सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै मधेसका कांग्रेस सभापतिहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन
वीरगन्ज : नेपाली कांग्रेस मधेस प्रदेशका जिल्ला सभापतिहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर गठबन्धन दलबीच भइरहेकाे सिट बाँडफाँट र उम्मेदवार सिफारिसप्रति आपत्ति जनाएका छन्।
मधेस प्रदेशका बारासहित ६ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूले बुधबार पार्टी सभापति देउवालाई भेटेर मधेस प्रदेशमा गरिएको सिट बाँडफाँट र उम्मेदवार सिफारिसबारे लिखितरुपमै ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका हुन्।
बाराका सभापति राजेश राय यादव, राैतहटका सभापति सुनिल कुमार यादव,सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, महाेतरीका सभापति नागेश्वर यादव,सप्तरीका सभापति रामदेव साह र सिरहाका सभापति रामचन्द्र यादवले देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
मधेसका कांग्रेस जिल्ला सभापतिहरूले गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा मधेसमा कांग्रेसले एकदमै कम सिट लिने सहमित गरेकाे समाचार विभिन्न मिडियाबाट आइरहेकाले यसले मधेसमा कांग्रेसलाई क्षति पुर्याउने भएकाले यसप्रति धयान दिन नेतृत्वलाई सचेत गराए।
संघ र प्रदेशसभा क्षेत्रका लागि उम्मेदवार छनाोट गर्ने क्रममा केन्द्रीय कार्यसमितिले जिल्ला सभापतिसँग कुनै सल्लाह र समन्वय पनि नगरेकाे जिल्ला सभापतिहरूको गुनासाे छ। यसरी गर्दा आगामी निर्वाचनमा कांग्रेसलाई घाटा पुग्ने भएकाले बेलैमा ध्यान दिन आग्रह गर्दै मधेसका कांग्रेस जिल्ला सभापतिहरूले मधेसमा गठबन्धन दलहरूबीच सिट भागबन्डा गर्दा र उम्मेदवार छनाोट गर्दा जिल्ला सभापतिहरूसँग समन्वय र परामर्श गर्न पार्टी सभापति देउवाकाे ध्यानाकर्षण गराए।
अन्यथा जिल्ला सभापतिहरूसँग परामर्श र समन्वय नगरी टिकट वितरण गरिएमा त्यसले आागामी निर्वाचनमा पार्टीलाई हुने हानी नाेक्सानीकाे सम्पूर्ण जवाफदेही केन्द्रीय कार्यसमिति नै हुने चेतावनीसमेत उनीहरूले दिए।