वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन प्रभावित

वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन प्रभावित

जोमसोम : यसवर्षको बर्खे दसैंमा देशभर मंगलबारदेखि मनसुन भइरहेको छ । दसैं पर्वको एकदिन अगावै निरन्तर परिरहेको अविरल वर्षा अझै थामिएको छैन । वर्षाका कारण देभभरका मुख्य तथा सहायक राजमार्ग अवरुद्ध हुँदा दसैं पर्व प्रभावित बन्यो । वर्षाले ठाउँ/ठाउँमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा पर्यटक तथा आम सर्वसाधारण निकै सास्ती पाए । यद्यपी वर्षा पूर्ण रुपमा रोकिएको छैन ।

नेपालीहरुको महान पर्व बडा दसैंमा सरकारले फुलपातीदेखि पूर्णिमासम्म सरकारी बिदा दिने गर्छ । कतिपय कार्यालय र अन्य गैर सरकारी संस्थालाई त दसैं/तिहार पर्वमा एक महिना लामो बिदा मिल्छ । दसैं मनाउन बैदेशिक रोजगारमा विदेश गएका नेपालीहरु, भारतीय र अन्य देशमा सैनिक सेवामा कार्यरत नेपालीहरु पनि दसैं पर्व मनाउन घर फर्किन्छन् । दसैं पर्वमा परिवारका सबै सदस्य एकै ठाउँमा उपस्थित भएर आत्मियता साटासाट गर्ने गरिन्छ ।

वर्षको एकपटक मनाइने महानपर्व दसैंमा घर फर्किएका नेपालीहरु बिदाको समयमा नयाँ नयाँ पर्यटकीय गन्तव्य घुमफिर गर्न चाहन्छन् । पछिल्लो समय नेपालीहरुको जीवनशैली बिस्तारै फेरिदै छ । नेपालीहरुमा घुमघाम गर्ने प्रचलन वृद्धि हुन थालेको छ । विगतका वर्षमा घुमफिर गर्ने र भ्रमण गर्न उस्तो चाँसो नदिने नेपाली आन्तरिक पर्यटकहरु हाल बिदाको समयलाई सदुपयोग गर्दै नयाँ ठाउँ घुम्न लालायित हुन्छन् । केही वर्ष अघिदेखि दसैं/तिहारको लामो बिदामा हिमाली जिल्ला मुस्ताङलाई गन्तब्य बनाएर आन्तरिक पर्यटक मुस्ताङ आउने क्रम बढेको छ ।

विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ३ वर्षदेखि दसैं पर्वको बिदामा नेपाली आन्तरिक पर्यटक घुम्नसक्ने अवस्था रहेनन् । कोभिडका कारण मुस्ताङको आन्तरिक तथा वाह्य पर्यटक प्रभावित बन्यो । कोरोनाले थलिएको मुस्ताङको पर्यटन अब भने विस्तारै लयमा फर्किन्छ भन्नेमा मुस्ताङका पर्यटन व्यवसायी आशावादी थिए । कोरोना न्यूनिकरण हुँदै गइरहे पनि बर्खायामको मौसममा बाढी/पहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा अपेक्षा गरेअनुरुप मुस्ताङमा पर्यटक आउन सकेनन् । सडककै दुरअवस्थाका कारण दसैं पर्व अघिको सोह्र श्राद्ध तिथिमा समेत पितृलाई पिण्डदान गर्ने र श्राद्ध गर्ने तिर्थालुको उपस्थिती विगतका वर्ष भन्दा अत्यन्तै न्युन रह्यो ।

तर, सोह्र श्राद्ध तिथिमा पर्यटक नआएपनि दसैंपछि भने आन्तरिक पर्यटक मुस्ताङ घुम्न आउछन् भन्नेमा मुस्ताङका पर्यटन व्यवसायी विश्वस्त थिए । तर , दसैं अघिको निरन्तर परेको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको दर्जनौं स्थानमा बाढी–पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा दसैं बिदामा मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका नेपाली आन्तरिक पर्यटकको कार्यतालिकालाई प्रभावित तुल्याइ दिएको छ । वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङका पर्यटन व्यवसायी पुन: निराश बनेका छन् ।

