करेन्ट लागेर दाजुभाइको मृत्यु, दुई जना घाइते
जनकपुरधाम : करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्। आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए।
घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।