद् डा. डिल्लीराज खनाल नगद कारोबारलाई भन्दा डिजिटललाई प्राथमिकता दिनुपर्ने भए पनि दसैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने संस्कारमा जति स्वाद अरूमा नभएको उनी बताउँछन् ।
नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंका लागि भदौ २९ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ । दसैं, तिहार लक्षित गर्दै केन्द्रीय बैंकले सुरुमा १० अर्ब नयाँ नोट सटही हुने अनुमान गरेको थियो । तर, केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले देशभर दुई सातामा ११ अर्ब नयाँ नोट सटही भइसकेको जानकारी दिए ।
नयाँ नोट सटही शुक्रबारसम्म जाने भएकाले मुलुकभर थप दुई अर्ब हाराहारीमा सटही भएर करिब १३ अर्बसम्मको नयाँ नोट सर्वसाधारणले लैजाने अनुमान गरेको उनले बताए । सर्वसाधारणले रु. ५, १०, २०, ५० र १०० दरका एक÷एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार पाँच सयका नयाँ तथा सफा नोट सटही गर्न पाउँछन्।
यसपटक नोट पर्याप्तता भएकाले सो सीमाभन्दा बढी पनि सटही गर्न सकिने कार्यकारी निर्देशक नेपालले बताए । उनका अनुसार यसपटक नयाँ नोट सटही घटेको छ । नयाँ नोटको माग कम हुनुमा बजारमा लगानी योग्य पुँजी (तरलता) अभावले पनि हुन सक्ने उनले बताए । ‘गत वर्ष सर्वसाधारणमा चलनचल्तीमा हुने नोट पनि घट्दो अवस्थामा छ । गत आव असोज मसान्तसम्म चलनचल्तीमा ७ खर्ब २७ अर्ब रुपैयाँ नोट थियो । तर, यसपटकको आवको सोही अवधिमा ६ खर्ब २७ अर्ब पनि पुग्न सक्ने अवस्था छैन’, उनले भने ।
यस वर्ष सय र यसभन्दा कम दरका नोटहरू १३ अर्ब र ठूला दरका नोट आठ अर्ब गरी २० अर्ब नोट चलनचल्तीमा थपिनेछ । नयाँ नोटलाई हाम्रो समाजमा सामाजिक, सांस्कृतिक रूपमा लिएको पाइन्छ । लिने र दिनेबीचको आत्मीयता, रम्ने तथा रमाउने नोटमा जति डिजिटल करेन्सीमा नहुने सरोकारवालाहरू बताउँछन् । यसकारण पनि नयाँ नोटको महŒव रहने कार्यकारी निर्देशक नेपाल बताउँछन् । ‘वित्तीय साक्षरताको माध्यमबाट हाम्रो संस्कृतिलाई नै परिवर्तन ल्याउनका लागि केही वर्ष प्रचारप्रसारमा जोड दिनुपर्छ । डिजिटलमा थप प्रोत्साहन हुनुपर्छ भन्ने ग्राहकबाट सुनिन्छ’, उनले भने ।
चाडपर्वमा नयाँ नोट दिनुपर्छ भन्ने राष्ट्र बैंकलाई कुनै बाध्यता नभए पनि आमजनताको भावनालाई सहजीकरण मात्रै गर्न नयाँ नोट जारी गर्ने गरेको उनले बताए । उनका अनुसार सामान्यतया राष्ट्र बैंकले हरेक वर्ष नोट छपाइमा मात्रै साढे दुई अर्ब रुपैयाँ खर्च गर्छ । केन्द्रीय बैंकले सात प्रकारका नोट छाप्दा तीनदेखि सवा तीन वर्षसम्मलाई पुग्ने गरी छाप्ने गरेको छ । तर, यस्तो नोट नेपाल ल्याउँदा ३–४ लट गरेर ल्याइन्छ । नोट छापिसकेपछि ९ महिना, १५ महिना, २८ महिनामा ल्याइने गरिन्छ ।
नोटको छपाइ खर्च
सिक्काको काम टकमरी विभागले गर्छ । राष्ट्र बैंकका अनुसार एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ ४० पैसा खर्च लाग्छ । दुई रुपैयाँको नोट छाप्न दुई रुपैयाँ ७३ पैसा पर्छ । केही हदसम्म सानो नोटको भन्दा ठूलो नोटको लागत बढी देखिन्छ । यद्यपि ५, १० र २० रुपैयाँ दरका प्रत्येक नोटमा क्रमशः १.६८ पैसा, १.४० पैसा, १.७३ पैसा तिर्नु पर्छ ।
यसैगरी सय दरलाई २.९९ पैसा, ५ सय दरलाई ४.६८ र हजार दरलाई ३.३७ पैसा खर्च लाग्छ । यसरी हेर्दा साना दरका सिक्काको छपाइको लागत पनि पछिल्लो समय बढी छ । अझै नोट छाप्दा सानो नोटको भन्दा ठूलो नोटको लागत बढी पर्ने गरेको देखिन्छ । किनभने ठूलो नोटमा सुरक्षा चिह्न (सेक्युरिटी फिचर्स) जति थप्दै गयो त्यति लागत बढी लाग्ने मुद्रा व्यवस्थापन विभागको भनाइ छ ।
बजारमा नक्कली नोटको बिगबिगी हुने गरेकाले यसबाट नठगिन ठूला दरका नोटमा प्रायः प्रत्येक पटक सुरक्षा चिह्नहरू थपिएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘बढी सुरक्षा चिह्न प्रयोग भएमा नक्कली नोट चिन्न र सजग हुन सजिलो पर्छ’, उनले भने । राष्ट्र बैंकले नोट छपाएर जति राख्न पनि सक्छ तर, त्यो नोेट जनताको हातमा नगएसम्म अर्थात् निष्कासन नभएसम्म खोस्टासरह हुने गरेको कार्यकारी निर्देशक नेपाल बताउँछन् ।
‘छपाउँदा कागज अर्थात् स्टेसनरी किनेसरह भुक्तानी गर्छौं । यो राष्ट्र बैंकको आम्दानी हुँदैन । तर, आवश्यक नोट छापेर वितरणमा पर्ने दायित्व केन्द्रीय बैंकको हो । छपाइ बराबरको धरौटी मूलधनको रूपमा ढुकुटीमा रहन्छ’, उनी भन्छन् ।