हतियार बुझाउन नुवाकोट प्रशासनको आग्रह
नुवाकोट : प्रदेश तथा संघीय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा इजाजतपत्र प्राप्त हतियारहरु बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणलाई आग्रह गरेको छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी कानुनीरुपमा राखिएका हतियारहरु नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो।
सर्वसाधारणसँग रहेका अनुमतिपत्र प्राप्त हातहतियारहरु (बन्दुक) यथाशिघ्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ ।
गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित व्यक्तिलाई निर्वाचन सकिएपछि फिर्ता हुने गरी हतियार बुझाउन आग्रह गरेको हो ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरिएको प्रजिअ रिसालले जानकारी दिए ।
उनका अनुसार विधिवत्रूपमा बुझाएको हतियार सम्बन्धित प्रहरी कार्यालयले चुनाव सकिएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्नेछ ।