वीरगन्जमा रावण दहन
वीरगन्ज : प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगन्जमा विजया दशमीका दिन बुधबार बेलुकी रावणकाे दहन गरिएको छ।
असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा विजया दशमीका दिन वीरगन्जमा रावणाकाे दहन गर्ने गरिन्छ। वीरगन्ज महानगरपालिका-१६ नगवाकाे बाइपास सडकस्थित माँ वैष्णो मन्दिर अगाडि करिब ३० फिट अग्लो बनायएको रावणकाे प्रतिमामा आगाे लगाएर रावण दहन गरिएकाे हाे।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वरिष्ठ उद्योगपति एवं समाजसेवी अशोक वैद्य, साहिब दरबारका पीठाधिपति श्री देवेन्द्र सिंह, नेकपा एमाले नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार शम्भु गुप्ता, वीरगन्ज-१६ का वडाध्यक्ष पर्शुराम चौरसिया लगायतकाले विधिपूर्वक रावणकाे प्रतिमामा आगो लगाई दहन गरेका हुन्।
रावण दहन कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न बनाउन विभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजन गरिएको थियो। त्यसअघि वैष्णाेदेवी मन्दिर अगाडिबाट बृहत् मोटरसाइकल र्यालीसहितकाे शाेभा यात्रा निकालिएको थियो।
बैष्णोदेवी मन्दिर अगाडिबाट निकालिएको शोभा यात्रा इनर्वा, घुसुकपुर, छपकैया, विर्ता, अखलियामठ, आदर्शनगर, माइस्थान, घण्टाघर चाेक हुँदै रेल्वे रोडको रामटोल, बाइपासको नगवा हुँदै कार्यक्रमस्थलमा पुगेर रावण दहन कार्यक्रममा परिणत भएको थियो। रावण दहन कार्यक्रममा विभिन्न हिन्दु धार्मिक संघ संगठनका स्वंयसेवकका साथै हजाराैं स्थानीयको सहभागिता रहेको थियो।