अविरल वर्षाले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको घुमाउने ताल,बैसरी,गुईठे, तातोपानी,बेग खोला,जलथले, लाटो खोला, रुप्से झरना र काभ्रेभीरमा बाढी–पहिरोले सडक अवरुद्ध बन्यो । मुस्ताङ खण्डको मार्फा स्थित विकास खोला र मार्फा सामाग्री नजिकको शाखा खोलाको बाहव उच्च हुँदा सडक संरचनामा क्षति पुर्‍याएको छ ।

निरन्तरको वर्षा नरोकिएकाले सडक मर्मत तथा सडक सफा गनै काम समेत हुन सकेको छैन । दसैं बिदामा घर गएका कर्मचारी,शिक्षक,सुरक्षाकर्मी र पर्यटकलाई बेनी–जोमसोम सडक निकै जोखिम र चुनौतीपूर्ण बनेको छ । सडक अवरुद्धले मुस्ताङमा उत्पादित स्याउलगायतका कृषि उत्पादन पोखरा लैजान समस्या परेको छ भने मुस्ताङमा खाद्यान्न,ईन्धन,निर्माण सामाग्री र अतिआवश्यकीय सामाग्री ढुवानीमा समस्या परेको छ ।

दसैं बिदामा घर फर्किएका आन्तरिक पर्यटकहरु बिदाको समय सदुपयोग गरी मुस्ताङ घुम्ने ब्यग्र पर्खाइमा छन् ।तर, वर्षाले सडक आवागमन सूचारु नहुँदा उनीहरुले आफ्नो कार्यतालिका परिमार्जन गर्न थालेका छन् । कतिपयले बेनी–जोमसोम सडक कहिले सहज होला र मुस्ताङ घुमौला भन्ने योजनामा छन् ।तर, दसैं पर्वको तेश्रोदिन पनि वर्षा अझै जारी छ । 

पृथक भूगोल,मौलिक कलासंस्कृति धार्मिक तथा प्राकृतिक रमणीय गन्तब्य बनेको छ पछिल्लो समय मुस्ताङ । नामैले काफी हिमाली जिल्ला मुस्ताङमा अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गर्न आउने गर्छन् । यसका अलावा नेपाल/ चीनको उत्तरी सीमाना कोरलानाका , ढुम्बाताल, यारुझो भ्यु टावर, कागबेनी,,टिटी ताल,सेकुङ ताल र उपल्लो मुस्ताङको लोमान्थाङ आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्दछ । माटोको सहर लोमान्थाङ, त्यहाँको ऐतिहाँसिक ,धार्मिक कलासंस्कृति र प्राचिन गुफा र गुम्बाहरु भ्रमण गर्न आन्तरिक पर्यटकको लर्कोनै लाग्ने गथ्र्यो । दसैं बिदाको अवसरमा कतिपय युवायुवतीहरु मोटरसाइकलको यात्रा गर्दै मुस्ताङ आउथे,कतिपय धावनमार्ग र कतिपय हवाई सेवामार्फत मुस्ताङ आउँथे । प्रतिकुल मौसमका कारण मुस्ताङमा ५ दिनदेखि हवाई सेवा अवरुद्ध छ । अविरल वर्षाले सडक अवरुद्ध हुँदा यसपटक मुस्ताङको पर्यटन प्रभावित बनेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।

दसैं पर्वको महिना अनुकुल मुस्ताङ भ्रमण गर्ने समय पनि हो । तर,यसवर्षको बर्खे दसैंले मुस्ताङमा पर्यटन क्षेत्रलाई क्षति तुल्याएको अध्यक्ष तुलाचनको भनाइ छ ।‘ कोभिडले लगातार ३ वर्ष पर्यटनक्षेत्रमा असर पुग्यो, कोरोना रोकिएपछि पर्यटन चलायमान होला भन्ने ठानेका थियौं, अध्यक्ष तुलाचनले भने,‘ तर ,हामीले अपेक्षा गरेअनुसार पर्यटक आउन सक्ने अवस्था रहेन, लगातार वर्षा भइरहेको छ ।’

यता, बेनी–जोमसोम सडकका सडक सुपरभाइजर ईन्द्रसिंह शेरचनले वर्षाले अवरुद्ध सडक वर्षा रोकिएमा मर्मत र सफा गर्ने बताए । उनले उपकरण र अपरेट तयारी अवस्थामा रहेपनि सडक सूचारु गर्न वर्षा बाधक बनेको बताए । उनले बेनी–जोमसोम सडकको दर्जनौं स्थानमा बाढी–पहिरोले सडक अवरुद्ध बनेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.