खर्चिलो दसैं

खर्चिलो दसैं

काठमाडौं : दसैंले छपक्कै छोपिसकेको छ । कोही गाउँ फर्किने तयारीमा छन् । कोही किनमेलमा व्यस्त छन् । दसैंमा राम्रो लगाउने, मिठो खाने चलनका कारण सर्वसाधारण ऋण गरेरै भए पनि किनमेल गर्न बाध्य छन् । तर, बजार भने निकै महंगो भएको उनीहरूको गुनासो छ ।  

चाडपर्वमा खाद्य सामग्रीदेखि पेय पदार्थ र विलासीताका वस्तुहरू बढी खपत हुने गरेका छन् । यस वर्ष बाह्य कारणले पनि मूल्य बढेको छ । व्यवसायीहरूले कृत्रिम मूल्य बढाउँदा पनि बजारमा अधिकांश वस्तुको महंगी बढेको छ । गत वर्षको तुलनामा खाद्यान्न, तरकारी, फलफूल, लताकपडालगायतका वस्तुहरूको मूल्य दोब्बरभन्दा माथि पुगेको छ । दसैं, तिहार, छठलगायतका चाठपर्वहरू नजिकिँदै गर्दा झन् महंगीको भार खेप्नुपरेको उपभोक्ताहरूको अनुभव छ । 

काठमाडौंको चन्द्रागिरीमा बस्दै आएकी गृहिणी मञ्जु श्रेष्ठ यसपटकको दसैं झन् महंगो परेको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘परिवारमा आम्दानी बढ्दैन तर उपभोग्य वस्तु भने छुनै नसकिने भएको छ । दाल, चामल, तरकारीलगायतका खाद्यवस्तुको मूल्य बढ्यो भनेर खान छोड्नु भएन । जति भाउ बढे पनि किनेरै खानुपर्‍यो ।’ यसैले उनी यसवर्षको दसैंमा नयाँ कपडा भन्दा वर्षभरी किनेका कपडाले नै काम चलाउने सोचमा छिन् ।

यसैले पनि यसवर्ष सडकदेखि सदनसम्म चर्को महंगीको विरोध भयो । सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फिती ७ प्रतिशतको सीमामा राख्ने भनिरहे पनि चर्को महंगी भोगीरहेका आमसर्वसाधारणले भने बजारमा लक्षित सीमाको दोब्बर अर्थात् १४ प्रतिशतसम्म पुग्ने अनुमान गरेका छन् । यो अनुमानै नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा उपभोक्ताले भनेका हुन् । अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण पनि नगरिएका होइन । तर, यो मात्रै नभई बजारमा कृत्रिम महंगी बढाइएको अर्थात् कालाबजारीसमेत फैलिएको अनुमान उपभोक्ताहरूले गर्छन् ।

एकै वर्षको अन्तरमा बेमौसमी मात्रै होइन मौसमी तरकारीको मूल्य पनि अत्याधिक बढेको छ । काँक्रो, भिन्डी, भेडे खुर्सानी, चिचिन्डो, घिउसिमी, लौका, बोडी, स्कुस, घिरौला, गोलभेंडालगायतका मौसमी (सिजनेवल) तरकारीको मूल्य गत वर्षको भन्दा धेरैमाथि पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मौसमी तरकारीको होलसेल (थोक) मूल्य नै दोब्बरभन्दा बढीसमेत देखिन्छ ।

तरकारी मात्रै होइन बजारमा फलफूलको मूल्य पनि धेरै माथि पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ अघिल्लो साल कोभिडले प्रभावित हुँदा खपत कमजोर भएको तर यो पटक बजारमा राम्रै माग भएको बताउँछन् । अझ चाडपर्वले गर्दा अझै मूल्यमा चाप पर्न गएको उनको भनाइ छ । 

तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ । खुद्रा व्यापार संघको तथ्यांकअनुसार खाद्यान्नमा मात्रै १० प्रतिशतले मूल्यवृद्धि भएको छ । तेलमा मात्रै ८० प्रतिशतसम्म बढ्यो । काँचो तोरीको, भटमास, सनफ्लावरलगायतको अचाक्ली बढेको थियो । वैदेशिक व्यापार विज्ञ डा.पोषराज पाण्डे चाडपर्वमा अरूबेलाभन्दा बढी आयात हुने गरेको बताउँछन् ।

वर्षभरीको उपभोगमध्ये एक चौथाइ दसैं, तिहार र छठमा नै हुने गरेको बताउँछन् । ‘यसले गर्दा आयात बढ्नु स्वभााविक हो । तर, अहिले जति महंगी बढेको छ । यसको मार गरीबीका रेखामुनि रहेकालाई पर्छ । अहिले महंगी बढ्नुको मुख्य कारण रसियाको युद्धले आपूर्ती वयवस्थापनमा खलल पुगेर हो । यस्तै, अहिले डलर धेरै बलियो हुँदै जाँदा महंगी बढेको हो’ डा. पाण्डेले भने, ‘महंगी विश्वभर छ । चाडपर्वमा माग बढी हुने गरेकाले पनि मूल्य बढ्न गयो ।’ तर नेपालमा भने विश्वभर नै मूल्य बढ्यो भनेर व्यवसायीले परेको मूल्यसँगै केही बढाउने चलाखी गरेको हुनसक्ने उनको भनाइ छ ।

यसमा सरकारले नियमन गर्न चुकेको उनको तर्क छ । यस्तै, खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर दसैंमा मात्रै खाद्यवस्तुको महंगी नभई यसअघिबाटै भएको बताउँछन् । उनका अनुसार बजेट भाषणदेखि, अन्तर्राष्ट्रिय कारण हो । अक्रै अब चुनाव चल्न लागेकाले पनि झन् महंगी बढेको उनको अनुमान छ । किनभने चुनावी खर्चका लागि दलहरूले व्यवसायीसँग चन्दा मागेका कारणले गर्दा अप्रत्यक्ष रूपमा बजारमा मूल्य बढ्ने गरेको उनको अनुमान छ । उनले भने, ‘जब चुनाव आउँछ तब खाद्यवस्तुको मूल्य बढेको पाएको छु । यसपटक पनि चाडपर्वलगत्तै चुनाव भएकाले महंगी बढेको छ । तर, सबैले यसको आरोप खुद्रा व्यवसायीलाई लगाउने गलत सोच देखिन्छ ।’ प्रणालीगत रूपमा नचलेको देश भएकाले मूल्यवृद्धि मनपरी भएको र मूल्यको वैज्ञानिक मापदण्ड तथा संयन्त्र नभएको उनको तर्क छ ।

‘यहाँ मूल्य बढाउन बहाना खोजेका छन् । कहिले विदेशमा कच्चापदार्थको मूल्य बढ्यो भन्ने बहाना, कहिले युद्ध भएको बहाना, भारतकाट निर्यात बन्द, पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतका बहानामा हरेक चिजमा मूल्य बढेको छ,’ उनले सरकारलाई व्यङ्य गर्दै भने, ‘नेपाल सरकारले नै व्यापारीहरूलाई कालाबजारी गर भनेर छुट दिएको देखिन्छ । सुविधा सानालाई छैन ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.