यसरी मनाए कलाकारले दसैं
काठमाडौं : विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैंको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएका छन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन् ।
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशीर्वाद लिएका छन् । ‘छड्के २’ को छायांकनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनेछन् ।
अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेकी छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन् ।
यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्य कलाकार शिवशंकर रिजालले दसैंको शुभकामना दिएका छन् । 'तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु । मेरो दसैं तराई र काठमाडौँमा बराबर हुँदै आएको छ,' उनले सामाजिक सञ्चालमा लेखेका छन् ।